२६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने बताउनुभएको छ ।
एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनु भएको हो । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी राष्ट्रपतिले दिनुभएको हो ।
‘यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ’– राष्ट्रपति बाइडेनले भन्नुभयो ।
इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउनुभएको थियो।
त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताउनुभएको थियो ।
