सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकलका रचनामा स्थानीयता (समालोचनात्मक अन्वेषण पुस्तकबाट)


  • गोपी मैनाली
  • शनिबार, फाल्गुन ५, २०८०
  • 193
    SHARES

रमेश विकलका रचनामा स्थानीयता (स्थानीय रड्ग)
-गोपी मैनाली

विषय प्रवेश
साहित्य स्थानीयता वा आञ्चलिकताबाट प्रभावित रहन्छ । रचनाकर्म स्थानीय परिवेश, प्रकृति, संस्कृति, भाषा–भाषिक, रीतिरिवाज, दैनिकी, जीवनशैली र यी विषयबाट निर्धारित सम्बन्धसंरचना, मनोविज्ञान, सोचसंस्कार र सामाजिक पर्यावरणीय पद्धति (सोसल इकोसिस्टम) को उत्पादन हो । सिर्जना र सर्जक समाज निरपेक्ष रहँदैन, रहेमा त्यो जीवनमयी हुँदैन । तर यसको घनत्वको गाढापन भने फरक रहन्छ ।

सामाजिक स्थानीयताले जव साहित्यलाई रङ्गाउन पुुग्छ, भनौ स्थानीयत्व बोक्न थाल्छ, त्यो साहित्यलाई आञ्चलिक (वा स्थानीयता अन्तरबोध भएको) कहलिन्छ । स्थानीयत्व सामाजिक यथार्थवादलाई गाढा बनाउने पक्ष हो । स्थानीय भौतिक परिवेशको चित्रणले मात्र स्थानीयता वरण हुँदैन, सामाजिकताको चित्रणमा भाव–शिल्पको प्रवेशले सहज प्रवेश पाउँछ, त्यसपछि स्थानीयताले जीवनत्व पाउँछ । स्थानीय रङ्ग र मनको रङ्गको यौगिकताले सिर्जनालाई विशिष्ट, मौलिक, पहिचानीकृत र प्रभावकारी बनाउँछ । त्यसले केही अघिसम्म आञ्चलिक कहलिने प्रवृत्ति अब स्थानीयतामा फैलिएको छ ।

स्थानीयता आञ्चलिकताको विस्तार र विशिष्टरूप हो । आञ्चलिकताका सन्दर्भमा विद्वान् तथा विवेचकहरूको आआप्mनै मत छ तर साररूपमा भिन्नता पाइदैन । समालोचक इन्द्रबहादुर राई उपन्यासको आधार र प्रवृत्ति विश्लेषण गर्ने सन्दर्भमा आफ्नो समालोचनात्मक अन्वेषणमा भन्दछन् ‘आञ्चलिकता लेखन यथार्थवादीबाटैको भङ्गालो हो’ (नेपाली उपन्यासका आधारहरू, पृ १७५) । यर्थावाद विस्तार हुँदै जाँदा देखिने विशिष्टरूपमा आञ्चलिकता अभ्यास हुने गर्दछ । यथार्थ र यथार्थवादको पनि भेद हुन्छ, जसरी आञ्चलिकता र स्थानीयताबीच सूूक्ष्मभेद पाइन्छ । ‘अघि यथार्थ छ, यथार्थवाद छैन । सामाजिक चेतनामा वैज्ञानिक दृष्टिकोणको पनि योग हो यो (ऐ पृ ६४) । त्यसैले सामाजिक यथार्थवादीहरू आञ्चलिकतामा विशिष्ट हुन्छन् ।

समालोचक ईश्वर बराल प्रत्येक स्थानको विशिष्टप्रतीक गुणले अर्को प्रदेशको विशिष्टताबाट छुट्याउने कारण नै आञ्चलिकताको विकास हुने धारणामा छन् । उनका अनुसार ‘स्थानीय भौगोलिक अवस्थिति तथा प्रादेशिक विशेषताले गर्दा प्रत्येक अञ्चल पृथकात्मक हुन्छ । कहाँसम्म भने एउटा अञ्चल आफ्ना छिमेकका अर्का अञ्चलभन्दा पनि बेग्लै छुट्टिन्छ किनभने विभिन्न प्राकृतिक पर्यावरण, जलवायु, निवासी, लोकजीवनका परम्परागत प्रणाली, लोकसंस्कृति, सामाजिक आचारविचार, राजनीति, व्यष्टिको बानीब्यहोरा, समष्टिको बन्दमूल, आस्था, विश्वास, स्थानीय वाग्विधि आदिले गर्दा जुनसुकै अञ्चल होस्, त्यही स्ययंमा एउटा विशिष्ट स्थान भैदिन्छ’ (नेपाली आञ्चलिक उपन्यास औ यहाँदेखि त्यहाँसम्म, ध च गोताम, यहाँदेखि त्यहाँसम्म, भूमिकाखण्ड) । स्थानविशेषका त्यही मौलिकताको चित्रणले साहित्य आञ्चलिक बन्ने गर्दछ ।

समालोचक डा.लक्ष्मणप्रसाद गौतमले आञ्चलिक साहित्यलाई विस्तृत व्याख्या गरेका छन् । ‘निश्चित अञ्चल वा प्रदेश वा स्थान विशेषका रीतिरिवाज, आचारविचार, जनजीवन वा जीवनशैली, वेषभूूषा, संस्कार, संस्कृति, भौगोलिकता, भाषा, जाति र जनजातिहरूका निजी वा मौकिल चालचलन एवम् यससँग गाँसिएर आएका सांस्कृतिक सन्दर्भ आदिको प्रतिबिम्बन साहित्य÷कथामा हुनु त्यो साहित्य÷कथा आञ्चलिक हुनुु हो र यस्तो प्रतिबम्बन भएको साहित्य÷कथालाई आञ्चलिक साहित्य÷कथा भनिन्छ’ (समकालीन नेपाली कथामा आञ्चलिकताको प्रयोग, समकालीन साहित्य डट कम, फेव्रुुअरी २४, २०१७) । डा.गौतमले आञ्चलिक साहित्यको कथामा हुने प्रयोगका सम्बन्धमा मात्र आफ्नो अवधारणा राखेका छन् । साहित्यका सबै विधामा आञ्चलिकता प्रयोग हुन्े गर्दछ तर आख्यान विधामा यसको प्रयोग बढी छ ।

समालोचक इन्द्रबहादुर राई आञ्चलिकताका साथ यसको भावनात्मक र संज्ञानात्मक पक्षमा समेत विस्तार भएर आञ्चलिकताको व्याख्या गर्दछन्, जसले स्थानीयताको अन्तरबोधलाई समेत सङ्केत गर्दछ । ‘आञ्चलिकता नै अञ्चलको यथार्थहरूलाई वैज्ञानिक तटस्थताले होइन, सुधारको आलोचनाले होइन, मानवीय संज्ञानले चिन्नुपर्ने हुन्छ । पारम्परिक र सामाजिक सर्वजनीनताभित्रको हुँदै पनि अञ्चलको आफ्नै जीवन्त प्रतिभा हुन्छ’ (नेपाली उपन्यासका आधारहरू, पृ १५७) । राईको यही जीवन्त प्रतिभा वा मानवीय संज्ञानले साहित्यलाई स्थानीयत्वबोधी बनाउँछ, भनौं साहित्यमा स्थानीयता प्रवेश गर्दछ ।

स्थानीयता र आञ्चलिकता भिन्न हो वा एकै भन्नेमा मत्यैकता छैन । वैचारिक विवाद पनि छ । कतिपय आञ्चलिकतासँग विमति राख्छन् र सीमान्तहरूको साहित्यमात्र स्थानीयतामा समेट्छन् र आञ्चलिक शब्दबाट विमति राख्दाराख्दै सीमित भैदिन्छन् । स्थानीय साहित्य र साहित्वमा स्थानीयता फरक विषय हो तर यसमा विचार वहस गरिएको छैन । आञ्चलिकतामा भौतिक–सामाजिक–जैवनिक विषयले त्यतिवेला स्थानीय रङ्ग पाउँछ, जतिवेला रचनामा स्थानीय माटोको सुवास, भूूगोल र भावनाको एकत्वीकरण, प्रकृतिक बिम्ब र स्थानीय भावना–संवेगले रचना निथ्रुक्क झिज्छ । त्यसैले यसले सीमान्तको मात्र होइन, समग्रको विषयलाई स्थानीय रङ्ग हो । उग्र सांकृतिवादबाट पनि स्वत छुट्टिन्छ ।

कतिपय विद्वान्हरूले यसलाई वस्तुपरकता वा यथार्थवाद भनेका छन् । कतिपयले स्थानीय अनुरागका रूपमा लिएका छन् । अमेरिकी समालोचक अमी काप्लान आञ्चलिकतालाई स्थानीयताको विस्तृतीकरण गर्दै राष्ट्रिय पुनःएकीकरणको माध्यमसम्मको साहित्यिक अभियान समेत भन्न पछि पर्दिनन् । उनका अनुसार स्थानीय संस्कृति, भाषिका, जीवनशैली, रीतिरिवाजको साहित्यमा हुने प्रयोगले (अर्को शब्दमा स्थानीय रङ्गले) राष्टिय भावनाको उन्नयनलाई सघाइरहेको हुन्छ । कतिपय साहित्यकार भने यसलाई क्षेत्रीयतावादको नोष्टाल्जिया मानेका छन् । बङ्गाली साहित्यका समालोचक श्रीकुमार बन्धोपाध्याय रचनामा उद्घाटित खास अञ्चल (भूूभाग) का जीवनयात्रा, रितथिति, सामाजिक अवस्था र प्राकृतिक पृष्ठभूमिका अखण्ड एवम् सर्वव्यापी तात्पर्यलाई आञ्चलिक भन्ने गर्दछन् ।

विश्वव्यापीकृत समाजमा सामाजिक पहिचान, भाषा–भाषिका, प्रचलनहरू, रैथाने रीतिरिवाज, सम्बन्ध व्यवहारका मौलिकता र विशिष्टता जस्ता स्थानीयतालाई साहित्यले बचाउने गर्दछ । जस्तो कि मरिमा इजवर्थको क्यासलरेकरेट, एण्ड्यु ओ हासोनको माइफ्लाइज, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुुनामदन, शंकर कोइरालाको खैरेनीघाट, घ च गोतामेको यहाँदेखि त्यहाँसम्म, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, ओम रिजालको हटारु आदि । आञ्चलिकता वा स्थानीयता झल्किने साहित्यले पनि कसैले भाषिकता, कसैले कथानकलाई त कसैले चरित्रलाई प्रधानता दिएका हुन्छन् । सबै पक्षलाई ध्यान दिइएका कृतिहरू कमै पाइन्छन् । फेरि स्थानीयताको अर्थ रैथाने साहित्यको अर्थमा मात्र लिइनुु पनि हुन्न ।

यसर्थ साहत्यिमा स्थानीयता आञ्चलिकताभित्रका समष्टिगत दृष्टिवोध हो, अञ्चल वा स्थानको आभ्यान्तरिकताबोध हो, न कि सामाजिक संरचनाको चित्रण मात्र । सोसल इकोसिस्टमका समग्र भौतिक–भावनात्मक पक्षहरूको प्रवेशले स्थानीयत्व पाउँछ । यो नै साहित्यमा स्थानीय रङ्ग हो, जसले समाजमा देखिने गरी–नदेखिने गरी रहेका, मूर्त–अमूर्त विविधताको पहिचान, सम्मान र उपयोग गरी समग्रमा स्थानीय जीवन्तता दिएको हुन्छ ।

के भए साहित्यमा स्थानीय रङ्ग देखिन्छ वा स्थानीयता देखिन्छ भन्नेमा एकमत नभए पनि बीसौं शताब्दीमा विकास भएको स्थानीय रङ्गका आख्यानहरू मनन गर्दा (क) परिवेश, (ख) पात्र वा परिवेश, (ग) कथ्य (न्यारेशन), (घ) कथानक, (ङ) विषय र (च) सम्वादलाई स्थानीयताका संरचना (अवयव) भन्न सकिन्छ । प्रयोकर्ताहरूले यी संरचनालाई अन्तरबोध गरेर नै जीवनशैलीको विविधता, सामाजिक सम्बन्धका संरचनाहरू, रीतिरिवाज र चालचलन, कथन–सम्वाद र पारिवेशिक रैथानेपन (मौलिकता) लाई उन्नयन गरेका हुन्छन् ।

रविकिरण अधिकारीले रमेश ‘विकलका उपन्यासमा उपन्यासमा आञ्चलिकता’ नामक शोधप्रवन्धमा आञ्चलिकताका तत्वका रूपमा ‘(क) भूूगोल तथा प्रकृति, (ख) समाज, संस्कृति र लोकतत्व, (ग) आर्थिक तथा समाजिक अवस्था, घ) ऐतिहासिक सन्दर्भ, (ङ) मनोभाव तथा सौन्दर्य र (च) भाषा’ लाई लिएका छन् । (रविकरिण अधिकारी, शोधप्रबन्ध, पृ २४–२९) । अधिकारीले आञ्चलिकतालाई सबै आयामबाट विश्लेषण गरी स्थानीयतासम्म विस्तार गरेका छन् ।

यसर्थ समालोचकीय दृष्टिमा स्थानीयताको विश्लेषण–विवेचना गर्दा निम्न चार पक्षमा केन्द्रित रहनु सान्दर्भिक हुन्छ ः
य अन्तरवस्तुमा स्थानीयता,
य पात्र चयन, नामकरण र चरित्र कार्यमा स्थानीयता,
य परिवेश चित्रणमा स्थानीयता,
य भाषिक प्रयोग र सम्वाद विधानमा स्थानीयता ।

रमेश विकलका कथा–उपन्यासमा स्थानीयता
विकल मूलतः सामाजिक यथार्थवादका चित्रकार हुन् । उनका कथा, उपन्यास, नाटक र निबन्धहरूको नाता समाजसँग छ । सामाजिक यथार्थवादीहरू सामाजिक सम्बन्ध, शक्ति विन्यास, रीतिरिवाज, जीवनकर्म र दैनिकीहरूलाई केलाउने गर्दछन् । जीवनचर्या र दैनिकीमा रहने सुखदुख, आफ्नोपन, मेला–मनोरञ्जन, खानपिन, माया–प्रीति, सम्बन्ध संरचना, सम्वादशैली, भावभङ्गी, प्रतिक्रिया–प्रतिरोध, सङ्घर्ष, उत्पादन–उपभोग आदि विषयमा स्थानीयतालाई यसरी उठाइएको छ कि पाठकहरू त्यही स्थानीय परिवेशको पात्र बनेर समानुुभूूति लिने गर्दछ । स्थानीय सोचसंस्कार र भावना–संज्ञानलाई स्वाभाविक रूपमा उठाइएको छ । त्यसैले ती स्थानीयत्वले भरपूर छन् । उनका निबन्ध–नियात्रा र संस्मरणमा व्याख्यामा पनि सीमित रूपमा स्थानीयता पाइन्छ तर त्यहाँको म पात्र बेग्लै रूपमा प्रयोग हुन्छ, कथानकता पाएको हुँदैन । तर उपन्यास र कथामा भने स्थानीयताको तत्वहरू स्पष्ट देख्न सकिन्छ । स्थानीयताका तत्वहरूलाई विधागत रूपमा संक्षिप्त उल्लेख गरि विश्लेषण गरिन्छ ।

(क) अन्तरवस्तुमा स्थानीयता निर्वाह ः अन्तरवस्तुुमा स्थानीयताका लागि पहिला उनका उपन्यासतर्फ हेरौं । उनको पहिलो उपन्यास सुनौली हो । यसले ग्रामीण र शहरी परिवेशका अन्तरवस्तुहरू उठाएको छ । गाउँको अन्तरवस्तु सामान्य जीवनशैलीको दिनचर्या, मेलापात, सामान्य र सरल जीवन यापन हो । गरिबी र पारिवारिक पीडाको गोरे बमजन सुनौलीको जीवनलाई सुुखमय बनाउने साना सपना देख्छ । यहाको अन्तरवस्तु समान्य सपना, सामान्य जीवन सङ्घर्ष, परिश्रम, घासपानी, मेलापात हो । गरिबी र दुखमा रहेको गोरे बमजन कृष्णलाई भन्छ – ‘अँ, नानी, तँसंग साँच्चै एउटा कुरो । यो सुनौलीलाई त्याहुँदो कतै दरबारसरबाराँ हालिदिन मिल्दैन ? मिल्छ भने लौन बाबै बिचार गर । यसले सहर हेर्ने बिघ्नै रहर गरेकी छ ।’ सुनौली, पृ १९) । शहर नपसेसम्म सुनौली पनि सामान्य जीवन, प्राकृत जीवनमा छ ।

गोरे बमजन निश्छल र सरल व्यवहारमा छ । घण्टौसम्म कृष्णेले जवान छोरी सुनोलीसंग कुराकानी गर्दा पनि कुनै सन्देह राख्दैन । कर्णेलको छोरोले जिस्क्याँउदाको प्रतिवादमा सुनौलीले लिएको प्रतिवाद शैली पनि अन्तरवस्तुको निर्भीकता र स्वच्छतामा छ । ऊ भन्छे ‘ठूलो मान्छे भ ेर अर्कालाई मनपरि गर्न पाइन्छ त ? त्यसको नोकर्नी हुँ र म ? शहरका लखौरीलाई जिस्क्याएको हो यहाँ ?’ (ऐ पृ १०) । गोरे बमजनको विचार, शैली, टुहुरी छोरीलाई गरेको व्यवहार, परिश्रम, मोहीयानी खेती, मेलापात, घाँस दाउरा र सुनौली गर्ने कुुचो कसेर, पानी, खाना, आदि स्थानीय अन्तरवस्तुलाई स्वाभाविक रूपमा प्रतिबिम्बन गरिरहेका छन् ।

तर कृष्णबहादुरसंग सुनौली काठमाडौं भागेपछि भने उपन्यासले शहरको स्थानीयता बोक्न थाल्छ । शहरको पनि विकृत पक्ष, धनाड्य परिवारका विग्रेका सन्तान, यौन विकृति र यान्त्रिक व्यवहार, स्वार्थ सम्बन्ध छ । शहरका शालीन र सभ्यपक्षमा उपन्यास गएको छैन, किनकि सुनौलीको मनोभावना र दमित इच्छासँगै उपन्यास गतिशील छ । यसर्थ सुनौलीको ग्रामीण पक्ष जति सशक्त छ, शहरी पक्ष छैन ।

अविरल बग्दछ इन्द्रावतीको अन्तरवस्तु ग्रामीण जीवनशैली, खेतीपाती र सरल सम्बन्ध र रैथाने वृत्ति व्यवहार हो । यहाँको सामाजिक सम्बन्धका तीन पाटा छन्, एउटा शोषण, छलकपट, परपीडामा रमाउने काजी खलक, अर्को इन्द्रावतीका माझी–दनुुवार, जो आफैमा प्राकृतिक–परिश्रमपूर्ण जीवन बिताइरहेको छ । माझी–दनुवारहरूका रैथाने सीप र संस्कार पनि छन् । अरूलाई भनी नबिझाउने, साझो प्रकृतिका जनजाति हुन यिनीहरू । अर्को ब्राह्मण क्षेत्री समुदाय छ, चेतनशील तर स्पष्ट दृष्टिकोण छैन । सामाजिक शोषण–उत्पीडनको भागेदारीमा पनि छ, कोही तावेदारीमा छन् । सबैका आआफ्नै दिनचर्या छन् । इन्द्रवतीको अविरल प्राकृतिक गतिलाई अन्तरवस्तुको प्रतीक बनाइएको छ । सामाजिक सांस्कृतिक सम्बन्धको समन्यायिकताको चाहना तर वर्गीय विभेद यसको अन्तरवस्तु हो । उपन्यासका सहायक कार्यहरूले वर्गविभेदप्रति विरोध जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची, भिउँटार, जोगिटार, सिपाघाट, बाहुनेपाटी, बाडेगाउँको परिवेशले कथाभूमि पाएको छ । उपन्यासको अन्तरवस्तु प्राकृतिक रूपमा रहेको मेलँची किनारको माझी–दनुवार बस्ती हो । उन्यासकार उपन्यासको सुरुमा त्यहाँको जीवनशैली यसरी उतार्छन ः
‘….पारि बाहुन गाउँका घाँसीहरू, अथवा पूर्व चौतारा, सिन्धु, सिपातिर भैंसी लिनजाने, चौतारा अड्डामा तारिख धान्न जाने मान्छेहरूको खेप चालूभए नभएको अडकल गर्न सक्यो । अनि साथै पारिगाउँबाट झर्ने वन र बुट्यानका बीचका लुकामारी खेल्दै झरेको रातमाटे, गोरेटोमा चरन झर्न लागेका डिँगाहरू, तिनका पुच्छर निमोठ्तै पछि लागेका गोठालाहरू, रुखचढी स्याउला घाँस काट्न लागेका घाँसीघँसिनीहरूको झझल्काहरूको ..’ (पृ १) ।

