२ माघ, लिस्बन । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि युरोपेली मुलुक पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ।
प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गर्नुभएको हो । एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएपछि र १५६ जनाको मृत्यु भएपछि पोर्चगलमा लकडाउन भएको हो।
‘नियम प्रष्ट छ: घरमै बस्नुस्,’ कोस्टाले भन्नुभयो,‘सम्भव भएसम्म घरबाटै काम गर्नु अनिवार्य छ।’
यसपालिको लकडाउनमा विद्यालय भने खुलै रहने उहाँले बताउनुभयो। बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ।
लकडाउनको नियम तोड्नेलाई पहिलाभन्दा दोब्बर सजाय गरिने उहाँले बताउनुभयो ।
दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ। प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताउनुभएको छ।
