१६ फागुन, काठमाडौं । म्यानमारको सैनिक सरकारले संयुक्त राष्ट्र संघका लागि म्यानमारका राजदूतलाई देशलाई धोका दिएको आरोपमा बर्खास्त गरेको छ।
फेब्रुअरी १ को सैन्य कू फिर्ता गर्न अरू राष्ट्रहरूलाई आवश्यक सबै माध्यम अपनाउन आग्रह गरेका राजदूत क्याव मोइ तुनलाई सैनिक सरकारले हटाएको हो।
बर्खास्तगीमा परेपछि तुनले आफूले सकेसम्म जुन्ता सरकारविरूद्ध लड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
म्यानमारको सरकारी टेलिभिजनले शनिबार देशलाई धोका दिएकाले तुनलाई हटाइएको जानकारी दिएको थियो।
अहिलेसम्म राष्ट्र संघले म्यानमारको सैनिक सरकारलाई मान्यता दिएको छैन। राष्ट्र संघका एक अधिकारीले तुनलाई राजदूतबाट हटाइएको जानकारी पनि नआएको बताएका छन्।
म्यानमारका लागि राष्ट्र संघका महासचिवकी विशेष प्रतिनिधि क्रिस्टिन स्चार्नर बर्जनरले शुक्रबार सबै १९३ राष्ट्रले म्यानमारको जुन्तालाई मान्यता दिन नहुने बताउनुभएको थियो ।
शुक्रबार राष्ट्र संघमा बोल्दै तुनले आफू आङ सान सुचीको सरकारको दूतका हैसियत उपस्थित भएको उल्लेख गर्दै असंवैधानिक कू गरेर सत्तामा आएको सेनालाई हटाउन सहयोग माग्नुभएको थियो ।
नोभेम्बरमा भएको चुनावमा निर्वाचित सांसदहरूले एउटा समिति बनाएको र राष्ट्र संघका सदस्य राष्ट्रले त्यही समितिलाई म्यानमार सरकारको मान्यता दिनु पर्ने उहाँले बताउनुभयो ।
