शुक्रबार, बैशाख २१, २०८१

कम्युनिष्ट विचारधारा भागवण्डाका लागि हो, यो धेरै समय टिक्न सक्दैन : मोहन चापागाईँ, राजनीतिज्ञ


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 1.1K
    SHARES

भोजपुरको दिङ्लामा विस २००२ सालमा जन्मेका मोहन चापागाईँ कम्युनिष्ट विचारधारा मान्ने व्यक्ति हुन् । १५ वर्षको उमेरमा भोजपुरको दिङ्लाबाट पढ्नका लागि बनारस पुगेका चापागाईँ पढाईसँगै कम्युनिष्ट राजनीतिमा होमिए । नेपाल छात्र परिषद् वारणसीको संयोजक बनेका उनी कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको नजिक रहेका थिए । अल इण्डिया नेप्लीज स्टुडेन्ड युनियनको अध्यक्षसमेत भएका उनलाई पुष्पलालले पार्टीको पूर्वाञ्चल इन्चार्ज समेत बनाएका थिए । बक्लौरी काण्डका नाइकेमध्येका एक रहेका चापागाईँ देशमा बहुदल आएपछि भने कम्युनिष्ट विचारधारालाई छाडेर काँग्रेसका तत्कालिन महामन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाको सानिध्यतामा आइपुगे ।

संसारमा कम्युनिष्ट विचारधारा अगाडि बढ्न नसक्ने नित्कर्षका साथ गिरिजाबाबुको सानिध्यतामा पुगेका उनी विस २०५६ सालमा काँग्रेसकै सिफारिसमा राष्ट्रिय सभाका सांसद बनेका थिए । राजतन्त्र र हिन्दू राष्ट्रलाई काँग्रेसले मुख्य एजेण्डा बनाएर लैजानुपर्ने विचार राखेका चापागाईँलाई काँग्रेसका तत्कालिन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई विगारेको आरोप समेत लाग्ने गरेको छ । नेपालको वर्तमान राजनीतिक अवस्था र अवको नेपाली राजनीतिले लिनुपर्ने बाटोलाई लिएर चापागाईँसँग माउण्टेन खबर डटकमका सम्पादक अच्युत रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

मुलुकको वर्तमान राजनीतिको बारेमा के भन्नुहुन्छ ?

विचार र सिद्धान्तको राजनीति मुलुकको अहिलेको आवश्यता हो । अहिलेका मुख्य राजनीति दलमा विचार र सिद्धान्तको राजनीतिको अभाव छ । कम्युनिष्ट विचारधारा भागवण्डामा लिप्त भयो भने काँग्रेस विश्वेश्वरप्रसाद कोइरालाको फोटो राख्यो उनको विचारलाई आम जनतासम्म लैजान सकेन । माक्र्सको विचारधारा पढ्नका लागि राम्रो भएपनि शासनको दृष्टिले असभ्य विचारधारा हो ।

संसद विघटन भयो, अब मुलुकको राजनीति कता जान्छ ?

नेपालमा कम्युनिष्ट विचारधारा धेरै समय टिक्न सक्दैन । कम्युनिष्ट विचारधाराका व्यक्तिले शासन गर्दा अहिले मुलुकले यस्तो अवस्था भोग्नुपरो । नेपालका लागि विभिन्न प्रदेश निर्माण गर्नु र हिन्दू राष्ट्र हटाउनु गलत थियो । त्यहि कारणले मैले अहिलेसम्म संविधान मानेको छैन । प्रदेश निर्माणसँगै मुलुकले ठूलो खर्च व्यहोर्नुपरेको छ । अव्यवस्थित विचारधारा माक्र्सवादको प्रभावले भएको हो । विश्वेश्वरप्रसाद कोइरालापछि काँग्रेसले नेतृत्व समाल्न नसक्दा काँग्रेसभित्र दुई पक्ष हावी भयो । एउटा काँग्रेस अर्को काँग्रेसी । काँग्रेस सिद्धान्त र काँग्रेसी गुठ थियो । काँग्रेसभित्र सिद्धान्त हराउँदै गुठ हावी हुँदै गएकाले अहिलेको अवस्था आएको हो । कम्युनिष्टहरु काँग्रेसको गल्तीका कारण सत्तामा पुगेका हुन् । जनपक्षीय काम कम्युनिष्टबाट हुँदैन । कम्युनिष्ट सिद्धान्तले दिँदैन । प्रचण्ड ओलीको मेल नै बेमेलका लागि थियो ।

काँग्रेसभित्र प्रभाव जमाएको व्यक्ति तपाईँले किन छुटै पार्टी खोल्न सक्नुभएन ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । मैले पार्टी खोल्ने विचारपनि गरेको हुँ । पार्टी दर्ता हुनका लागि संविधान मान्नुपर्ने रहेछ । संविधानमा प्रदेश निर्माण र हिन्दू राष्ट्र हटाएका कारणले उक्त संविधानप्रति मेरो असहमति थियो । त्यहि कारणले मैले पार्टी खोल्न सकिन ।

नेपालको विकासका लागि कस्तो नेतृत्व आवश्यक छ ?

जनताले पृथ्वीनारायण शाहको परम्परा र विश्वेश्वरप्रसाद कोइरालाको चिन्तनलाई समन्वय गर्नेखालको नेतृत्व ल्याउनुपर्छ । अनिमात्र मुलुकभित्रको समस्या समाधान गर्दै देशको विकास गर्न सकिन्छ । मुलुकले यो स्वरुपमा जानेखालको नेतृत्व ल्याएन भने देश टुक्रिन सक्छ । जनताले दुःख पाउँछन् ।

तपाईँ गिरिजाबाबुको नजिक भएर काम गरेको व्यक्ति काँग्रेसभित्र कस्तो नेतृत्व आवश्यक छ ?

विपिको सिद्धान्तलाई अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक छ । धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्रलाई अगाडि बढाउने नेतृत्व काँग्रेसलाई चाहिन्छ । कम्युनिष्ट नामधारी पार्टीहरुसँग क्षणिकको स्वार्थका लागि मिलेर सत्ता वा आन्दोलनमा जानु हुँदैन । आफ्नो बलवुताले जनतासँग पुग्नुपर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

कम्युनिष्ट विचारधारा नेपाल र संसारबाट नमासुञ्जेल विश्व र नेपालमा शान्ति र प्रगति हुन सक्दैन ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }