१० भदौ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएका छन् । उनले बिहीबार पदबाट राजीनामा दिने स्रोतले बताएको छ । बिहान ११ बजे बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा राईले एमाले संसदीय दलको नेताबाट राजीनामा दिने तयारी गरेको बताइएको छ ।
सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री राईले मुख्यमन्त्रीको पदबाट पनि राजीनामा दिने छन् । तयारी अनुसार बिहीबारै आचार्यले मुख्यमन्त्रीको सपथ लिने छन् ।
प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