त्यहाँका बासिन्दा इन्द्रावती नदीलाई आमा समान मान्दछन् । ‘मिलौँचेदेखि दोलालघाटसम्म फैलिएका माझीहरूका आमा नै हुन् इन्द्रावती’ (पृ १६५) । माझीको साहरा हो इन्दावती । तर इन्द्रावती रिसाएर माझीको पसिना पखाल्छ, सँधैभरि काजीखलकले शोषण गरेर माझीहरूको पसिना चुस्छन् । यही स्थानीय अन्तरवस्तु अविरल बग्दछ इन्द्रावतीको हो, जसलाई सोभिते, लालगेडी, भूमा, त्रिलोचनसिंह, देवू पनेरुहरूले कार्यात्मक रूप दिएका छन् । प्राकृतिक विपत्ति र मानवीय शोषणको भावभूमि छ । माझीहरू कुुत–ठेक, बेठ–वेगारी, डुुङ्गा–माछा–जाल, खोरिया खेती, ज्यालापात गर्ने, सिस्नु, निउरो, जलेको, भ्याकुर टिप्नु, सुँगुर पाल्नुुमा दैनिकी बिताएका छन् । परिश्रममा खुसी छन् । यदाकदा देखाउने नदीको रौद्ररूपको वितण्डा र काजीखलकको निरन्तर शोषण (आर्थिक, भौतिक, श्रम र यौवन) ले अविरल बग्दछ इन्द्रवतीको अन्तरवस्तु चलायमान छ ।
यसले स्थानीयतालाई सम्पूर्णतः प्रतिबिम्बन गर्ने अन्तरवस्तु उठाएको छ । त्यसैले उपन्यासको अन्तरवस्तुमा स्थानीय रङ्ग भरिएको छ ।

सागर उर्लन्छ सगरमाथा छुन नेपाली संस्कृतिको चोखोपनलाई अन्तरवस्तुमा राख्ने काथामा आधारित छ । यस केन्द्रीय भावलाई समर्थन गर्ने अन्य शासकीय, सामाजिक, राजनैतिक र व्यापारिक पक्षहरू समेटिएका छन् । हाइनरिख, कृष्णराजा, चेतना र डा. कमल नेपाली संस्कृतिको पक्षमा छन् भने राणा परिवार, लक्ष्मी शाह, प्रशासक, व्यापारी र विदेशी नियोगका कर्मचारी विपरीतमा सम्भ्रान्त भनौ वा मयुर संस्कृतिका पक्षधर छन् । आदर्श पात्रहरू कृत्रिमता, ढोंगी, आडम्बरी व्यवहारमा छन् । स्थानीयताको पक्ष संस्कृति, सम्बन्ध व्यवहार, मानवता र शासकीय पक्षमा हेर्न खोजिएको छ । त्यसलै अन्तरवस्तुको विशिष्टीकरणमा अविरल बग्दछ इन्द्रावती जति सघन छैन ।

हाइनरिखका लागि मगाइएकि युवती आफू विकृत संस्कृत संस्कृतिमा रहन बाध्य भएकिछे तर नेपाली संस्कृतिको चोखोपन र हिन्दूनारीत्वमा सचेत छे । हाइनरिखमा देखिएको आदर्शमा ऊ भन्छे ‘मलाई तपाईप्रति होइन, आफैप्रति विद्रोह छ मिस्टर । आफैप्रति र आफ्नो परिपाटीप्रति । भन्नोस् त, यसरी आफ्नो शरीर तपाईजस्ता विदेशीको हातमा बेचेर समाजमा सम्भ्रान्त र सभ्य, इज्जतदार र सम्पन्न भनाएर बाँच्ने बाध्यता कुन परिपाटीले हामीमाथि लादेको छ ? किन हामी यस्तो नक्कली सम्भ्रान्ता ओढेर बाँच्न, नक्कली सभ्यताको मोहमा आफूलाई मेटाइदिन बाध्य भएका छौं, तपाई भन्न सक्नुहुन्छ ? यो परिस्थिति कसले सिर्जना गरेको हो ? कसले यसको खोजीवारी गर्छ ? (सागर उर्लन्छ सगरमाथा छुन्’ (पृ ७०) ।

विकलका कथाहरूको अन्तरवस्तु स्थानीयतामैत्री छ । पहिलो कथा गरिबदेखि नै सामाजिक यथार्थताभित्रको आलोचनात्मक पक्ष उनको कथाकारिताको मूल विषय हो । गरिब, आँसुले भिजेको हाँसो, लाहुरी भैंसी, दुुई रुपियाँ नोट, वीरेकी आमा, भन्ज्याङको चौतारो, नयाँ सडकको गीत, सुुवेदार रणे बुढो लगायतका कथाहरूमा गरिबी, सामाजिक आर्थिक उत्पीडन र त्यससँग गाँसिएर आएका स्थानीय तत्वहरू छन् ।

मेरी सानी भतिजी प्रतिमा, उसले नजन्माएको छोरो, फुटपाथ मिनिस्टर, शव सालिक सहस्र बुद्ध, नपुुङ्सक बाँझो धर्ती…, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा, मोड, बिहानी पखको बत्ती, विचरा भद्र मानिस जस्ता कथाहरूको अन्तरवस्तु मनोवैज्ञानिक छ । मनौवैज्ञिानिक समस्या उजागर गर्ने कथाको स्थानीयता पत्ता लागउनु असजिलो हुन्छ । त्यो असजिलोपन ल्याउन स्थानीय समाजले गरेको विशिष्ट उपज यस्ता कथा हुने गरेका छन् । जस्तो विचरा भद्र मानिसमा भद्र मानिस वास्तवमै भद्र छ, तर पारिवारिक अवस्थामा उसले गर्ने व्यवहार र उसमाथि गरिएको व्यवहार सामाजिक व्यवहारको उपज हो । त्यस्तै फुटपाथ मिनिस्टरमा गोरे, किटीहरू सडक बालबालिका व्यवहारमा स्थानीय भाषा, संस्कृति र व्यवहारमार्फत स्थानीयताको कार्यव्यापार गरिरहेका छन् ।

‘आफ्नै धर्तीलाई छुन खोज्दा’ अन्तरवस्तुमा स्थानीय रङ्ग भएको बेजोड कथा हो । दार्चुलाको स्ािमा क्षेत्र, बिलु ठगुन्ना, ऐरसिंह धामी, मास्टर मनिराम विष्ट, ज्ञानी व्यहोरा र ध्यानसिंहले सीमाको अन्तरवस्तु उठाएका छन् ।

विकलका तेस्रो प्रकारका कथाहरू यौनमनोविश्लेषणात्मक समस्यामा भुतभुतिएका छन् । यस्ता सबै पात्रहरूको समान प्रकृति ब्राह्मण–क्षेत्रीय समाज र त्यसभित्रका व्यवहार हुन् । जुन अर्को सांस्कृतिक समूहमा हुुँदैनथियो होला । मेरी कान्छीमाइजू, उर्मिला भाउजू, रानी साहेवको तस्विर, उसले नजन्माएको छोरो जस्ता कथाको अन्तरवस्तु यौनमनोदशा हो । त्यहाँबाट मुक्ति खोज्नका लागि पात्रहरूले सङ्घर्ष गरिरहका छन् । यौनमनोदशाका स्वरूपहरूमा पनि सामाजिक विविधता छ ।

यसर्थ अन्तर्वस्तुका दृष्टिमा विकलका कथा तथा उपन्यासहरूमा स्थानीयता पाइन्छ तर सबै कथा÷उपन्यासमा समान रूपमा पाइँदैन । उनको रचनाकारिताको चरण विभाजन अनुसार पहिलो चरणको अन्तवस्तु सामाजिक उत्पीडन, गरिबी र शोषण हो, दोस्रो चारणमा त्यो अन्तरवस्तु भौतिक समाजबाट मानसिक परिवेशमा खुम्चिन्छ भने तेस्रो चरणमा भने विविधतामुखी भएर छरिन पुुग्छ । यस उसले प्रथम चरणका तुलनामा स्थानीयताको निर्वाह अर्को चरणमा पाइन्छ ।

(ख) पात्र चयन र चरित्र कार्यमा स्थानीयता निर्वाह ः स्थानीय वा आञ्चलिकताको अर्को महत्पूर्ण पक्ष स्थानीयता प्रतिनिधित्व गर्ने पात्र हो । विषय र अन्तवस्तु अनुरूपको पात्र चयन, पात्र नामकरण र पात्रकार्य निर्वाहले स्थानीयतालाई सही प्रतिबिम्बन गर्नुका साथै विषयबोधलाई स्वाभाविक बनाउदछ । स्थानीयताको रङ्गले विषयलाई अन्तरबोधी स्वाभाविक बनाउँछ । जस्तो कि मुनामदनका मुना र मदनले कथाअन्तर्वस्तुको स्थानीयकरण र आन्तरिकीकरण गरेका छन् ।

विकलका रचनामा पात्र चयनमा सावधानी अपनाएको पाइन्छ । सुनौलीको गोरे बमजन, सुनौली, कृष्णे, कर्णेल, साइली ड्राइभर्नी, सिंह, प्रेमसाहव लगायतका चरित्रहरूको उमेर, अवस्था, वर्गीयता यसरी सन्तुलनमा ल्याइको छ कि तिनले कार्यव्यापारलाई निर्दिष्ट गर्न सकुुन । अविरल बग्दछ इन्द्रावतीका पात्रहरू नामैले स्थानीयता वोक्न र चरित्र कार्य गर्न सक्षम लाग्छन् । बुढाकाजी नामैले शुद्ध सामन्तवादको प्रतीक हो, सानोकाजी जोदाहा र हैकमवादको परिचायक हो, भूमा माझी परम्परा र परिवर्तनको सङ्क्रमण हो, सोभिते, लालगेडी विद्रोह र स्वाभिमानका बिम्ब हुन् । पात्र चयनमा वर्गीय, जातीय, उमेरगत र कार्यगत विशिष्टता पाइन्छ । अन्य रचनामा भन्दा स्थानीयतको रङ्गमा अविरल बग्दछ इन्द्रावती विशिष्ट छ । सागर उर्लन्छ सागरमाथा छुन विविधतामुखी विषय समेटिएको उपन्यास हो । इच्छित काम गर्ने डा.कोमल, चेतना र हाइनरिख र अनिच्छित कार्यचरित्रका चम्पक, रूपक, इलेनहरू नामैले पहिचानमा छन् तर लक्ष्मी शाह र कृष्णराजामा यो अनुमान मिल्दैन । कृष्णराजा राणा सम्भ्रान्त परिवारमा भएर पनि राणा परिवारको शोषण, सम्भ्रान्तता र कलुषित शक्ति सम्बन्धको विरोधमा छ । उच्च चेतनाका कारण कृष्णराजा असल कार्यमा अभिमुख छ । लक्ष्मी शाह सम्पन्न परिवारमा हुर्किएकी, लिङ्कन स्कुलमा पढेकी, कन्भेन्ट संस्कारमा रमेकी र देशविदेश घुमेकी कारण मयुर संस्कृतिमा पाखण्डी छे ।

कथाका पात्रहरू उपन्यासका भन्दा उपयुक्त योजनमा छन्, जसले कथाको विषय र स्थानीयतालाई सम्ंबोधन सजिलै गरेको छन् । लाहुरी भैंसीको लुखुरे, द्वारे र रामे नामैले कार्यव्यापारका सहज परिचायक छन् । लुखुरे गरिब, परिश्रमी र सोझो छ, द्वारे सम्भ्रान्त, शोषक र पीडक अनि रकमी लाग्छ, रामे चाटुकारिताको परिचय हो । गरिब को माने, मुखिया र काले क्रमशः सरल र परिश्रमी, शोषक र कुटिल एवम् अनुचर र चाटुकारितामा देखिन्छन् । फुटपाथ मिनिस्टरका गोरे, टिकी, जघने र भोटे, एउटा बुढो बकैनाको रुख को बालक पात्र, उसले नजन्माएको छोरो का मधुुसूदन र सावित्री, सिँगारी बाख्रो को सिँगारी र पण्डित–पण्डितनी, उर्मिला भाउजूकी उर्मिला आदि कथा आशयपूर्तिका उपयुक्त पात्र हुन् । उनीहरूले गरेको कार्यव्यापारले स्थानीयतालाई प्रतिबिम्बन गर्दछ । दृष्टान्तका लागि सडक बालिका किटी गोरेलाई भन्छे ‘त्यो मोरो जघने असाध्यै नजाति छ । मलाई त्योसँग सुत्नै मन लाग्दैन । जहाँ गए पनि पछि पछि लाग्छ, छोडदै छोड्दैन । त्यसको जिउ कसरीडुङडुङ गन्हाउँछ’ (रमेश विकलका प्रतिनिधि कथा, पृ २०४) । जिज्ञासामा गोरे भन्छ ‘जघने तिम्रो दाजुहो ?’

प्रतिउत्तरमा किटी भन्छे ‘के को दाजु त्यो मोरो माग्ने । मेरो त दाजुनै छैन, बा, आमा पनि छैन मरिसक्यो । मेरो कोही पनि छैन । घैँटे्, कप्तान, चिप्रे, पनि कोही होइन ।’ (ऐ पृ २०७) ।

त्यस्तै उर्मिला भाउजू को माधव उर्मिलाको चरित्रमाथि प्रश्न उठेको चर्चापछि उर्मिलालाई भन्छ ‘उर्मी तिमीमाथि मानिसहरू जुन किसिमले कलङ्को ध्वाँसो पोत्न थालेका छन्, त्यसमा सत्यको मात्रा कति छ मलाई थाहा छैन । तर मेरो छाती त्यति साँघुरो छैन, तिमी नअत्तालिऊ । साँचै मलाई यसले रांैजत्तिपनि डगाएको छैन ।’ (ऐ पृ ६२)

‘फुटपाथ मिनिस्टर’ का किटी, गोरे निसहाय सडक बालक, स्वाभाविक रूपमा सडक बालकले पाउने दःुखको कार्य व्यापार गरिरहेका छन् । उनीहरूको भाषा, सम्वाद र स्तरले निश्छलता व्यवहार गर्दछ । तर ‘उर्मिला भाउजू’ का माधव र उर्मिला दुवै शिक्षित र परिपक्व पात्र हुन्, त्यसैले उर्मिलाको चरित्रमा कलङ्क लागेपनि माधव त्यसलाई सहज स्वीकार्छ । उर्मिलाको व्यवहार पनि सचेत छ । ‘रानीसाहेवको तस्विर’ का बाबुसाहेव आफ्नी बितिसकेकी श्रीमतीको प्रतिरूप आप्mनी जवान छोरी मालतीमा देख्छ र राति मालती निदाएको वेलामा उसको विछ्यौनामा जान्छ र नराम्रो व्यवहारको आशय राख्छ ।

मालती चिच्याएपछि बाबुसाहेव भन्छ ‘म छोरी । तिमी सपनामा चिच्याइछौ अनि म आएको ल नडाराईकन सुत’ (हिमालको छहरा समुद्रको छाल, पृ ३६) । बाबुसाहेव बाहेक अर्का चरित्रको बुुबाले छोरीमाथि मर्यादाको सीमा काट्ने हैसियत राख्छ ? मालती जस्ती त्यो घरानाकी छोरी नभएको भए बुुबामाथि पहिल्यै विद्रोह गर्दिनथी र ?‘आफ्नै धर्तीलाई छुन खोज्दा’ मा उल्लेख भएका बिलु, ऐरसिंह, प्रतीक गुएँली, ज्ञानी बोहोरा, मास्टर मिनबहादुरहरू स्थानीयतालाई आत्मिक रूपमा बोकिरहेका छन् । अन्य कथाहरूमा पनि यही प्रकारको चरित्र उपयुक्तता देखिन्छ, जसले चरित्रव्यापारका साथ स्थानीयतालाई प्रतिबिम्बन गर्दछ ।

त्यस्तै पात्रको नाम चयनमा पनि स्थानीयताको राग–रङ्ग छ । लुरे, लुुखुरे, गोरे, घैंटे, रामे, माने, सोभिते, चिप्रे, भोटे, कृष्णे, ठूले लगायतका नाममा एकार थपिएका पात्रहरू गरिब, निमुखा, सीमान्तीकरण र उत्पीडनमा परेका पात्र हुन्, जसले स्थानीय सस्कार र संस्कृति बोकिरहेका छन् । माया गरेर महिलाहरूलाई उर्मी, लालगेडी, बाटुली, सुनौली, किटी, सावित्री आदि भनिने समाजिक संस्कारलाई विकलले स्पष्ट प्रतिनिधित्व गराएका छन् । मङ्गलमान, मास्टर, पण्डित, हाकिम, मधुसूदन अर्को प्रकारका सामाजिक पहिचान बोक्छन् भने द्वारे, मुखिया, बाबुसाहेव, मैयासाहेव, सिंह, प्रेमसाहव, कृष्णराजा, चम्पक, रूपक नमैले घरानिया हुन् । त्यस्तै उर्मी, इलेन, मार्लिन, मैयासाहेव, झुनुुरानी, जस्ता नारी पात्र नामैले खानदानी वर्गको सामाजिक तहसोपानलाई प्रतिनिधित्व वर्दछन् । इलेन त नामकरणमै सांस्कृतिक विचलन र देखासिखीको प्रतीक पनि हो । खिनौरी, श्यामली, लालगेडी, काली, बाटुली आदि सीमान्तीकृत समुदायका नारी पात्रको पहिचान बोकिरहेका छन् ।

यसर्थ पात्र चयन, नामकरण र चारित्रीकरणमा विकलले स्थानीयता, वर्गीयता, सामाजिक संरचना र कार्यवृत्तिलाई सम्बोधन गराएका छन् । गुरुप्रसाद मैनालीले प्रतिनिधित्व गरेको सामाजिक यथार्थता साहितको स्थानीयतालाई विकलले विस्तृत रूप दिएका छन् ।

(ग) परिवेश चित्रणमा स्थानीयता निर्वाहः कथा÷उपन्यासका घटनालाई जीवन दिने अर्को आधार परिवेश चित्रण हो । यसले कथानकलाई प्रभाव पार्ने काम गर्दछ, पाठकलाई घटना र विषयसँग नजिक्याउँदछ । परिवेश चित्रण जति वास्तविक भयो, त्यति नै विषयवस्तु र चरित्रकार्यले सजीवता प्राप्त गर्दछ । स्थानीयताका लागि यसले पर्यावरण बनाँउछ । जसरी एउटा कलाकारले क्यान्भासमा विभिन्न रङ्गहरू भरेर कलालाई उद्देश्य नजिक पु¥याउँछ, परिवेश चित्रण पनि विषयबोध गराउन त्यस्तै विविध रङ्गको काम गर्दछ ।

रमेश विकल आफ्ना उपन्यास तथा कथामा परिवेश चित्रणमा स्थानीय रङ्ग वा विशिष्टता उन्नयन गर्न कुुसाग्र छन् । सुनैली उपन्यासको पहिलो अनुच्छेदमा नै ग्रामीण परिवेश त्यहाँ स्थानीयपनलाई प्रकृतिको साहारामा उल्लेख गर्छन् । ‘झुल्के घामको सुनौला किरण पानी तर्केझैं गोरे बमजनको घरको पराले छानाबाट आगनमा झर्छ । ढुङ्गा र माटोले चिनेको सानो एक तले घर त्यसको अगाडि एउटा सानो आँगन । आँगनको उत्तरपट्टि कुनामा मल–खाडलनिरै मलको थुुप्रो, त्यसको नजिकै गाई गोरु बान्ने छप्परभित्र पत्करको थुप्रो । दक्षिणपट्टि बारीको डिलको बकैनाको रुखमा मकैको थाँक्रो’ (सुनौली, पृ. ५) ।

यो दृश्यबिम्ब नेपाली गाउँ घरका सबै बस्तीमा देखिने गर्दछ । यसमा कत्तिपनि कृत्रिमता छैन । सामान्य परिवारको घरको यो बिम्ब हो, जसलाई झुल्के घामका किरणसाथ रङ्ग भरिएको छ । गोरे बमजनको घरको चित्रणमा स्थानीयहरूले अपनाएको वास्तुशास्त्र, खेती किसानीर पशुपालनको अवस्था याने कि अर्थशास्त्र, समाजशास्त्र, सांस्कृतिक मूल्य, मनोविज्ञान जस्ता कुराहरूको जीवन्त उपस्थिति छ । अर्थशास्त्रको स्थानीयकरण छ, सामाजिक–सांस्कृतिक कुराहरूको स्थानीयकरण छ र भावनात्मक पक्षबाट अन्तरबोध गरेको देखाएको छ । यो दृश्यबिम्ब स्थानीयताको सटिक दृष्टान्त हो । यो स्थानीयता सुनौलीको यात्रा र जीवनकार्यसँग बदलिदै प्रत्यक्षीकरणमा छ । सुनौली भाग्दा, शहरमा कनक बन्दा, फेरि दःुख पाएर सुनौलीको अवसान हुँदासम्म तत्तत परिवेशको स्थानयिता बोक्दै हिड्छ ।

