सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मापदण्ड मिचेर खोप लगाएपछि पेरुकी विदेशमन्त्री राजीनामा दिन बाध्य


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३, २०७७
  • 519
    SHARES

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मापदण्ड मिचेर लगाएको कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे राजीनामा दिन बाध्य भएकी छिन् ।

आइतबार उनले आफूले मुलुकमा सरकारी खोप कार्यक्रम सुरु हुनुभन्दा पहिला नै कोरोना खोप लगाएको स्वीकार गरेकी थिइन् । उनले आफूले खोपको परीक्षण सकिएपछि चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको खोप लगाएको बताएकी थिइन् ।

यसअघि राष्ट्रपति फ्रेन्सिस्को सागस्तीले स्वास्थ्यमन्त्री पिलार माजेटीको राजीनामा पनि स्वीकार गरेका थिए । पूर्व राष्ट्रपति मार्टिन भिज्काराले मापदण्ड मिचेर समयभन्दा पहिला नै कोरोना खोप लिएकोमा विवाद उत्पन्न भएको थियो । यसै विषयमा विवाद उत्पन्न भएसँगै स्वास्थ्यमन्त्री माजेटीले राजीनामा दिएका थिए ।

गत नोभेम्बरमा भिज्काराले आफूलाई भ्रष्टाचारको आरोप लागेसँगै पदबाट राजीनामा दिएका थिए । भिज्काराले आफूले कोरोना खोपको परीक्षणको क्रममा स्वयंसेवकको रुपमा खोप लिएको दाबी गरेका छन् । यद्यपि स्थानीय सञ्चारमाध्यमहरुले भने उनको दाबीमा प्रश्न उठाएका थिए ।

विदेशमन्त्री एस्टेटेले गत वर्ष नोभेम्बरमा आफ्नो पद सम्हालेकी थिइन् । राजीनामा दिएसँगै उनले आफूले जनवरी २२ मा कोरोना खोप लिएको स्वीकार गरेकी हुन् । उनले यो आफ्नो गल्ती भएको भन्दै आफूले त्यसको दोस्रो डोज नलिएको बताएकी छिन् ।

पेरुले जनवरीको सुरुमा सिनोफर्मसँग कोरोनाको तीन करोड ८० लाख डोज कोरोना खोप खरिद गर्ने घोषणा गरेको थियो । एक साताअघि मात्रै सिनोफर्मको तीन लाख डोज खोप पेरुले पाएको छ । यससँगै गत मंगलबारदेखि पेरुमा कोरोना खोप कार्यक्रम सुरु भएको छ ।

सरकारी तथ्यांकअनुसार पेरुमा कोरोनाबाट ४४ हजार मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)