सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

 हे नेता ! कुर्सी तान्दा देश नबिर्स


  • राम लामा अविनाशी , अमेरिका
  • सोमवार, माघ ५, २०७७
  • 3.0K
    SHARES

समयानुसार समाज र देश पनि विश्वको गति र मोडसँगै बदलिँदै जान्छ । सोहीअनुरूप लिगलिग कोटमा दौड जितेर राजा बन्ने र आफ्ना विश्वाशका पात्रहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने गरेको इतिहास छ नेपालसँग ।

२०१७, २०३६ सालको खड्को पार गर्दै २०४६ ले नेपाललाई प्रजातन्त्र दियो र २०६२–२०६३ ले गणतन्त्र दियो ।   जनताले सरकारमा पठाउन आफ्नो प्रतिनिधि छान्न आफ्नो मताधिकार प्रायोग गर्न पाउने भए ।

तर, साँच्चिकै आफ्नै विवेकले आफ्नो नेता चुन्नसक्ने क्षमता भएका नागरिक छन् देशमा ? या भोट हाल्ने हात आफ्नो भए पनि ती हातहरू अरूको ईशारामा चलेका छन् ?

अरूको ईशारामा चल्ने मतदाताहरूको मत प्रयोग गरेर बहुमत पाएर विजयी भएको नेता सही हुन्छ भन्ने छैन किनकि उसले आफू विजयी हुनाका लागि गरेका तिक्डमबाजीको खाडल पूर्ति गर्न ओहोदामा बस्दा घोटाला गर्नैपर्ने हुन्छ ।

नेपालको एउटा चुनावको सन्दर्भ यहाँ जोडौंँ  । मधेसबाट चुनावमा उठेका एकजना नेताले आफ्नो सहयोगका लागि मेरा साडुदाइलाई  हवाई टिकट दिएर बोलाएछन् । उहाँले मेरो साडु भाइलाई पनि लिएर आउँछु भन्नुभएछ र टिकट पनि मगाउनु भएछ । हामी दाजुभाइ काठमाडौबाट जहाज चडेर चुनाव जिताउन गयौँ ।

एउटा ठुलो हलमा चारैतिर कुर्सी राखिएका थिए । चुनावी रणनीति बन्दै थिए ।  अर्को सानो कोठामा मार्सलआर्ट खेलका गुरुलाई अरू ३ जना चेलाहरूले मालिस गरिरहेका थिए । काठमाडौंबाट बोलाइएका रे । मूलघरको साइडमा अर्को सानो घरको एउटा कोठामा अफिस थियो । त्यहाँ लक्ष्मीजीले सहयोग रकम वाँडिरहनुभएको थियो ।

केही बेरमा सेतो कुर्था पाइजामा लगाएको अग्लो मान्छे ४–५ जना मसलदार भुसतिघ्रेहरूसँगै आए । उनीहरू आउनेबित्तिकै नेताज्यूलगायत सबैजना उठे । उनी बसेपछि सबैजना बसे । नेपालको त्यति ठुला नेताले पनि मान्नुपर्ने यो मान्छे को रहेछ ? भनेर मेरो मनमा खुल्दुली पैदा भयो । सँगै बसेको मान्छेसँग कानेखुसी गरेर सोधें को हुन् ती उनी भनेर । “पछि भनौँला “ भने उनले ।

सबै जना खानपिनमा मस्त थिए ।  उनीहरूलाई पानी टक्य्राउँदै “कौनसा लेबलका विस्की चलेगा साब “? भनेर वेटरले सोधे । “हम दारु पिनेके लिए १८०० माइल पार करके यहाँ थोडी आएँ हेँ  । चलो हमे बताओ कहाँकहाँ क्याक्या हो रहा है ?“ सबै उठे नेताज्यूलगायत उहाँका मुख्य मान्छेहरूसँगै ।

भोलिपल्ट मतदान सुरु भयो । मलाई लक्ष्मीजीसँगै बस्न भन्नु भयो मेरा साडुदाइले । माछाको अण्डा फ्राई र बियरको घुट्कीको मजासँगै लक्ष्मीजीले बाँडिरहेका नोटका बिटातिर मेरो ध्यान गइरहेको थियो ।

कुनै युवा क्लब, कोही खेलकुद टिम, कुनै महिला संघ यस्तैयस्तै…। जसले जति माग्छन् उनीहरूलाई त्योभन्दा बढी दिएर पठाउनुहुन्थ्यो । तपाईँहरूसँग कति भोट छ ? भनी सोध्नु हुन्थ्यो । तर,  जबाफको प्रतीक्षा भने गर्नुहुन्थेन । एक लाख माग्नेलाई १ लाख १० हजार, ५० हजार माग्नेलाई ५५ हजार, २५ हजार माग्नेलाई २७ हजार दिनुहुन्थ्यो ।

