बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पदको मान्छे (घाउआँफैलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शनिबार, असार ४, २०७९
  • 682
    SHARES

पदको मान्छे

धेरैअगि कवि भूपि शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता लेखेर पदका मानिसको चित्रण गरेका थिए । केही समयअगि सूर्यप्रसाद लोकोजूले पनि छोटो कविता ‘पदको मान्छे’ लेखेर पदमा रहने मान्छेको फेरि अर्को चित्रण गरे । यी दुई कविको कविता अन्तराल चारपाँच दशक होला तर कवितामा पोखिएका भावनामा धेरै समानता छ । त्यो सामनता हो– पदमा रहनेहरू, अझ भनौं ठूलो ओहदामा रहनेहरू अरूलाई सानो देख्ने गर्दछन् । किन त्यसो भएको होला ?

सबैखाले मानिसमा भावनाहरू रहन्छन्, भोगाइ र अनुभूति पनि रहने नै भए तर कवि, साहित्यकारहरू भोगाइ र अनुभूति पोख्ने सामथ्र्यमा रहन्छन् । कविहरू स्वतन्त्रताप्रेमी हुन्छन्, अन्याय र अत्याचारप्रति कि आगो ओकल्छन् वा त्यसो नगरे पनि भावनालाई पोख्ने गर्छन्् । कि त व्यङ्ग्य गर्छन्् । उनीहरू समाजको सिर्जनशील निर्माणमा निरन्तर लागिरहेका हुन्छन् ।

दुवै कविको लेखाइले एउटा सत्य उद्घाटन गरेको छ–ओहदामा पुगेपछि, शक्ति अभ्यासको स्थानमा पुगेपछि बहुधा मानिस अरूलाई सानो र आफूलाई ठूलो देख्छन्, अरूलाई होचो र आफूलाई अग्लो देख्छन्, अरूलाई सामान्य र आफूलाई असाधारण देख्छन् अथवा हेराइको दृष्टिकोण नै बदलिन्छ ।

पदको मान्छे ठूलो हुनुमा मनोविज्ञानको दोष हो कि शक्तिको उन्माद– प्रश्न अनुत्तरित छ र धेरै लामो समयसम्म मनोवैज्ञानिक र समाजशास्त्रीलाई यो रोजगारीको क्षेत्र पनि हो । कथम् उत्तर पाइएमा स्वयम् उत्तरदाता उन्मादको सिँढी नचढोस् ।

पदले चेतना र विवेक बढाउने हो कि पदमा पुगेपछि चेतना तथा विवेक साँघुरिन्छ ? पदमा पुग्न नै बुद्धि र विवेक चाहिने कि पदमा पुगेपछि बुद्धि अनि विवेक पाइने हो ? बहुधा बुद्धिजीवीका लागि मस्तिष्क मथिङ्गलको विषय हो ।

समाजशास्त्री र अनुसन्धाताले खोजिरहनुपर्दैन– पदको विशेषता र पहिचान जिम्मेवारी हो । पदको स्तर र उचाइ बढ्नु भनेको जिम्मेवारी अनि दायित्वको दायरा बढ्नु हो । ठूला मानिसहरू स्वाभाविक रूपमा चेतनशील र विवेकशील हुन्छन् । त्यसैले उनीहरू ठूला भएका हुन् । सृष्टिको सर्वश्रेष्ठ जाति मानिस आफूहरूबीचको भिन्नता कर्म र ज्ञानले सिद्ध गर्छ, जिम्मेवारीले पुष्टि गर्छ, परिणामले विश्वास जित्ने गर्छ । विश्वासले वैधता बढाउने गर्छ ।

पदको मान्छे अरूको आकार र स्तरलाई सानो देख्छ । आफू उच्च र अरूलाई निम्न ठान्छ । आफू महान् र अरूलाई सामान्य सोच्छ । आफू सगरमाथा र अरूलाई भुरेटाकुरे सम्झन्छ ।

पदमा पुग्नुअगि सुखदुख साट्ने साथी एक कदमअगि बढ्नेबितिक्कै दुखको साथी चटक्कै भुल्छ र नयाँ वृत्तमा पुग्छ तर वृत्तात्मक सोच राख्दैन, रेखीय सोपानमा पुग्छ । सफलतामा शुभकामना दिँदा पनि प्रत्युत्तरका न शब्द हुन्छन्, न फुर्सद नै । अझ कति त आफू माथिल्लो पदमा पुग्ने कुराको सङ्केत नै बडप्पनबाट दिने गर्छन्् । सार्वजनिक ओहदाका मानिस आनो प्रमोसनको सङ्केत ठूलाको पहिचानबाट दिन्छन् । साथीलाई बेवास्ता गर्ने, खासै महङ्खव नदिने र मतलब हुने विषय सन्दर्भमा मात्र महङ्खव दिने प्रवृत्ति देखिन्छ । पदप्राप्तिपछिका व्यवहार सामान्य देखिँदैनन् । अपवादमा सामान्य देखिनेहरूप्रति आनै घेराबाट अर्को व्यवहार गरिन्छ । सहपाठी र सुखदुखको साथीबाट अलग्गिनु वा उसबाट विशेष व्यवहार खोज्ने प्रवृत्तिले वृत्तिमाथि नै गम्भीर प्रश्न उठाउँछ– के कुर्सीमा नशा छ र त्यहाँ बस्नेहरू मातमा देखिन्छन् ?

पदको मान्छे पदेन विद्वान् बन्छ । ओहदो चढ्नुको भ्रम विद्वत्ता र ज्ञान पनि स्वतः बढ्छ भन्नेमा छ । पदले विद्वत्ता दिन्छ, सुविधा र कुर्सीले विद्वत्ता पनि स्वतः दिन्छ भन्ने मान्यता राखिन्छ । साना पदका मानिसमा बुद्धि र विद्वत्ता सम्भव देखिँदैन, सर्वसाधारणको त कुरै छोडौं । बैठक, भेलामा राखिने सही तर्कलाई ठूलाको तर्कले थिच्छ, मानौं तर्क पनि ओहदा र पदसापेक्ष कुरा हो । जब ठूला तर्कले तथ्य तर्कलाई थिच्छ– तब गलत निष्कर्ष निस्कन्छ नै । गलत निष्कर्ष र गलत निर्णयले समस्त समाजलाई नै क्षति पु¥याउँछ । स्वयम् ‘पदको मानिस’लाई पनि क्षति पु¥याउँछ तर उसको वैयक्तिक प्राज्ञले त्यो क्षतिको वास्ता गर्दैन र समाधान फेरि गलत भइदिन्छ । यो क्रम शृङ््खलामा रहन पुग्छ । त्यसैले त समाजले राम्रो परिणाम पाउँदैन ।

पदका मानिस आफूप्रति अरूबाट विशेष व्यवहार चाहन्छन् । सामान्य शिष्टाचारमा पनि विशेष सम्बोधनकै अपेक्षा गरिन्छ । एकै सम्बोधनमा पनि दोहोरो, तेहोरो विशेषणयुक्त शब्द खोजिन्छ । हाम्रो समाजमा एउटा उदाहरण नै काफी छ–‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू’ । ‘श्रीमान्’ भनिसकेपछि फेरि किन ‘ज्यू’ भन्नुपरेको होला ?

‘श्री’जस्तो महान् शब्दभन्दा पछिको ‘ज्यू’ ले ‘श्री’लाई आदर गर्छ कि उपेक्षा थप्छ ? वाक्यांशको अन्तमा ‘ज्यू’ फेरि किन चाहियो ? ‘श्री प्रमुख जिल्ला अधिकारी’ वा ‘प्रमुख जिल्ला अधिकारीज्यू’मात्र भन्दा नहुने ? तर ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू’ नै समाज, संस्था र सेवाग्राहीको संस्कृति बन्यो । के जसका सेवाका लागि पद सिर्जना गरियो, त्यही सेवाग्राहीले यतिविघ्न विशेषणयुक्त सम्बोधन गरेर सेवा लिनु कति उचित ? खास पद त्यति बढी मर्यादायुक्त सम्बोधनको अपेक्षी हुनहुन्छ ? नैतिक रूपमा ती मर्यादा पदाधिकारीले लिनु हुन्छ ?

जनताका मत लिएर आएका प्रतिनिधि जनताजस्तै भएर जनताकै स्वर बोल्नुपर्ने कर्तव्यमा रहन्छ । निर्वाचित निर्वाचकको वारेस हो तर निर्वाचित हुनेबितिक्कै आफैंले आना अगि ‘माननीय’जस्ता सम्बोधनबाट पहिचान दिने संस्कृति विकास भएको छ । माननीय, आदरणीय, श्रीमान्जस्ता आदरार्थी पद उसलाई अरूले प्रयोग गर्ने हो– त्यो पनि व्यक्तिको व्यवहारका सापेक्षमा । आफैंले बोल्दा, लेख्दा, परिचय दिँदा आदरार्थी शब्दको प्रयोगले पहिचानभन्दा अहम् पहिला पुष्टि हुन्छ । आदरमा अभिमान देखिनुहुँदैन । आना दृष्टिमा आफू नै माननीय, आदरणीय र श्रीमान् बन्न कदापि सक्दैन । मानिस आफूले आफूलाई सम्बोधन गर्दैन, त्यो उसको कर्म, आचरण र संस्कृति सुहाउने कुरा पनि होइन तर पदीय संस्कार र संस्कृति जबर्दस्त बसाइँदै छ ।

धरातल भुल्नु पदको विशेषता हो । पद प्राप्तिपछि आफू उभिएको धरातल भुल्दा मनोवैज्ञानिक तुष्टि मिल्ने गर्छ पदाधिकारीलाई । हात मिलाउनेबाट नमस्कार खोज्छ, नमस्कार आफैं गथ्र्यो, अब नमस्कारमात्र खोज्दैन, मिठा र बनावटी शब्द खोज्छ । तँबाट हजूर र बक्स्यिोस् खोज्छ । हार्दिक भावनाबाट औपचारिकता खोज्छ । मान र मर्यादा खोज्छ तर ऊ भने अरूलाई मान र मर्यादा गर्दैन, सामान्य आदर पनि गर्न भुल्छ । जिद्दी र आदेश गर्छ अनि आफैं जान्ने हुन्छ । अरूलाई, अरूका भावनालाई इग्नोर गर्छ र आफैं मख्खिन्छ । पदको नशा र पदमाथिको रतन्धोपन !

अब त पदका मानिस कवि बन्न थाले, गीत र कविता कोर्न थाले । जीवनी र आत्मकहानी लेख्न थाले । कविता पनि बोल्ने कविता । चित्रका कविता । भाव नभएका कविता, मन नपोखिएको गीत र भावना नबगेको निबन्ध लेख्ने पदका मानिसलाई के भन्ने ? अभावमा पो भाव हुन्छ, परिश्रममा सिर्जना फुल्छ । सुखसयल अनि रामरौसमा भावना कसरी पोखिन्छ ? पोखिए पनि ती कति जीवन्त बन्दछन् ? कति हार्दिक बन्दछन् ? कति प्रेरणादायी बन्छन् ?

घोस्ट राइटिङले पदलाई कवि बनायो । अक्षर र पैसा साटेर पनि कवि र कथाकार बन्न थाले । पदले कलामाथि पनि हिंसा गर्ला भन्ने फैलिएको छ ।पदीय अभिमानहरू कार्यालय र औपचारिक स्थानमा मात्र देखिएन, समुदाय, समाज र परिवारमा पनि देखिन थालेको छ । कला, साहित्य र सिर्जना सर्जकमा पनि देखिएको छ । समाज, समुदाय र संस्थाहरू अभिमानले नभई अरूप्रतिको आदरमा महान् बन्ने हुन् ।

पदमा मदमत्त हुनुहुँदैन । पदले जिम्मेवारी दिने हो– मात दिने होइन । पदमा राप हुन्छ तर ताप दिने होइन । धरातलबाट उठेका व्यक्ति धरातलप्रति अन्यायी बन्नु हुन्न । पद अभिनय र अभिमान होइन । पद क्षणिक हो– जीवन शाश्वत छ । पदका मानिस त अझ विनयशील, सरल र सहृदयी हुनुपर्छ । पद त सिद्धान्त र नियम पनि हो– स्वयम् अनुशासन र कर्तव्य पनि हो । ऊ उदाहरणीय बन्नुपर्छ र झुक्नुपर्छ । ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ ?

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }