२ बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आफ्नै स्रोतमा निर्भर भई आफ्ना नागरिकलाई महामारीको कहरबाट बचाउन भरमग्दुर कोसिस गरेको बताउनुभएको छ। गत चैत्र ३१ गते ‘रायसीना संवादको २०२१’ छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले एस्तो बताउनुभएको हो।
उहाँले भन्नुभयो, “महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास ग¥यौं । हामीले हाम्रा १ अर्ब ३० करोड जनतालाई महाव्याधिबाट बचाउन प्रयास गरेका छौं । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गर्ने प्रयास गरेका छौं ।”
कार्यक्रमलाई सम्बोधन गर्दै अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको बताउदै वहाँले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् स्रोत सिंगो मानव समुदायसँग बाँड्ने बताउनुभयो ।
समारोहमा प्रमुख अतिथिको रुपमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्रीलाई निम्त्याइएको थियो। समारोहमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले पनि सहभागीता जनाएका थिए । यसको अलावा फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्रीले पनि सो संवाद कार्यक्रममा उपस्थिति जनाएका थिए ।
समारोहमा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइरहेको सन्दर्भमा विभिन्न देशहरुले चिन्ता ब्यक्त गर्दै यसलाई कसरि अन्त्य गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेका थिए।
