वाशिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिएका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा ‘स्ट्रेट अफ होर्मुज’लाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताएका छन् ।
“यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु,” ट्रम्पले लेखेका छन् ।
उनका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ । यद्यपि ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
पाँच महिनादेखि जारी द्वन्द्वमा यो पछिल्लो अप्रत्याशित मोड हो । एक दिनअघि मात्र ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको सङ्केत दिएका थिए ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही शुरू गरेका थिए । ट्रम्पले त्यसबेला इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताएका थिए । यद्यपि, युद्धका उद्देश्य र रणनीति समयक्रममा परिवर्तन हुँदै आएका छन् ।
जुनको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो । तर, ‘स्ट्रेट अफ होर्मुज’मा जहाजहरूमाथि पुनः आक्रमण भएपछि केही सातामै युद्धविराम भङ्ग भएको थियो ।
