आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाका नयाँ राजदूत डा. युबराज खतिवडाको आगमनसंगै खडा भएका अवसर र चुनौति


  • गुणराज लुइटेल भर्जिनिया, अमेरिका
  • सोमवार, माघ २६, २०७७
  • 1.1K
    SHARES

अमेरिकाका लागि १८ औं नेपाली राजदूतको रुपमा कार्यभार सम्हाल्न डा. युवराज खतिवडा सपरिवार शनिबार अमेरिका आइपुग्नु भएको छ ।

विविध कारणले ६ वर्षे लामो कार्यकाल सम्पन्न गरेर निवर्तमान राजदूत डा. अर्जुन कुमार कार्की यसै हप्ता स्वदेश फर्किसक्नु भएको छ । डा. कार्कीको कार्यकालमा मिश्रित उपलब्धि भएको मान्ने विज्ञहरुले नव आगन्तुक राजदूत डा. खतिवडाको कार्यकालप्रति भने अझै बढी उपलब्धिको अपेक्षा राखेका छन ।

अमेरिकाका लागि नेपाली राजदूतले नेपाल र अमेरिकाबीचको कूटनीतिलाई बढावा दिएर मात्रै हुने अवस्था छैन । डिसी वरिपरी र अमेरिकाका विभिन्न स्टेटहरुमा धेरै नेपालीहरुको बसोबास रहेकोले नेपाली समुदायले पनि राजदूतलाई आफ्नो रानोको रुपमा हेर्दछ र राजदूत कुनै आग्रह विना प्राथमिकताको साथ नेपाली गतिविधिहरुमा पनि हरदम सामेल हुन, सवै नेपालीसंग अनौपचारिक रुपमै घुलमिल हुन भन्ने अभिलाशा पनि समुदायले राख्ने गर्दछ । यो अभिलाशालाई आशातीत रुपमा वा न्यायोचित रुपमा चरितार्थ गर्न नसक्दा पनि नेपाली राजदूतले मूल्यांकनको कसीमा यदाकदा बढी, ठीक्क वा कम नम्बर पाउने गरेको पनि पाइन्छ ।

सिक्काका दुई पाटा भने झैं अमेरिका बस्ने नेपालीहरु, एनआरएन लगायतका संघसंस्थाहरु र विशेषत: यहांका बुद्धिजीविहरुले पनि निष्कपट र खुलस्त रुपमा शुरुबाटै नयां राजदूतसंगको सहकार्य बढाउंदै नलैजाने हो भने पछि गएर दूतावासको सहभागिता, सहकार्य र यथेष्ट सहयोग भएन भनेर स्वर ध्वनि निकाल्नुको कुनै औचित्य हुनेछैन ।

आफ्ना जीवनका ६४ वर्ष पार गर्दै गर्दा डा. खतिवडाको रोजाइमा परेको यो कूटनीतिक सांचोमा कुनै कतै खिया नलागी सहज रुपमा लागाउन र खोल्न उहां सफल हुनुहुने कुरामा विश्वास लिंदै आफ्नो बुद्धीमत्ताले अगाडि आइलाग्ने चट्टानमा पनि सुरुंग छेड्दै पल्लोपट्टि सजिलै प्रकट हुन सक्नुहोस, डा. खतिवडालाई हार्दिक शुभकामना !

को हुन डा: खतिवडा?

डा. युवराज खतिवडा एक नेपाली राजनीतिज्ञ र अर्थशास्त्री पनि हुनुहुन्छ । उहांले सेप्टेम्बर २०२० सम्म नेपाल सरकारको अर्थ मन्त्री र सूचना तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । राष्ट्रिय सभामा आफ्नो पदावधि समाप्त भएको कारण केपी ओली प्रधानमन्त्रीको प्रभावशाली मन्त्री हुंदाहुंदै पनि उहांले बाहिर निस्कन बाध्य हुनु परेको थियो ।

त्यसपछि उहांलाई अक्टोबर २०२० मा केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको हो।

डा. खतिवडाले अमेरिका र यसका टेरिटोरीहरु, र दक्षिण अमेरिकी देशहरु पनामा, कोस्टा रिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर-आवासीय राजदूतको रुपमा काम गर्नुहुनेछ।

यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उहां विश्व बैंक, आईएमएफ र विश्व बैंक समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी पनि बन्नु भएको छ ।

संघीय मन्त्रिपरिषदको अर्थमन्त्रीबाट बाहिर भएपछि उहांलाई मन्त्रीस्तरीय अधिकारका साथ प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारका रुपमा पनि मनोनित गरिएको थियो।

अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैंकको गभर्नर बन्नु भएको थियो भने उहांले त्यसपछि देशको योजना आयोग जस्तो महत्वपूर्ण निकायको उपाध्यक्षको रुपमा कार्यभार सम्हाल्नु भएको थियो ।

अर्थबेत्ताको रुपमा मानिएका डा. खतिवडाका दुई पुस्तकहरु निकै चर्चित रहेका छन । सम आस्पेक्ट अफ मनिटरी पोलिसी इन नेपाल (१९९४) र स्ट्रक्चरल अडजस्टमेन्ट पोलिसिज एण्ड पोभर्टी इराडिकेसन (२००३) नेपालको अर्थ नीतिमा महत्व राख्ने उहांका पुस्तकहरु हुन ।

अर्थमन्त्री हुंदा वा त्यस पहिलेका विविध गहकिला जिम्मेवारीको क्रममा नेपाल सरकारलाई प्रतिनिधित्व गरेर पानीपधेंरो झैं अमेरिका र पश्चिमा संसारमा आउने जाने र विश्व अर्थनीति सम्बन्धी उच्च निकायहरुसंग नजिकबाट काम गर्नु भएका खतिवडालाई राजदूतको भूमिका निर्वाह गर्न त्यति गाह्रो भने देखिंदैन ।

नयां विद्यार्थीको रुपमा नभै पाको प्रोफेसरको रुपमा भएको उहांको कूटनीतिक प्रवेशले धेरै सफलता हात पार्न सक्ने हुंदा हुंदै पनि कतिपय चुनौतिहरु पनि सामुन्नेमा खडा नभएका हैनन।

नेपाली अस्थीर राजनीति, मिलेनियम कर्पोरेसनको नेपाल प्रोजेक्ट कार्यान्वयन, कोभिड-१९ रिलिज प्याकेज, एनआरएन नेपालीहरुका जल्दाबल्दा समस्या लगायत नेपाली राजदूतावासको प्रतिष्ठालाई उचाइमा पुर्याउने कार्य भने राजदूत खतिवडालाई तत्कालका लागि चुनौति र अवसरका रुपमा रहेका छन ।

डा. खतिवडालाई शनिबार नै राजदूताबासका कर्मचारी समूह, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, राप्रपा केन्द्रीय सदस्य प्रेम कुमार श्रेष्ठ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष प्रभु थापा लगायतले एयरपोर्टमा स्वागत गर्नु भएको थियो ।उहांले सकेसम्म आउने हप्तानै अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नु हुनेछ । डा. खतिवडाले अमेरिकी सरकारबाट कोभिड-१९ का खोपहरु अनुदानमा नेपाललाई पनि उपलब्ध गराउन ठोस प्रयास गर्नु हुने अनुमान गरिएको छ।

 

लुइटेल ईन्जाका अध्यक्ष पनि हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }