१३ असार, रसुवा । समाजमा अवस्थित सबै बस्तु र चेतनाको नेतृत्व राजनीतिले गरेको हुन्छ ।
यो मानेमा राजनिती अत्यन्तै राम्रो हुनुपर्थ्यो ।राजनीतिले नै समाजमा सद्भाव बढाउनु पर्थ्यो,एकता कायम गराउनु पर्थ्यो ।
सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्थ्यो ।आदिआदि ।तर त्यसको ठिक बिपरित राजनीति यति बिकृत भएको छ कि,राजनीतिको मातहतका सबै कुरालाई पनि बिकृत हुँदै गराइरहेको छ ।
जानेर वा नजानेर,बुझेर वा नबुझेर,अहिले सबै मान्छे राजनीतिलाई जबर्जस्त फोहोरी खेलको दुर्गन्धित मैदान बनाउन लागिपरेका छन् ।
आफुले रुचाएको मान्छेले गरेको सबै असल,आफुले नरुचाएको मान्छेले गरेको सबै खराब।
अहिले सामाजिक संजालमा रसुवा जिल्ला धुन्चेमा अवस्थित महाभुकम्पले क्षतबिक्षित सभाहलले सगरमाथाको चुचुरोलाई समेत माथ खुवाएको भान हुदैछ ।
सभाहल कसले बनाउने ? कसले बजेट हाल्यो ? कसले समर्थन गर्यो ? कसले बिरोध गर्यो ? पाँच लाखले सभाहल बन्छ आदि इत्यादि ।
वास्तवमा भन्ने हो भने रसुवाबासीले चाहेको जस्तो सभा हल बनाउन ३५,४० करोड बजेटको आबश्यकता पर्छ ।
यो बबुरोले पनि सभाहल निर्माणको लागि ३५ करोडकै डिपिआर बनेको छ भन्ने सुनेको हो ।
डिपिआर,सर्भे,डिजाइन,इस्टिमेट सबै काम सकिएको छ र पनि सम्बन्धित निकायमा फाइल थन्केको पनि अलिक लामो समय भएको छ ।
हाम्रो जिज्ञासा,३५ करोड नै बजेट नआएर ठेक्का नभएको हो त ? सभाहल निर्माण सम्पन्न गर्ने पैसा किन आएन ? ठेक्काको सुचना किन निस्केन ? राष्ट्रिय पुननिर्माण प्राधिकरणका बडे हाकिमहरुको जागिर सकिन लागिसक्यो,भुकम्पले तहसनहस बनाएको धुन्चे सभाहल किन बनेन ? नबन्नुको पछाडी कसको हात छ ? यो कुकृत्यको सबैभन्दा दोषी को हो ? रसुवाबासीले पटक,पटक गर्ने यी प्रश्नहरु जाहेज छ र गम्भीर पनि ।
यथार्थ के हो त ? सत्य कहाँ लुकेको छ ? महाभुकम्पको धक्काले क्षतबिक्षत सभाहलमाथी कसले र किन राजनीति गरिरहेको छ ?
आजको यक्ष प्रश्न यो हो ? जनतालाई सत्य लुकाउदै गुमराहमा राखी आफ्नो निजी राजनितीक स्वार्थ पुर्ती गर्नका लागि बिचारा सभाहललाई उपयुक्त हतियार कसले बनाइरहेको छ ? वर्तमान सांसद मोहन आचार्यले कि पुर्व सांसद जनार्दन ढकालले ?
रसुवाको जिल्लाको वर्तमान राजनीतिमा सकरात्मक वा नकारात्मक रुपमा छाउनु भएको र चर्चाको केन्द्रबिन्दुमा रहनु भएको चर्चित ब्यक्तित्वहरुको बारे बहस गर्दा उपयुक्त र न्यायसङ्गत हुन्छ कि ?
२०७२ साल बैशाख १२ गते आएको बिनाशकारी महाभुकम्पले सभाहलको नाभीमा नै प्रहार गर्यो,उठ्नै नसक्ने गरि थला पार्यो ।
पुननिर्माणको नाममा यथेष्ट काम भए,तर धुन्चेको सभाहलले टेक्ने बैशाखी पनि पाएन किन ? धुन्चे सभाहल निर्माणको लागि बजेट नआएको भने चाहिँ होइन ।आएकै हो ,पुर्व सांसद जनार्दन ढकालको पालामै ल्याउनु भएको हो उहाकै पालामा आएको हो ।तर त्यो बजेटले धुन्चेको सभाहल बनेन पुर्व सांसद ढकालको घर अगाडिको सभाहल बन्यो ।
उहालाई आफ्नै घर अगाडि मन लाग्यो बनाउनु भयो,उहाँ पावरमा हुनुहुन्थ्यो आफ्नो लागि राजकीय पावर प्रयोग गर्नुभयो ।उहाले जति जान्नु भएको थियो त्यति गर्नु भयो जे उहालाई उपयुक्त लाग्यो त्यही गर्नुभयो ।त्यसको प्रत्यक्ष प्रभाव धुन्चे सभाहललाई पर्यो दुख यतिमा हो ।
पछि उहाले चुनाव हार्नुभयो चुनाव हार्नुभए पछि रसुवा जिल्लामा बजेट ल्याउनु भन्दा रोक्नतिर उहाँ लाग्नुभयो ।
सांसद मोहन आचार्य बजेट ल्याउन बल गर्ने पुर्व सांसद जनार्दन ढकाल रोक्न बल गर्ने, व्दय सांसदज्युहरुको ल्याउने र रोक्ने लडाइले अहिले पनि निरन्तरता पाइरहेको छ ।ल्याउने र रोक्ने लडाइको असरबाट धुन्चे सभाहल पनि अछुतो रहन सकेन ।
राष्ट्रिय पुननिर्माणका मुख्य हाकिम साप एउटा राजनितिक पार्टीको नेता हुनुको नाताले आफ्नैले भनेको मात्र मान्नु भयो यसको मारमा धुन्चे सभाहल पर्यो। पुर्व सांसद जनार्दन ढकालले सभाहलमा आउने बजेट किन रोक्नु भयो गाठी कुरो यहाँ छ ।पुर्व सांसद जनार्दन ढकाल राजनीतिका साथै कुशल ब्यबसायी पनि हुनुहुन्छ ।उहाँ कहलिएको ठेकेदार हुनुहुन्छ ।
सभाहलको ३५ करोडको ठेक्का आफै पार्ने र पैसा कमाउने उहाको मुख्य ध्येय हो ।
उहाँको निर्माण कंम्पनी लुम्बिनी सुर्यचन्द्र जेभी ले रुपन्देहीमा धुन्चेमा बन्ने जस्तै प्रकृतिको सभाहल बनाइरहेको छ ।त्यो पूरा भएको छैन,त्यहाको अनुभवी सर्टिफिकेट नआएसम्म ठेक्का खुल्न नदिने,आफुले काम पाउने पक्का भएपछी मात्र टेन्डर गराउने र काम आफुले नै लिएर पैसा कमाउने दुराशयका साथ लाग्नु भएकोले धुन्चे सभाहल नबनेको हो,हामीले यति मात्र बुझौं ।
अर्कोतिर सांसद मोहन आचार्य धुन्चे सभाहललाई बहुबर्शीय ठेक्का गरेर यहि बर्ष ठेक्का गर्ने र आफ्नो कार्यकालमा नै धुन्चे सभाहल निर्माण गर्ने लक्ष्यका साथ महाअभियानमा लाग्नु भएको छ ।
सामाजिक सन्जालको आरोप. प्रत्यारोप खिसीट्युरी पछि सांसद मोहन आचार्य झनै छिटो भन्दा छिटो सभाहल निर्माणगर्ने उघ्देश्यका साथ अगाडी लाग्नु भएको छ। उहाँको पार्टीको सरकार नभए पनि वर्तमान सरकार लङ्गडो भएको मौकामा उहाँको आफ्नो ब्यक्तिगत सम्बन्धहरुलाई प्रयोग गरि रसुवाली जनताको लागि जसरी पनि जस्तोसुकै मूल्य चुकाएर भए पनि सभाहल निर्माणका खातिर अहोरात्र खटिरहनु भएको छ ।
आशा छ ,आफू र आफ्नो पार्टी सरकारमा नहुदा पनि बर्सेनि दर्जनौ पुल,सडक, खानेपानी,सिचाईमा यथेष्ट बजेट हाल्न सफल र आफ्नो ब्यक्तिगत सम्पतीबाट पनि रसुवाको बिकास र सम्बृद्धिका लागि कुर्वानी गर्ने,जनताको भोक र रोगका बिरुद्ध निरन्तर भिड्ने जनताको नेताले सभाहल आफ्नै पहलमा र आफ्नै कार्यकालमा निर्माण गरि जनताको मुहारमा खुशी बाड्नु हुनेछ,हामीले नया र सुन्दर धुन्चे सभाहल पाउनेछौ ।
