काठमाडौं ,६ असोज
यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको माउन्टेन फ्लाईट पुन सुरु गर्ने भएको छ । यो एयरलाइन्सले असोज १० गते देखि पुनः पर्वतीय उडान सुरु गर्ने भएको छ । दोश्रो लकडाउनपछि रोकिएको यती एयरलाइन्सको पर्वतीय उडान पुनः सुचारु गर्न लागिएको यो वायुसेवाले जानकारी दिएको छ। मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
हालका लागि प्रत्येक आइतवार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको हो । प्रत्येक आइतबारका लागि एटीआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुने गरि तालिका तय गरिएको छ । यात्रुहरुको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति पनि यो एयरलाइन्सले जानकारी दिएको छ । हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ रुपियाँको आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने छ ।
यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी , यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने पनि उल्लेख छ ।
