छिट्टै गाउँ फर्क रे
एकजना बाजेले भनेको
तिमी घरमा छिट्टो आउरे
तिमी बिनाको गाउँ रित्तो छ रे
उमेर छदै घुमेर छिट्टै गाउँ फर्क रे
तिम्रो घरको नक्साको फाईल
कसैको बाकस भित्र घायल छ रे
लालपुर्जाका पानाहरू पनि
लङ्गुरबुर्जामा जितेर नानामा गुटमुट्यायो रे
सुरक्षित चार किल्लाहरू उखाल्यो रे
चेलिहरूको इज्जत रगतले पखाल्यो रे
नातापाता धर्म संस्कृति सबै टुट्यो रे
तिमी बिना तिम्रो गाउँ चुरा झैं फुट्यो रे
देउताले छोडेसी राक्षसको रजाइँ हुने नै भो
मानवको देशमा दानवको ताण्डव नॉच हुनेनै भो
ज्योतिषीले चिनामा लामो आयू लेखे पनि
एकबारको चोला एकबिहानै जलेर बायू हुने भो
एकजना बाजेले भनेको
तिमी घरमा छिट्टो आउ रे
तिमी बिनाको गाउँ रित्तो छ रे
उमेर छदै घुमेर छिट्टै गाउँ फर्क रे ।
मोहन गुरुङ्ग
सियाटल, अमेरिका ।
( कवि अमेरिकाको वासिङ्ग्टन राज्यमा एसिया प्यासिफिक सम्बन्धी मामला हेर्ने आयुक्त समेत हुनुहुन्छ )
