रसुवा ,१४ पुस। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रसुवाबाट निर्वाचित भएका २ जना सदस्यलाई रेडियो रसुवाले सम्मान गरेको छ । मंगलबार रेडियो रसुवामा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी मोहन आचार्य र बागमती प्रदेश सदस्यमा विजयी उपेन्द्र लम्साललाई सम्मान गरिएको हो । रेडियो रसुवाका अध्यक्ष दिपक लामा र स्टेसन म्यानेजर अनु आचार्यले सम्मानपत्रका साथ खादा लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा रेडियो रसुवाका अध्यक्ष दिपक लामाले रेडियोको अवस्था बारे जानकारी गराएका थिए । उनले जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई यसअघिका दिनमा पनि सम्मान गरिएको र यसलाई निरन्तरता दिइएको बताए । साथै अध्यक्ष लामाले प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेसको केन्द्रीय सदस्य आचार्यलाई सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए ।

प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेसको केन्द्रीय सदस्य ई. मोहनआचार्यले जिल्लाको समग्र विकासमा आफ्नो सहयोग र सहकार्य जारी रहने बताए । उनले जिल्लाको पत्रकारितालाई अझै उचाइमा पुर्याउन आग्रह गर्दै यसका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए ।

