३१ चैत्र, काठमाडौं । जापानले ध्वस्त पारिएको फुकुशिमा न्यूक्लियर प्लान्टबाट निस्किएको संक्रमित पानी समुद्रमा पठाउने योजनालाई स्वीकृति प्रदान गरेको छ। फुकुशिमा न्यूक्लियर प्लान्टबाट निस्किएको १० लाख टन भन्दा बढि संक्रामक फोहोर पानी समुद्रामा फालिने भएको हो।
सो पानीमा औषधि हालिने तथा डाइलुटेड गरिने छ। खानेपानीका लागि तोकिएको भन्दा तल सो पानीको रेडिएशन लेभल हुनेछ। तर माछा मार्ने पेशामा रहेका स्थानीय तथा चीन र दक्षिण कोरियाले जापानको योजनाको विरोध गरेका छन्।
न्यूक्लियर उर्जा चिस्याउनका लागि प्रयोग भएको पानी समुद्रमा छाड्ने काम अबको दुई वर्षभित्र सुरु हुने जापानले जनाएको छ। पानी समुद्रमा छोड्ने योजनाले वर्षौँको विवाद र छलफलपछि अन्तिम स्वीकृति पाएको हो। यो प्रक्रिया पूरा हुनका लागि पनि वर्षौँ लाग्ने सम्भावना छ।
अहिले रेडियोएक्टिभ पानी बिस्तारित प्रशोधन प्रक्रियाबाट सुधारको काम भइरहेको छ। यसबाट पानी रहेका अधिकांश रेडियोएक्टिभ तत्व हट्नेछ। तर ट्रिटियमसहितका केही भने पानी मै हुने छन्।
प्रशोधित पानी ठूला ट्यांकीहरुमा राखिन्छ। तर प्लान्ट सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनीका अनुसार सन् २०२२ सम्ममा सबै ट्यांकीहरु भरिनेछन्।
समाचार संस्था रोयटर्सका अनुसार अहिले यस्ता ट्यांकीहरुमा १३ लाख टन रेडियोएक्टिभ पानी राखिएको छ। यो पानीले ओलम्पिकमा प्रयोग हुने ५०० भन्दा बढि पौडी पोखरी बनाउनका लागि पुग्ने मात्राको हो।
जापानले स्वीकृति प्रदान गरे पनि वातावरण संरक्षणकर्मीहरुले भने लामो समयदेखि विरोध गर्दै आएका छन्। पानी छोडिँदा समुद्री पर्यावरणमा गम्भीर असर पर्ने उनीहरुको भनाई छ।
