बिहिबार, बैशाख २७, २०८१

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 323
    SHARES

बागलुङ, १७ चैत्र

पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्न स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्यांकन गर्न थालिएको छ ।

विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जीनियर रवि नेपालले जानकारी दिएको राससमा उल्लेख छ । उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ ।

८ सय ४४ मेगावट विद्युत् उत्पादन गर्ने गरी निर्माण गर्ने भनिएको प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालमै सबैभन्दा ठूलो जलविद्युत् आयोजना रहेको छ । विद्युत् विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको अहिले प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युत्गृह निर्माण गर्ने क्षेत्र निर्धारणका लागि काम भइरहेको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजना क्षेत्र निर्धारणको काम भइरहेको अध्ययनको जिम्मा पाएको जेभी स्मेक इन्टरनेशनल अष्ट्रेलिया र जेड कन्सल्ट नेपालले जनाएका छन् ।

अहिले सात पालिकामा प्रभावित हुनसक्ने वडा र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्राणाली र आर्थिक प्रणालीका लागि सुझाव सङ्कलनसमेत भइरहेको छ । यसका लागि ती परामर्शदाताले सार्वजनिक सूचना निकाल्ने, सार्वजनिक सुनुवाइ गर्नेलगायतका काम गरिरहेको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि पहलकदमी गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

आयोजना अबको सातदेखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ । नेपालकै अन्य जलाशययुक्त जलविद्युत् आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको प्रभावित नगरपालिका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

अहिले रु आठदेखि १० करोड लागतमा अध्ययन भइरहेको उक्त आयोजना निर्माण गर्न पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा बाँध बनाइने छ भने बिहादीकै वडा नं ६ मा बाँधभन्दा झण्डै चार किलोमिटर तल विद्युत्गृह निर्माण गरिने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ । बिहादीमा २५० मिटर अग्लो बाँध बनाएर कालीगण्डकी नदी थुन्दा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ नयाँपुलसम्म पानी जम्मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }