सती र द्रोपती
पूजापाठ सकेर तुलसीको मठमा पानी हालीरहेकी सतीसामु हस्याङ्ग फस्याङ्ग गर्दै द्रोपती आइन् । अत्तालिएर बाटोतर्फ देखाउदै लामो लामो स्वास फेर्दै भनिन “उ कौरवहरु । मलाई बचाउनुस” । सतीले चारैतिर नियालिन तर कतै केही देखिएन । डरले हत्केलाले मुख छोपेकी द्रोपतीलाई नियालेकी सतीले भ्रम भयो वा बिरामी छौ तिमी ,मैले त केही देखिन त ? भनिन ।
डराईरहेकी द्रोपतीले यसो चियाएर हेरिन्, त्यहाँ कौरवहरुहातमा तलवार लिएर घोडामा चढी घरको वरिपरि परिकर्मा लगाउँदै कतिन्जेल लुकेर बाँच्दिरहिछस हेर्छौ भनि रहेका थिए । उनले सतीलाई देखाउँदै भन्छिन हेर हेर उ साराका सारा पुरुषहरु कौरवसंगै छन् । यी कुख्यात पुरुषहरुबाट मलाई बचाउ । सारा पाण्डवहरु मेरै अगाडि मरिसके । अव बाँकीपुरुष निकम्मा र कंशका मतियार मात्र छन् ।
सतीले द्रोपतीलाई बिरामी र भ्रमित ठान्दै भनिन् नडराउ म छु भन्दै अंगालोमा हाल्दै कोठामा लगिन । पच्छौरीले मुख छोपेर द्रोपती बसिरहिन ।
सतीले चिया पकाउन थालिन । भान्सामा चिया उम्लदै थियो । बाहिर घत्र्याक्कको आवाज सुनियो । उनले बाहिरतिर हेरिन । सतीले उनको श्रीमानलाई चारजना भुस्तिघ्रेहरुले लतारिरहेका देखिन । श्रीमानको मृत शरीर लतारीरहेको देखेर चिच्चाउदै भनिन हरे ! भगवान मेरा परमेश्वरलाई कसले मार्याे ? उभिएका मानिसहरुले भने “यी बिचरा राष्ट्भक्त रहेछन, त्यसैले षडयन्त्रको शिकार बने ।
दरवारले उनलाई चिन्न सकेन र हत्या गर्याे । सवलाई खोलामा फ्याक्दै थिए हामीले उठाएर ल्याएका छौ “। हे भगवान ! यो देशमा सज्जन र देशको भलो चाहानेलाई किन बाँच्न र केही गर्न दिईदैन ? उनको चिच्चाहठ सुनेर द्रोपती उनी नजिकै आईन तर उनले सती बाहेक कसैलाई देखिनन् । सतीले फतफताउँदै भनिन् । यहाँ दुर्जन धेरै भएर होईन सज्जन निकम्मा र बिकाउ भएर यो देशको दुगर्ति भएको छ । सतीको बिलाप सुनेर द्रोपतीले ठानिन सती बिचरा, बिरामी र भ्रमित रहीछन् ।
उनलेपनि अंगालोमा हालिन र सम्झउँदै भनिन् “यहाँ सवै पुरुष पापी र स्वार्थी छन् । म त यहाँ तिम्रा पति पनि देख्दिन र परमेश्वर पनि “। पीडामाथि नुन छर्कने द्रोपतीदेखि सती क्रोधित भईन र जगल्टा लुछ्न थालिन । द्रोपतीले भनिन, ए छोडनः तिमी भ्रममा छाै।” सबै सबै पुरुष दुर्जन हुन्छन” । सती भन्छिन “सबै दुर्जन हुँदैनन्” ।
अर्काकाे समस्या र पीडा बुझ्दै नबुझने ? ल खा ! सज्जन ल खा! दुर्जन भन्दै तानातान गदागर्दै दुवैजना भुईमा पछारीय । म झसङ्ग भए ! कुखुराकाे भालेकाे डाकाे मेराे कानमा गुन्जियाे । म जुरुक्क उठेर सबैतिर हेरें । न त सती नै थिईन न त द्रोपती । मानसपटलमा बाँकी थियो त त्यही एउटा प्रश्न सत्य वा भ्रम र सज्जन वा दुर्जन ?
-गोपिराम भण्डारी