५ फागुन, काठमाडौं । किलियान एम्बाप्पेको ह्याट्रिकसहित पेरिस सेन्ट जर्मेनले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको पहिलो लेगमा पीएसजी ४–१ गोलअन्तरले विजयी भएको हो ।
लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गरेपछि मंगलबार रातिको खेलमा पछि परेको थियो । तर, त्यसपछि एम्बाप्पेले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई हराए।
खेलको ३२ औँ मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए भने दोस्रो हाफमा दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने उनी मात्र तेस्रो खेलाडी हुन् । पीएसजीका लागि चौथो गोल भने मोइस किनले गरे ।
अब दोस्रो लिग २० मार्चमा पेरिसमा हुनेछ । उक्त खेलमा घाइते रहेका नेयमार पनि फर्किसक्ने पीएसजीले आशा गरेको छ ।
मंगलबार राति नै भएका अन्य खेलमा लिभरपुलले आरबी लेइपजीलाइ २–० ले हरायो । लिभरपुललाई जीत दिलाउन मोहमद शलाह र साडियो मानेले एक–एक गोल गरे ।
