रसुवा,२६ साउन
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयबासीका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दै छ ।
रजिल्ला समन्वय समिति, रसुवामा मिति २०७६ माग २९ गते जिल्लाका जनप्रतिनिधि, हाईड्रोपार कम्पनीका प्रमुख र प्रतिनिधिहरु सहित बसेको बैंठकले सान्जेन जलविद्युत आयोजना निर्माणबाट निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावितमा वर्गिकरण गरि ४.२५, ३.०, १.५ र १ अनुपातमा बाँडफाँड हुने कम्पनीले जानकारी दिएको छ ।
आमाछोदिङमो गाँउपालिकाका वडा नम्बर ५ चिलिमे अति प्रभावित, आमाछोदिङमो गाँउपालिकाका वडा नम्बर ४ गोल्जुङ प्रभावित, आमाछोदिङमो गाँउपालिकाका बाँकी वडाहरु सामान्य प्रभावित र बाँकी सम्पूर्ण जिल्लाबासीलाई न्यून प्रभावितमा वर्गिकरण गरिएको छ ।
निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा असोज ४ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन् । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कम्पनीले एक सय रुपैयाँ अंंकित मुल्य कायम रहनेगरी सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सान्जेन जलविद्युत कम्पनीको अधिकृत पुँजी तीन अर्ब ७५ करोड तथा जारी पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत आयोजनाले ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणले १०.३६ प्रतिशत र रसुवाका सम्वन्धित स्थानीय तहको १.२८ प्रतिशत संस्थापक शेयर छ ।
माथिल्लो सान्जेनबाट १४.८ र तल्लो सान्जेनबाट ४२.५ मेगावाट जलविद्युत उत्पादन हुनेछ । दुवै आयोजनाहरुको औसत प्रतिमेगावाट लागत निर्माण अवधीको ब्याज सहित अनुमानित २० करोड ६९ लाख रुपैयाँ रहेको छ । हाल माथिल्लो सान्जेन आयोजनाको ९६ प्रतिशत र तल्लो सान्जेन आयोजनाका ८७ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । तल्लो सान्जेनको नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हव—त्रिशुली ३ बी २२० केभी प्रशारण लाइनसँग समन्वय गरी निर्माणको काम अगाडी बढाएको छ । सान्जेन माथिल्लोबाट बार्षिक ८ करोड २४ लाख र तल्लो सान्जेनबाट बार्षिक २४ करोड १८ लाख युनिट विद्युत उत्पादन हुने अयोजनाले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकोरुपमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रर्वन्धकमा सनराईज क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल लिमिटेड, रहेको छ।