मेरो मनमा जिज्ञासा उठ्यो र सोधेँ “मागेभन्दा बढी किन दिनुभएको ?”  “मागेभन्दा अलि थोरै दिइयो भने पैसा पनि लान्छन् भोट पनि दिँदैनन् । मागेजति मात्र दिइयो भने उनीहरूको सोच बदलिन पनि सक्छ । तर मागेभन्दा बढी दिइयो   भने भोट पक्का आउँछ जतिसके बढीलाई भोट हाल्न पनि लगाउँछन्” भन्नुभयो ।

अचानक हल्ला खल्लाको आवाज आयो । म बाहिर निस्कें । घोचा, भाटाहरू लिंदै मान्छेहरू दौडिरहेका जस्तो देखेँ । यत्तिकैमा लक्ष्मीजी पनि त्यहाँ  आइपुग्नु भयो । मैले “म त्यहाँ जान्छु है” ? भनें ।” उहाँले नजानुस् त्यहाँ गोली चल्न पनि सक्छ” भन्नुभयो ।

“बन्दुकहरू पनि छन् त्यहाँ ? भनी सोधेँ । ती सबैले बन्दुक बोकेका छन्” भन्नुभयो । “तिनीहरू किलर हुन् । बिहारबाट मगाइएका । सबै बुथमा त्यस्तो व्यबस्था छ” भन्नु भयो ।

“यो बुथमा हाम्रो मत कम खसेकाले बुथ कब्जा गरिएको हो । यो सबैको ठेक्का पप्पु यादवलाई दिइएको छ” भन्नुभयो । मैले “को हो पप्पु यादव ?” भनी सोधें । “ हिजो राती आएको त्यो अग्लो मान्छे क्या” भन्नुभयो । “पहिलाको लालु यादनको पार्टनर ?” भनी सोधें मैले । “हो त्यही त हो नि ” भन्नुभयो उहाँले ।

नेपालका हरेक चुनावमा खस्ने भोट स्वविवेकले हालिएको हुँदैन ।  कहिले एक प्लेट मासु चिउरा र एक बोतल तीन पाने, कहिले सरुवा बढुवा, कहिले ठेक्कापट्टाको लालच, कहिले तिनै नेताका गुण्डाहरूका धाकघम्की आदिले प्रभाव पार्छ । यसरी स्वतन्त्र मतदानमा कुठाराघात हुने गर्छ ।

अन्ततः हाम्रा नेताज्यले चुनाव जित्नुभयो ।  उहाँ पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुभयो । लगत्तै एउटा जहाज खरिद प्रकरणमा करिब ७ करोड हिनामिना गरेको खबर पत्रपत्रिकाले छापे । मलाई खुब रमाइलो लाग्यो । जायज लाग्यो । त्यो चुनावमा उहाँका लेखापाल लक्ष्मीजीले बाँडेको सबै पैसा त्यो घोटालाले मात्र पूरा हुन सकेन होला ।

यो त एउटा उदाहरण घटना मात्र हो । नेपालका प्रायः चुनावहरू यसरी नै हुने गर्छन् । अनि मौका पाएको बेलामा नेताले पनि यसरी नै देशलाई  घक्क्र्याक्कै पार्छन् । “देश डुबाए, जनता मारे” भन्छन् । केको डुबाउनु या मार्नु ? चुनाव जित्नलाई गरेको खर्च उठाउनु परेन ? चुनाव जित्नको लागि ठुलो धन राशी खर्च गर्न नपरोस् त नेताहरूले पनि घोटाला गर्दैनन् र गर्न बाध्य पनि हुँदैनन् ।

अक्कलझुक्कल भइहाले भने पनि तुरुन्त कारबाही गर्न सम्भव हुन्छ । अहिले त सबका सब दोषी छन् । कारबाही गर्दा पनि लहरो तान्दा पहरो थर्कने डर । त्यसैले माथिल्लो तहका घोटालाहरूमा तैँ चुप मैँ चुप हुन्छन् ।

दोषी नेता मात्रै छैनन् । स्वच्छ छवि र सोच लिएर मन्त्रालय पुगेका मन्त्रीलाई त्यहाँका कर्मचारीले नै सदियौँदेखि चल्दै आएको मिठो संस्कारको गुलियो चखाउँछन् । कुनै मन्त्रीले पहिला सचिव तथा सुब्बालाई बोलाएर घुसको व्यवस्था गर भन्नै पर्दैन ।

बहुमतीय पद्धतिमा बहुमतको मात्र कदर हुन्छ । मतदाताको स्तरको मतलब हुँदैन न त, उमेद्वारको क्षमताको स्तर हेरेर भोट दिने चलन नेपालमा आइसकेको छ ।

देशको भलो गर्न सक्नेले होइन चुनावको बेलामा जसले बढी जनतालाई खुसी पार्नसक्छ उस्ले भोट पाउँछ । त्यसैले त माओवादीका नेता प्रचन्डले भनेका थिए । एक बटुको जाँडले मान्छे मारिदिन्छन् हाम्रा मान्छेले ।

राजनीतिज्ञ भन्ने जन्तु नै यस्तै हुन् भनुँ भने पनि शतप्रतिशत सही नहुन पनि सक्छ ।  पुस्तौँ पुस्तादेखि आफ्नै बाउबाजेले आर्जेको मुलुकका राजाले लुरुक्क देश छोडेर हिंँडे । आफ्नो मायाले होइन, आफ्नो विरोधमा उत्रेका राजनैतिक दलका उछृ्रङ्गखल समूहको आतङ्कले देशमा रक्तपात हुने सम्भावना देखेर हुनसक्छ ।

हुनत, त्यो बेला राजातन्त्रको विरोध र्यालीमा ढुङ्गा हान्दा सट्केको हात अहिले पनि दुख्छ कहिलेकाहीँ । तैपनि त्यति पुरानो बिरासत त्यति सजिलै लुरुक्क परेर गएको देखेर मायाचाहिँ लागेकै हो ।

यता अमेरिकामा आफ्नो कार्यकाल पूर्ण सफल गरेर नवनिर्वाचित डोनाल्ड ट्रम्पलाई पद हस्तान्तरण गरेर बराक ओबामा बिदा भए । अमेरिकाले गरेको भव्य  बिदाइ कार्यक्रमा बराक ओबामाले दिएको भाषणले समस्त अमेरिकनका आँखा रसाए ।

त्यो एउटा राम्रो संस्कार हो तर अत्यधिक मत हासिल गरेर पनि इलेक्ट्रोरल भोटबाट पराजित बनेकी हिलारी क्लिन्टनले सिस्टमको सम्मान गरिन् र चित्त बुझाइन्  र नवनिर्वाचित राष्ट्रपति ट्रुम्पलाई हार्दिक बधाइज्ञापन गरिन् ।

तर आज, भारी मतले पराजित डोनाल्ड ट्रम्पलाई आफ्नो हारलाई स्वीकार गर्न सकस भयो । आफ्ना समर्थकहरूलाई उक्साएर संसद् भवनमा समेत  प्रदर्शनकारीहरूलाई घुसपैठ गराएको आरोप लाग्यो । ५ जना सर्वसाधारणको मृत्यु भने भयो एक प्रहरीको पनि ज्यान गयो । के देश नेताको मात्रै हो ? उनीहरूको हार या जितले जनताले कष्ट तथा मरण सहनु पर्ने ?

हर हारजितले दुखी या खुसी तुल्याउनु स्वाभाविक हो तर आफ्नो हारको झोंकमा आफ्ना  समर्थकहरूलाई उकासेर देशभर प्रदर्शन गराउनु गलत हो । त्यति मात्र होइन, विश्वको सर्वशक्तिमान् शानको इतिहास रचेको देशको संसद् भवनभित्र प्रदर्शंनकारीहरू पसेर तोडफोड गराउनु कति लज्जास्पद कुरा हो ?

यसपालिको संसद् भवन काण्डले विश्व समुदायको अगाडि अमेरिकाको साख घटेको छ । त्यति मात्रै होइन अमेरिकाकै इतिहासमा पहिलोचोटि दुईवटा महाअभियोग खेप्ने पहिलो राष्ट्रपति पनि बने ट्रम्प । त्यसैले गत चुनावमा हिलारी क्लिन्टनलाई हराउँदा खुसी हुने मतदाताहरूले अहिले पछुतो मानेका छन् ।

तर हाम्रो नेपालमा एकचोटि चुनाव जितेर जानेबित्तैकैदेखि नेतालाई सराप्न सुरु गर्छन् । अर्को चुनावमा तिनै नेताको पछि लाग्छन् । फेरि तिनैलाई जिताउँछन् ।

राष्ट्रको ढुकुटीको ठुलो राशी सिध्याएर गत चुनाव भयो । दुई तिहाईको समर्थनमा सरकार बन्यो ५ वर्षका लागि तर बिचमै संसद् भङ्ग भयो । के देश नेताको मात्र हुन्छ ? आफ्नो व्यक्तिगत स्वार्थका लागि जति कठोर निर्णय पनि गरिदिने ?

एकजनालाई जसरी पनि त्यो कुर्सी चाहिने र अर्काले ज्यान गए पनि त्यो नछोड्ने । यी  दुई नेताका लडाइँमा देशले अरबौ खर्च हुने चुनाव किन गर्नुपर्ने ?  उनीहरू पदच्यूत हुनु या पदासिन हुनुमा देशले किन सजाय भोग्नुपर्ने ?

देश बनाउन पठाएका नेताहरू नै देश रित्याउने दाउमा मात्र देखिए । त्यसैले हालको यो चुनावी पद्धतिको विकल्प खोज्नुपर्ने बेला आएको छ ।

 

Ram Lama Avinashi , USA

[email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)