शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना


  • माउन्टेन खबर
  • बुधबार, अशोज १०, २०८०
  • 336
    SHARES
तनहुँ । मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।
दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेङ्गुका बिरामी बढेपछि पाँच स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय विद्यालयमा सचेतना जगाउन थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले दिनानुदिन डेङ्गुका बिरामीले अस्पतालमा भरिन थालेको छ, दैनिक बिरामीको सङ्ख्या बढेको छ, अस्पतालमा जनशक्तिले धान्न नसक्ने अवस्था हुँदै गएकाले तत्कालका लागि हामीले नगर तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अस्पतालमा खटाएका छौँ ।” नगरपालिकाले एक डाक्टर, दुई ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “डेङ्गु सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मी खटाउनुका साथै बालबालिकालाई सचेत गराउने उद्देश्यले प्रत्येक विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम फैलाउन थालिएको छ ।” बालबालिकालाई सचेत बनाउन सके रोगको सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित स्वास्थ्यकर्मी खटाइएको उहाँले बताउनुभयो ।
त्यस्तै नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई डेङ्गु सम्बन्धी सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय डेङ्गुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले विद्यालयमै गएर डेङ्गुको संक्रमण नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।
उहाँले डेङ्गु नियन्त्रण रोकथामका लागि  विषादी छर्कने गर्दा मानव स्वास्थ्यमा हानी गर्ने भएपछि स्वास्थ्य सम्बन्धि विभिन्न सचेतना मूलक कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग नियन्त्रणलाई विभिन्न विषादी छर्कदा मानव स्वास्थ्यलाई असर पर्ने देखियो, त्यसैले हामीले सचेतना मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।”
जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित विद्यालयमै पुगेर डेङ्गु सम्बन्धि रोकथाम तथा नियन्त्रण,  खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेत गराउने गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख सोतीले टायर, जार, नाली लगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सरसफाइमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्कर अधिकारीले जिल्लामा हालसम्म एक हजार आठ सयमा डेङ्गुको सङ्क्रमण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी डेङ्गुको सङ्क्रमण व्यासका वडा नं २ र ३ मा रहेको छ, हालसम्म तीन जनाको डेङ्गु सङ्क्रमणकै कारण ज्यान गएको छ ।”
उहाँका अनुसार डेङ्गुको सङ्क्रमण घट्नुपर्ने अवस्थामा पनि बढिरहेको छ । जिल्लाकै मुख्य बजार क्षेत्र भएकाले पनि यहाँ बढी सङ्क्रमण फैलिएको उहाँको भनाइ छ । जिल्लाका दमौली अस्पताल, समाधान अस्पताल, रत्नहरी अस्पताल, व्यास सिटी अस्पताललगायत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार भइरहेको छ भने केही बिरामीलाई पोखरा सिफारिस गरिएको अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)