शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 665
    SHARES

चितवन, २९ पुस । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन बिताउनु भएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले छोडेन । जागिरे जीवनमा भोगेका र देखेका अनुभवलाई समेटेर उहाँले निकुञ्जको काखमा अहिले सुविधा सम्पन्न होटल सञ्चालन गर्नुभएको छ ।

वन र वन्यजन्तु संरक्षणप्रतिको उहाँको मोह निवृत्त जीवनमा अरु थपिँदै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी किनारमा उहाँको जङ्गल भिल्ला रिसोर्ट रहेको छ । नदी छेउमा उभिएर निकुञ्जतर्फ देखाउँदै उहाँले भन्नुभयो “अहिले पनि मलाई निकुञ्जकै कर्मचारी झैं लाग्छ ।” यहाँका वन र वन्यजन्तुप्रतिको माया अरु बढ्दै गएको बताउँदै उहाँले थप्नुभयो, “भाग्यले आज यिनै सम्पदा पर्यटकलाई देखाएर आम्दानी मात्रै गरेको छैन, यिनको संरक्षणमा पनि जुट्दै आएको छु ।”

जिल्लाकै ठूलो मध्येको होटल पौडेलको पर्दछ । विसं २०३८ मा प्रशासनको मुखियाबाट जागिरमा प्रवेश गर्नुभएका पौडेल दुई वर्ष ढोरपाटन र दुई वर्ष पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा रहेपनि बाँकी २६ वर्ष चितवन राष्ट्रिय निकुञ्जमा नै बिताउनुभयो । भरतपुर शीतलपानी निवासी पौडेलले जागिरकै सिलसिलामा राप्ती नदी किनारको नौ जना साथीभाइ मिलेर एक बिघा १० कठ्ठा जग्गा किन्नुभयो । निवृत्त जीवनमा कहिलेकाहीँ घुम्न आउँदा बस्ने ठाउँ साना टहरा बनाउने सोचका साथ सो जग्गा खरीद गर्नुभएको थियो । निकै सस्तो मूल्यमा खरीद गरेको उक्त जग्गामा ठूलो बाढी पसेपछि साथीहरुले ‘तपाइँकै जोडबलले किनेको हो, हाम्रो लगानी फस्यो, जे जति आउँछ दिनुहोस्’ भनेपछि पौडेलले एकल स्वामित्वको बनाउनुभयो ।

काठमाडौँमा बसेर काम गर्दै गरेका भाइ सविन पौडेलसँग परामर्श गरेपछि ऋण धन गरेर साथीहरुको पैसा फिर्ता गरेसँगै उक्त जग्गा उहाँको एकल स्वामित्वमा आयो । जग्गा आफ्नो भएपछि त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने दाजुभाइको छलफलपछि सानो होटल शुरु गर्ने निर्णयमा उहाँ पुग्नुभयो ।

एकातर्फ होटल बन्दै गयो भने पर्यटकको आगमन राम्रो भएसँगै होटललाई विस्तार गर्ने सोच उहाँमा विकास भयो । उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकलाई लक्षित गरेर सानोतिना होटल बनाउने सोच थियो । विस्तारको काम गर्दै जाँदा रिसोर्ट बनाउन पुगियो ।” सँगै रहेको जग्गा थप गर्दै अहिले चार बिघामा रिसोर्ट फैलिएको छ ।

शुरुमा २४ कोठाबाट शुरु भएको रिसोर्ट विस्तार हुँदै जाँदा अहिले ३८ कोठा पुगेको छ । तीमध्ये दुई वटा ‘स्वीट रुम’समेत छन्् । विस्तारको क्रममा सभाहल, पौडी पोखरी, आकर्षक सोधपुछ कक्ष, पार्किङ, बगैँचा थपिएका छन् ।

राप्ती नदीको किनारमै रहेको होटलको बाहिरी भागबाट सजिलै वन र वन्यजन्तु देख्न पाइन्छ । त्यसो त वर्षामा नदी बढ्दा कुनै कुनै वर्ष उहाँको होटलमै पानी पस्नेसमेत गर्दछ । होटलकै परिसरमा दुर्लभ एकसिङ्गे गैँडा, हात्तीलगायतका वन्यजन्तु ओहोरदोहोर गर्दछन् भने राप्ती नदीमा घडियाल र चराचुरुङ्गी रमाएको नजिकबाट नियाल्न सकिन्छ ।

होटलमा पर्यटक घुमाउनका लागि दुई वटा हात्ती, दुई वटा जीप र दुई वटा डङ्गा छन् । उहाँ भन्नुहुन्छ, ‘‘विसं २०७२ को भूकम्पअघि कोठा पु¥याउन नसक्ने गरी विदेशी पर्यटक आउने गरेका थिए । त्यसपछि नाकाबन्दी र कोरोनाका कारण व्यवसाय शिथिल भएको छ ।’’

दशैँ तिहारपछि भने विस्तारै पछिल्ला दिनमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि भने उहाँमा पुनः आशाको किरण पलाएको छ । यतिबेला उहाँले आन्तरिक पर्यटकलाई ४० प्रतिशत छुटमा होटलको सुविधा दिँदै आउनुभएको छ । अरुबेला ८० प्रतिशत विदेशी हुने भए पनि अहिले अधिकांश स्वदेशी पर्यटक मात्रै छन् ।

विगतका वर्षमा वार्षिक झण्डै चार हजार पर्यटकलाई सेवा दिएर रु पाँच करोडभन्दा बढीको व्यापार गरेको स्मरण गर्दै उहाँले अब पुनः व्यवसाय पूर्ववत् अवस्थामा फर्किनेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ । आफ्नो होटलमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिदेखि विदेशी विशिष्ट व्यक्ति समेतलाई सेवा दिन पाएको उहाँले जानकारी दिनुभयो ।

उहाँका भाइ सविनले काठमाडाँैंमा ट्राभल्स सञ्चालन गर्नुहुन्छ भने आफूले यहाँको होटल हेर्दै आएको उहाँ बताउनुहुन्छ । निकुञ्जको जागिरे जीवन व्यथित गर्दै गर्दा यति ठूलो होटल आफैँले सञ्चालन गर्छु भन्ने कल्पना नगरेको भए पनि परिस्थितिले आफूलाई सुविधा सम्पन्न होटलको मालिक बनाएकामा भने उहाँलाई गर्व छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)