काठमाडौं, २१ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले यस अघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण पारिवारिक विखण्डनमा परेका आप्रवासी परिवारको पुनर्मिलन सम्बन्धी तीन वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । साथै यस अघिको आप्रवासी सम्बन्धी विषयमा वृहद रुपमा समीक्षा गर्न समेत राष्ट्रपति बाइडनले निर्देशन दिनुभएको छ ।
तत्कालिन ट्रम्प प्रशासनले गैरकानुनी आवप्रवासन रोक्ने भन्दै मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्ने अवैधानिक आप्रवासीका बालबालिका र उनीहरुका आमाबुवालाई अलग गरेको थियो ।
राष्ट्रपति बाइडनको कार्यकारी आदेशपछि ६ सय देखि ७ सय बालबालिकाको पारिवारिक पुनर्मिलन गराउनेछ ।
सन् २०१७ देखि १८ मा ट्रम्प प्रशासनले ५ हजार ५ सय भन्दा बढी बालबालिकालाई उनीहरुका अभिभावकबाट अलग गराएको थियो ।
