सरप्राइज
जुको जस्तै तनक्क तन्किदै वुद्धिमानले अभिवादन गर्यो । “सलाम सर “। किन आइस वुद्धि ? हाकिमले प्रश्न गर्यो । सर, घरमा बुढी बिरामी छ रे ? उपचार गर्न भन न त, घरमा अरू कोही छैनन् र ? नजर झुकाउँदै थप्यो “पहाडबाट छोराछोरीलाई राम्रो शिक्षा दिन बेसीमा डेरा लिएर राखेको नौलो ठाँउमा चिने जानेको कोही थिएन”।
अनि तँ गएर के गर्छस त ?वुद्धिले भन्यो “यसो खर्चपर्च र औषधी मूलोको व्यवस्था मिलाएर आउँछु हजुर” । भैपरी विदा चार दिनमा मिलाएर आइज न त । खुसी हुँदै “हजुर म चारै दिनमा आउँछुु “। हाकिमको आदेश पाएको वुद्धिले यसपाली हाकिमलाई झुक्काएकोमा मनमनै खुव हास्यो र फुर्किदै गयो । पोको पुन्तुरो बनाएर घरमा खवरै नगरी प्रियसीलाई सरप्राइज दिन घर हिड्याे ।
समसाँझमा केटाकेटी आँगनमा खेलिरहेका थिए । वुद्धिमान टुप्लुक्क पुग्यो । बच्चाबच्चीले बाबाबाबा भन्दै झम्टीहाले । उसले फर्काइ फर्काइ चुप्प चुप्प गर्यो । हातमा चकलेट र कुरमुरेको प्याकेट राख्दै छोरीलाई सोध्यो “नानु मामु खोइ त “? मामु त माम पकाउँदै हुनुहुन्छ । “अनि ढोका नि” ? अँ बाबा बेसीको हावाले खाना विग्रन्छ रे ? खाना पाकेपछि त ढोका खोल्नुहुन्छ । घर पछाडि धुम्म गर्दा भित्र खन्द्रयाङ्ग आवाज आयो । मामु के भयो ? छोरी चिच्याइन। केही होइन त्यसका बाजे विरालो मर्यो । वुद्धिमानले वुद्धि देखाउँदै भन्यो “अनि विरालोलाई ढोका लगाएर लघारेपछि कोपर्ला नि” ! श्रीमतीले जवाफ दिइन झ्याल खुल्लै थियो ,आइरहने ढाडे बिरालाे ।
श्रीमतीले ढोका उघारिन र शीर निहुराउदै पाउ स्पर्स गरिन । वुद्धिले उठाउँदै “कहाँ अहिलेको जमानामा पाउ ढोगेको अङ्गालो मार्ने हो” भन्दै श्रीमतीलाई छातीमा टास्यो । छ्या यो बुढो छोराछोरीको अगाडि कस्तो लाज नमानेको । “के को लाज हो गाठे, हामी विग्रेकै माया गर्न लाज मानेर हो” ।
खानपिन र गन्थन गुन्थुन गर्दागर्दै १० बज्यो ।छोराछोरी सबै निदाए । उसले श्रीमतीलाई कोट्यायो । श्रीमतीले झर्कदै भनिन् मलाई सन्चो छैन डिस्टव नगर ? अलिअलि कानुन पढेको वुद्धिमान कानुन लाग्ने डरमै रात बितायो । आजभोलि गर्दै यस्तै क्रम चारदिन चल्यो । ढाँटेर विरामी भनी सरप्राइज दिन घर आएको आफै सरप्राइज। वेसी झारेर प्रियसी गुमाएकाे उसले चार कक्षामा पढेको लालु र बाघको कथा सम्झियो । पशुप्राणीका प्राकृतिक सम्वन्धसँग मानवीय प्रवृत्ति तुलना गर्याे । छोराछोरीको भविष्यकालागि रातपरेपछि बिरामीहुने श्रीमतीलाई डेरामै छोडेर हाजिर हुन हिड्यो । बिरामी मन लिएर।
-गोपिराम भण्डारी