१२ साउन, काठमाडौं । ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।
पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पानहरू रहेका छन् भने पुलको चौडाई ११ मिटरको छ । दुई वटा ठूला सवारी साधन सहजरुपमा पार गर्न सक्नेछन् । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल वि.स. २०७३ को असार अन्तिममा शुरु भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भएपनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताउनु भयो । उहाँले पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको बताउनु भयो । उहाँले यसले सिन्धुली, रामेछाप र ओखलढुङ्गा जिल्लालाई जोड्ने र यो स्थानको मुहार फेरेको बताउनु भयो ।
त्यस्तै पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ लगायतका जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताउनु भयो । उहाँले यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने बताउनु भयो । उहाँले पक्की पुल निर्माणसँगै नजिकका जिलमा पर्यटकीय स्थलको सम्भावना बढ्ने बताउनु भयो ।
त्यस्तै पुल बनेपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरु खुशी भएका छन् । पुल निर्माण नहुँदा डुङ्गाबाट नै आवतजावत हुने गरेको, जसले विभिन्न दुर्घटनाहरु निम्तिने गरेकोले अब यी समस्याबाट छुटकरा मिल्ने स्थानीयहरुको भनाइ छ । साथै सामान ओसारपसारका लागि पनि सहज हुने बताए । उनीहरुले किसानको लागि पनि पुलले धेरै सहयोग पुग्ने विश्वास लिएको बताए । किसानले उत्पादन गरेका खाद्यसामग्रीको बजारीकरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
पुलले ओखलढुंगाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यक्तालाई सहज बनाइदिएको छ । सिन्धुली जिल्लाबाट ओखलढुङ्गाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएबित्तिकै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आवत–जावतमा सहज हुनेछ । सुनकोशी नदीमाथिको नवलपुरको पुलले काठमाडौंसँग ओखलढुङ्गालाई जोड्ने निकै छोटो बाटो हुनेछ । बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद रामहरि खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुखसहितको स्थानीय जनप्रतिनिधिहरुले पक्कीपुलको निरीक्षण गरेका थिए ।
