शुक्रबार, बैशाख २१, २०८१

मानव बेचबिखन न्यूनीकरणका लागि शिक्षाको पहुँचमा जोड दिनुपर्ने समितिको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 277
    SHARES

२९ साउन, काठमाडौं । संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम संचालनमा जोड दिन सरकारलाई सचेत गराएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरवारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । जोखिम क्षेत्रमा केन्द्रित भएर मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

बैठकले हराएका व्यक्तिहरुको खोजीका लागि दिइएको उजुरी सबै प्रहरी कार्यालयमा सर्कुलर हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा ती कामलाई व्यवस्थित बनाएर पीडितले तत्काल न्याय पाउने व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिले जनाएको छ । सभापति पालले हराएका वा बेपत्ता भएका व्यक्तिहरुको अभिलेख चुस्त बनाउन पनि समितिले सरकारलाई निर्देशन दिएको बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले तीन वटै तहका सरकारले बलियो सहकार्य गरेर मानव बेचबिखन नियन्त्रण तथा हराएका व्यक्तिहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । समितिकी सदस्य अमृता थापाले जनचेतनामूलक कार्यक्रम संचालन गरी मानव बेचबिखनलगायतका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भयो । उहाँले भएका कानुनहरुको प्रभावकारी कार्यान्वयन गरेर मानव बेचबिखन तथा वेपत्ता नागरिकहरुको खोजी कार्यमा सरकार जिम्मेवार हुन नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

समितिकी अर्का सदस्य लक्ष्मी परियारले बालिकाहरु बलात्कार हुने, हत्या हुने लगायतका समस्या बढेर गएको भन्दैै त्यसको नियन्त्रणका लागि सरकारलाई गम्भिर बन्नु सचेत गराउनु भयो । उहाँले हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधको घटना नियन्त्रणका लागि मातहतका निकायलाई जिम्मेवार बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले किशोरीमाथि हुने बलात्कार, हत्या, हिंसालगायतका जघन्य अपराधका घटना न्यूनीकरणका लागि विद्यालय तहबाटै जनचेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको समितिलाई जानकारी गराउनु भयो । उहाँले सामाजिक अपराधका घटनाबारे बेलैमा जानकारी लिएर अनुसन्धानमा सहयोग गर्न पनि आम नागरिकलाई आह्वान गर्नु भयो ।

गृहसचिव पाण्डेले सरकारले तीन वटै तहको सरकारसँग समन्वय गरेर सामाजिक अपराधका घटना न्यूनीकरण गर्ने कामलाई तीव्रता दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }