१२ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा बेलायतमा ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्ला केही दिनयता पाँच सय भन्दा कम मृतक संख्या रहेपनि मंगलबार भने मृतक संख्या पाँच सय नाघेको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।
यसैगरी बितेको २४ घन्टामा थप ८ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ३४ हजार ६३९ पुगेको छ ।
अस्पतालमा उपचार गराउनेको संख्यामा पनि निरन्तर कमी आउदै गएको छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ७९७ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।
एक करोड ७९ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७९ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७९ लाख १६ हजार १८१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४२ हजार ७८८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिँदैछ ।