कथावस्तु, घटना र पात्रकार्यमा ठूलो भिन्नता रहेपनि स्थानीयताको सन्दर्भमा गरेको परिवेश चित्रणमा भने समानता पाइन्छ । अविरल बग्दछ इन्द्रावती को सुरुवात यसरी भएको छ ‘…अनि यही निरीह माझीवंशको अहिलेको सबैभन्दा बुज्रुक र बूढो भूमा माझीले आँगनका डिलमा उभिएर हत्केलाले निधारमा छहारी पार्दै तल खोलाको फाँटतिर हे¥यो । उसको गाउँमुनि दक्षिण बेँसीमा बग्ने यस विशाल खोलो इन्द्रावतीको बगर बिहानको कमलो घाममा अहिले सफा सेतो नैनसुतको थान फैलाएर सुकाउन हालैझैँ लाग्दथ्यो ।बगरको बीच–बीचमा ठाउँ–ठाउँमा भँगाला परेर विलक्षण नाग–नृत्य गर्दै बगिरहेको इन्द्रावतीको पूर्ण गर्जन त यहाँसम्म सुनिँदैनथ्यो, तर त्यो सुसाएको स्याइँ–स्याइँ भने अजिङ्गरको सुस्केराझैँ सुनिन्थ्यो’ (अविरल बग्दछ इन्द्रावती, पृ.१) ।

उपन्यासको विषय छिप्पिदै गएर मध्यभागतिर पुुग्दाको परिवेश चित्रणले कथाको मध्य, विषयको उत्कर्ष क्रमलाई प्रकृतिसँगै सहारा लिएर उल्लेख गरिएको छ । ‘सूर्य अब मध्याह्नबिन्दुुबाट एक अंश पश्चिमतिर ढल्किसकेको भए पनि त्यसको वैशाख मासको प्रखरतामा कमी आएको ठम्याउन गाहो पथ्र्यो । पानीमा पसेको निकै भैसकेकोले अब शरीरले केही थकाइ अनुुभव गर्न थालेको थियो’ (ऐ पृ १२०) ।

उन्यास अभीष्ट प्राप्ति नभै टुङ्ग्याइएको छ (वास्तवमा टुुङ्गिएको छैन) । यस अवस्थामा परिवेश चित्रणले उपन्यासको कथा, नटुड्गिएको कहानी, नभेटिएकी लालगेडी र झण्डै निराशामा रहेको उपन्यासको प्रधान चरित्र सोभितेलाई इन्द्रावतीको अविरलतासँग देखाइएको छ । ‘सोभिते इन्द्रावतीको बगरैबगर–त्यसैको अविरल प्रवाहको दिशामा हिँड्यो । उसका दृढ पाइलाहरू बगरका बालुमा अङ्कित हुँदै जान्छन्–असङ्ख्य, असङ्ख्य । एउटा कालो अतित उसको पछाडि छुट्तै जान्छ, एउटा सुनौलो भोलि क्रमशः उको निकट आउने छ । ..ऊ त्यसलाई भेट्न आफ्ना पाइला अगाडि चाल्दै जान्छ–इन्द्रवतीको अविरल प्रवाहसँग । सोभितेको गत, उसको सङ्घर्षको अविरल बग्ने इतिहाससँग’ (ऐ पृ २४८) ।

कथाको परिवेश चित्रण पूर्णतः स्थानीयता बोक्छ । इन्द्रावतीको बगर, गति, मौसम र प्रकृतिका अन्य अवयवको उल्लेखले उपन्यासलाई कथा होइन, जीवन बनाएको छ । उपन्यासको कथासँगै परिवेश चित्रणको कुुशाग्र चित्रकारिताले स्थानीय रङ्ग चहकिलो देखिन्छ ।

उनको तेस्रो उपन्यास ‘सागर उर्लन्छ सगरमाथा छुन’ चोखो नेपाली संस्कृतिको केन्द्रस्थमा रहन्छ तर परिवेश चित्रणको कला उही देखिन्छ । उपन्यासको सुरुमा गरिएको परिवेश चित्रण कथाको गतिसँगै अनुकूलित हुँदै गएका छन् । सुरुमा भनिएको छ ‘चकमन्न र सफा आकाशमुनि आँखाका सीमाभरि एउटा जादूको संसार झै उपत्यकाको सुरम्य धरती फैलिएको थियो । चारैतिर हरियालीले ढाकिएका अग्ला–अग्ला डाँडा, उत्तरतिरका पहाडका पृष्ठभूमिमातीभन्दा पनि भव्य र अग्ला हिमाली चुचुराहरूको एउटा लामो शृङ्खलामा टल्केको ज्यादै प्रखर घामको चमक–एउटा अलौकिकता, एउटा दिव्य छटा’ (सागर उर्लन्छ सगरमाथा छुन, पृ १) ।

अगिल्ला दुई उपन्यासको परिवेश गाउँ थियो, यसको उपत्यका भयो । सुरुवाती दृश्यले शहरको स्थानीयता, यसको प्रखरता, अग्लाइ देखाएको छ । प्रतिबिम्बले उपन्यासको गतिप्रवाहलाई पनि उद्घाटन गर्दछ । उपन्यासको मध्यतिर प्रधान चरित्र हाइनरिखको मनोभावनालाई उपन्यास चित्र यसरी उतार्छ –‘…बिहानको सुनौलो घामको सुनौलो प्रकाशमा सुनका गजुूरझँ भल्केको सगरमाथाको शिखर देखेर ऊ जुन वायुपङ्खी घोडा चढेर उड्दै यहाँ आएथ्यो, नजिकै पुुगेर हिमालको वीभत्स, छ्याकटे, खाल्टाखुल्टी र ककरापूर्ण कुरूप अनुहार देखेर उसको वायुपङ्खीको पखेटा गलेर झरेका छन् । उसको अन्तरमा डेढ दशकदेखि कन्जूस धन झैँ सञ्चित यस देशको सुन्दर, भव्य र माहक चित्रको यो कुरूप पक्षसँग साक्षात्कार हुँदा असह्य पीडा भएको छ’ (ऐ पृ २१९) ।

विकलका आत्मसंस्मरण र नियात्राहरूमा पनि स्थानीयताको सजीव चित्रण छ । ‘मेरो अविरल जीवन गीत’ मा दार्चुुला पुुगेपछि उनी दार्चुला खलङ्गा बजारको चित्रणको एक प्रसङ्गमा उल्लेख गर्दछन् ‘मेरा आँखा जहाँ अड्थे, त्यहाँ ढङु्गैढङु्गाको पर्खाल, ढुङ्गको घर, ढुुङ्गैको छानो, ढुुङ्गैको बाटो, ढुङ्गैका माटो, जतासुकै जुनसुकै दिशातिर हे¥यो उतै उतै ढुुङ्गा । बजारभन्द तल महाकालीको बगरदेखि लिएर खलङ्गाको जताततै ढुङ्गै–ढुुङ्गा । यतिसम्म्म कि घरको माथिल्लो तला उक्लने भ¥याङ समेत ढुुङ्गा ।’ यस्तै स्थानीय दृश्यावली सात सूूर्य एक फन्को र नीलगिरिको छायाँमा प्रशस्तै पाइन्छ ।

उनका कथाहरूमा पनि उपन्यासमा जसरी नै परिवशे चित्रण गरिएको छ । विशेषतः प्रथम चरण कथाहरू परिवेश चित्रणमार्फत स्थानीयताको निख्खर प्रबिम्बन गर्दछन् ।जस्तो कि गरिब, लाहुरी भैंसी, एउटा बुढो बकैनाको रुख, फुटपाथ मिनिस्टर लगायतका कथाहरूमा गरिएको कथा परिवेशको चित्रणमा त्यहाँको स्थान, प्रकृति र परिवेशले स्थानीयतालाई सजीव रूपमा गरिएको छ । तेस्रो चरणमा भने भाष्यका साथ विचार विचारहरूले परिवेश गौण बनेको छ ।

