मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनुमतिबिनै खुल्न थाले विद्यालयहरु


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 505
    SHARES

१८ साउन, काठमाडौं । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्।

तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ। यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन्।

निजी विद्यालयले विद्यालय पोशाकबिना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोशाकमै विद्यार्थी बोलाएर पठनपाठन सुरू गरेका हुन्।

यद्यपि कतिपय विद्यालयका प्रधानाध्यापकले भने विद्यार्थीलाई विद्यालयमै बोलाइएपछि पठनपाठन सुरू नगरिएको दाबी गर्नुभएको छ ।

व्यास नगरपालिका–१ भादगाउँस्थित न्यू मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल दिपेन्द्र चौहानले गृहकार्य दिनका लागि विद्यार्थी बोलाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो।

‘विद्यालय खोलेको तीन चार दिन भयो, पठनपाठनभन्दा पनि विद्यार्थीलाई गृहकार्य दिने काम भएको छ’, उहाँले भन्नुभयो ‘पूर्णरूपमा विद्यालय नै खुलेको होइन।’

लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थी घर बस्दा पढ्ने बानी हराउँदै जान थालेपछि अभिभावकको गुनासो आएकाले विद्यार्थीलाई विद्यालयमै बोलाइएको चौहानले बताउनुभयो।

‘अभिभावकले पनि विद्यालय खोलिदिए हुन्थ्यो भनेर गुनासो गर्न थाल्नुभयो, दुई/तीन घण्टा विद्यार्थीलाई विद्यालयमा राखेर घर पठाउँछौं’, उहाँले भन्नुभयो।

व्यास नगरपालिका–५ साँगेस्थित व्यास मनकामना बोर्डिङका प्रिन्सिपल रामकृष्ण विकले औपचारिकरूपमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीलाई बोलाएर एक/दुई घण्टा पठनपाठन गराइएको बताउनुभयो।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमै दुई घण्टा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो।

एन प्याब्सन तनहुँका अध्यक्षसमेत रहेका उनले कतिपय विद्यालयले बससमेत सञ्चालन गरेको आफूले जानकारी पाएको बताउनुभयो।

व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आइतबारदेखि विद्यालयमै पठनपाठन सुरू गरेको छ। विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेले आजदेखि विद्यार्थी बोलाइएको बताउनुभयो।

‘अहिलेसम्म त हामीले पनि अनलाइनबाटै कक्षा चलाइरहेका थियौं, तर केही दिनयता बोर्डिङ खुल्न थाले, बस पनि चल्न थालेपछि विद्यालयले कक्षा सञ्चालन गर्ने निर्णय गर्‍यो’, उहाँले भन्नुभयो।

उनका अनुसार जोर बार जोर कक्षा र विजोर बार विजोर कक्षा सञ्चालनको तयारी गरिएको छ।

‘पहिलो दिन स्वअध्ययन सामग्री पनि बाँडेका छौं, अहिलेसम्म त अनलाइनबाटै पठनपाठन भइरहेको थियो’, उहाँले भन्नुभयो।

दमौलस्थित बाराही बोर्डिङका प्रिन्सिपल विष्णु खड्काले परीक्षा सञ्चालनका लागि विद्यालय खोलिएको र बस सञ्चालन गरिए पनि पठनपाठन भने नभएको बताउनुभयो।

‘परीक्षा सञ्चालनका लागि दुई घण्टा विद्यालय खोलेका छौं’, उहाँले भन्नुभयो।

व्यास नगरपालिका–१ का अभिभावक विष्णु थापाले विद्यालयले विद्यालय खोलेर बच्चा पठाउन भनेपछि आफूले छोराछोरीलाई विद्यालय पठाउन थालेको एक हप्ता भएको बताउनुभयो।

‘कोभिडको जोखिम झनै बढेको छ तर विद्यालयले बच्चा पठाउनु भनेपछि पठाउनै पर्‍यो’, उहाँले भन्नुभयो।

व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुसी विद्यालय सञ्चालन गरेको जानकारी पाएको बताउनुभयो।

‘विद्यालय खोल्यौं भनेर कतिपय विद्यालय सञ्चालकले जानकारी गराउनुभएको छ, तर हामीले खोल्ने अनुमति दिएका छैनौं’, उहाँले भन्नुभयो, ‘कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका छौं।’ उहाँले केही भए त्यसको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने साउन २० गतेसम्म निषेधाज्ञा कायमै रहेको र पठनपाठनका लागि विद्यालय खोल्ने अनुमति नभएको बताउनुभयो।

‘केही दिन अगाडि एक/दुई वटा विद्यालय खुलेको जानकारी आएको थियो, लगत्तै विद्यालय बन्द गर्न निर्देशन दियौं’, उहाँले भन्नुभयो। तर परीक्षा सञ्चालनका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिइएको प्रजिअ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }