मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनोहरा खोलाको कटानले बस्ती जोखिममा


  • माउन्टेन खबर
  • बुधबार, असार १५, २०७९
  • 449
    SHARES

१५ असार, काठमाडौं । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् ।

लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव नै परिवर्तन गर्दै काठमाडौँको सिमाना छाडेर भक्तपुरतर्फको जमिन कटान गर्दै आएपछि यहाँको बस्ती जोखिममा परेको स्थानीयवासीले बताएका छन् । केही वर्षयता नदीले आफ्नो धार परिवर्तन गर्दै भक्तपुरतर्फको सिमानामा फैलिँदै जमिन कटान गर्न थालेपछि कतिपयको जग्गा नै खोलामा परेको र बस्ती जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

नदी आसपासका क्षेत्रका करिब एक दर्जन घर टहरा जोखिममा परेका छन् भने यहाँको कुइँकेल गाउँसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । चाँगुनारायण–१ दुवाकोट र कागेश्वरी मनोहरा नगरपालिका मूलपानीको सिमाना भएर बग्ने मनोहरा नदीले भक्तपुरतर्फ कटान गरेपछि स्थानीयवासीले नदीको बहाव परिवर्तन गर्न खोज्दा मूलपानीका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ र भक्तपुरका दुई नगरपालिकाका बासिन्दाबीच विवाद बढेको थियो । बस्ती जोखिममा परेपछि काठमाडौँ र भक्तपुरका तीन नगरका नगर प्रमुख र वडाध्यक्षले मनोहरा नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलेसंयुक्त रुपमा मनोहरा कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । नदीले बस्ती जोखिममा पारेपछि चाँगुनारायणका नगर प्रमुख खत्रीको संयोजनमा तीन वटै नगरपालिकाका प्रमुखले एकसाथ स्थलगत निरीक्षण गरी समस्याको स्थायी समाधान खोज्ने गरी छलफल भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनुभयो ।

नदी कटान क्षेत्रको चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, मध्यपुरथिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्थानीय जनप्रतिनिधि, प्राविधिक, स्थानीय प्रशासन र सरोकारवाला पक्षले निरीक्षण गरी स्थायी समाधान खोज्नुपर्ने बताउनुभएको थियो । मनोहरा खोलाको तटबन्धन निर्माणसहित दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रुपमा अवश्यक पलह गर्नेबारे छलफल भएको चाँगुनारायणका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

निरीक्षणपछि तीन वटै नगरपालिकाका प्रमुखले संयुक्त रुपमा हस्ताक्षर गर्दै मनोहरा नदीले दुवैतर्फ जमिन कटान गर्दै बस्तीसमेत जोखिममा पारेकाले भौतिक तथा मानवीय क्षति हुनबाट रोक्न सचेतना अपनाउन अपिल गर्नुभएको छ । अपिलमा तत्काल कुनै क्षति हुन नदिन सबैमा सचेत रहन आग्रह गर्दै अस्थायी समाधानका लागि आवश्यक पहल गर्ने र दीर्घकालीन समस्या समाधानका लागि तटबन्ध निर्माण गर्नेबारेमा तीन वटै नगरपालिकाबीच छलफल भएकाले सहयोग गर्नसमेत अपिल गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)