१३ माघ, काठमाडौं । सफलतापुर्वक माउन्ट केटुको आरोहण गरेका नेपाली आरोहण टोलीलाई भारतीय कांग्रेस नेता राहुल गान्धीले बधाई र शुभकामना दिनुभएको छ।
भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले सामाजिक सञ्जाल ट्वीटरबाट नेपाली टोलीलाई बधाई दिनुभएको हो । ‘नेपाली टीम र नेपाललाई बधाई, नेपाली शैलीको उपलब्धीका लागि’, उहाँले लेख्नुभएको छ।
सर्वोच्च शिखर सगरमाथापछि पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर नेपाली टोलीले कीर्तिमान राखेको थियो।
आरोही निर्मल पुर्जासहितको नेपाली आरोहण टोलीले गत माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए।
८ हजार ६ सय ११ मिटर उचाइको केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहण गरेका थिएनन्। नेपाली १० जना आरोहीले सफलतापूर्वक यो कार्य सम्पन्न गरेका हुन्।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले केटु आरोहण गरेका हुन्।

