काठमाडौं ,२० माघ। सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाएका विदेशीहरुलाई नेपालमा आउन खुला गर्ने भएको छ । नेपाल आउने विदेशी पर्यटकहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने र ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेका बेला कोरोना विरुद्धको खोप लगाएकाहरुलाई भने सहज रुपमा आउन पाउने निर्णय गर्न लागिएको हो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले खोप लगाएका विदेशीहरुलाई सहज रुपमा नेपाल आउन दिने विषयमा मन्त्रिपरिषदबाट निर्णय गराउन प्रस्ताव पठाउने तयारी भइरहेको जानकारी दिनु भयो ।
पछिल्लो समय विदेशमा कोरोना भाइरस विरुद्धको खोप धमाधम लगाइरहेको बेला नेपालले त्यस्ता विदेशीहरुलाई सहज रुपमै आउन दिने निर्णय गराउन लागेको हो ।
नेपाल आउन विदेशी पर्यटकहरु इच्छुक रहँदा रहँदै पनि प्रोटोकलकै कारण समस्या भएको गुनासो पर्यटन व्यवसायीहरुले गरिरहेको बेला मन्त्रालयले खोप लगाएकाहरुलाई यहाँ आउन खुला गर्न लागेको मन्त्री ढकालले जानकारी दिनु भयो ।
यसबाट नेपालमा पर्यटकहरुको आगमनमा वृद्धि हुनुको साथै अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रचारसमेत हुने पर्यटन व्यवसायी सुर्दशन नेपाल बताउनु हुन्छ ।
अमेरिका, युरोपेली मुलुकसहित चीन र भारतमा समेत कोरोनाको खोप धमाधम लगाउन सुरु गरिएकोले त्यस मुलुकका पर्यटकहरुलाई लक्षित गरी मन्त्रालयले गर्न लागेको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा पैदा गरेको टानका अघ्यक्ष खुम सुवेदीले बताउनु भयो।
त्यसका लागि अनराइभल भिसालाई सहजिकरण गराउन समेत लागिको छ । सहज रुपमा नेपालमा पर्यटकहरु आउन पाएमा पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा व्यवसायीहरुको छ।


