काठमाडौं,२१ माघ। विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सिरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको जनाएको छ ।
सिरम इन्स्टिट्युट्ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकसित गरेको खोप उत्पादन गरिरहेको छ । इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले कोभिड–१९ विरूद्धको खोप आपूर्ति गर्न इयूका विद्यमान नियमहरूमा परिवर्तन गरिए भारतले संघलाई खोप उपलब्ध गराउन सक्ने बताउनु भयो ।
युरोपमा चाँडै खोप आपूर्ति गर्नका लागि विद्यमान नियमहरूले अवरोध गरेको उहाँले बताउनुभयो । सिरम इन्स्टिट्युटका अनुसार कम्पनीबाट कोरोना भाइरस खोप दैनिक २५ लाख मात्राको दरले उत्पादन भइरहेको छ ।
खोपको अधिकांश हिस्सा भारतमा प्रयोग गरिएको छ भने केही प्रतिशत उत्पादनलाई छिमेकी तथा आफ्ना सहयोगी राष्ट्रहरूलाई उपलब्ध गराइरहेको छ । भारतले कोभ्याक्स कार्यक्रम मार्फत् गरिब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने कार्यक्रम पनि अघि सारेको छ ।