परिवेश चित्रणमा विकल कथा र उपन्यासमा मात्र होइन, नाटक, नियात्रा र आत्मकथामा पनि यही शैली अवलम्वन गर्दछन् । उनको परिवेश चित्रण यति तन्किन्छ कि कहिले काहि त कथा विषय र पात्र समेत छाडेर वयान धेरै पर पुुग्छ । कथा, उपन्यास र नियात्राहरूले यही हविगत समेत भोगेका छन् ।

(घ) भाषिक प्रयोग र सम्वाद विधानमा स्थानीयता निर्वाहः सम्प्रेषले साथ नदिए कथावस्तु, घटना र सम्वाद–सड्घर्षहरू निरर्थक हुन्छन् । भाषा पात्रको प्रकृति र परिवश अनुरूप मिल्दो भएमा मात्र अक्षरले अनुुभूति उठाउँछ । साहित्य सिर्जना सफल हुनु भनेको धेरै अर्थमा अभिव्यजन सार्थकतामा देखिने विषय हो । बेनेदेतो क्रोचेले त अभिव्यञ्जना नै कला हो भन्न समेत पछि परेहका छैनन् । ज्ञान, कल्पना, भावना, अनुुभूति र आशयलाई भाषाले नै अभिव्यक्ति दिन्छ । मनलाई विरेचन गर्ने, ईष्र्या, आशक्ति र आक्रोस व्यक्त गर्ने, माया र हार्दिकता दिने भाषा प्रयोगले नै व्यक्ति कलाकार–साहित्यकार बनेका हुन् । त्यसैले भाषाविधान, सम्वाद शैली र प्रस्तुति संरचनाले कथाको परिवेश, पात्र, अवस्थालाई प्रभावपूर्ण व्यक्त गर्नु पर्दछ । स्थानीयत्वलाई ग्रहण गर्ने भाषा र सम्वादले सिर्जनालाई सजीव बनाउँछ ।

संरचनागत रूपमा हेर्दा विकलका बान्की मिलेका छोटा वाक्य गठनले स्थानीय भावनालाई प्रतिबिम्बन गर्दछ । उनी लामो वाक्यमा प्रस्तुत गर्दैनन् । कथा, उपन्यास, निबन्ध–नियात्रा सबैतिर सूक्तियुक्त, छोटा र मीठा भाषा स्थानीय लवजमा उतार्ने गर्दछन् । कतिपय सन्दर्भमा त प्रकृति नै भाषा बनाइएको छ । यसले स्थानीय रङ्गलाई बोकेको देखिन्छ । जस्तो कि अविरल बग्दछ इन्द्रवती मा बुढाकाजी चर्तुभुुजसिंहले भूमा माझीलाई भेट्न खवर पठाएपछि बूढा भूमा भन्छ–‘किन बोलाका हुन त काजीले ? ..काजी कस्ता लाग्छन् ? ..खोइ कोनि किन हो त्यो त १ तर बूढा यसपालि त गलेका छन् है । मुखा’ त्योविधि तेज, ऐले त ठप्पै हराएको छ ।….विचरा बूढा काजी झन्डै तीन कोरी दस बर्खका पनि त भए क्यार १…अब कति रहलान्?’ (अविरल बग्दछ इन्द्रावती, पृ ८) ।

यस्ता छोटा र रसिला स्थानीय लवजका अभिव्यक्तिले स्थानीय माझी बस्तीको संस्कृतिलाई शतांश उतारेको छ । वाक्य गठन बोझिला भएका थिए भने अभिव्यक्ति प्रवाह मात्र रोकिने थिएन, लेखकीय बौद्धिकताले प्रभुुत्व पनि जमाउथ्यो । प्रायगरी नेपाली लेखकहरू स्थानीय सन्दर्भ र संस्कृतिलाई उपेक्षा गरी आफ्नै भाषा र बोझिलो बाक्य गठनमा रहन्छन् ।

स्थानीयतालाई बोक्न सम्वादशैली पनि स्थानीय नै हुनुपर्छ भन्नेमा पनि विकल सचेत छन् । उनका कथा, उपन्यास, नाटक, निबन्ध, बालसाहित्य, किशोर उपन्यास र संस्मरणमा सन्दर्भ र पात्र अनुकूलको सम्वादको चयन छ । मधु मालतीको कथाको सम्वाद हेरौं ः–
‘तिमी अहिले क्या केटाकेटी नै छौ ।’
‘अहिले अलि होइन, अब दुुवै दिन पख । अनि..’
‘किनकिन, तिमीहरूलाई के ..सानुुमैयाँहरू जाने के ।’
‘आफ्नै धर्ती छुन खोज्दा’ कथाका पात्रहरूले स्थानीय लवजका सम्वाद गर्दछन् । गुएँलीको क्षत विक्षत लास महाकाली नदीको पारि किनारामा देख्दा ऐर सिंह धामीले बोलेको कुरा होरौं ‘कैका कर्तुत हुन्ना यो ? हे मालिका माई मुुइै सक एई गोदलीले केखरा क्याई बिज्याइँ गद्दी भै ? र एइकी इसो गति भइग्यो ?’

प्रतीक गुएँली वेपत्ता भएपछि गाउलेहरू आशङ्कामा कुरा गर्छन् ः ‘त्यस्ती भँडुवी, छिनाल र पुश्चली चैँ त थिइनँ प्रतीक गुएँली’ । ध्यानसिंह भन्छ ‘उनीथ्यैं गोली पनि हुन्नन, रैफल पनि । त्यौभन्दा हामी उनका चोरी गर्न गयानलाई तिनले वित्था गोली हानन्या, कस्याँ हान्नानुत ?’
त्यस्तै ‘गरिब’ को सम्वाद झनै स्थानीयताको रङ्ग पोतिएको छ । गाउँको जनजिब्रोले जे बोल्छ, त्यही दुरुस्त उतारिएको छ ।
‘हजूर दुुई महिनाको भाका पाऊँ ।
भाका १भाकासाका जान्दिन ।
हजूर अहिले त एक कौडी पनि छैन ।
अहिलेलाई त मरे पनि तिर्न सक्तिनँ ।
ह…जू…र…।
चुप लाग १पाजी । बेइमान पाजी १
के हेरेको ? आफ्नो जे भएको पोको पार् । (रमेश विकलका प्रतिनिधि कथा, पृ १२५–१२८)
घोप्टिएको डङु्गा को सम्वादले झनै स्थानीयता बोक्छ
‘होइन क्य हो कमल पण्डितको विधवी छोरीले त…..१
होइन के गरी पण्डितकी छोरीले ?
के गर्थी अब, ढुस्याइछ पेट ।
लौन नि १के सुन्नुप¥यो’ । (हराएका कथाहरू, पृ ८९)

बोलिएका कुराहरू टिपिएका छन् । प्रस्तुतिमा निख्खर जनजिव्रो छ र वाक्य गठन पनि बोलिएका कुराहरूमा छ, न व्याकरणका विधान, न आधुनिक सभ्यताको प्रभाव ।
कथा उपन्यासमा स्थानीय माया, आक्रोस, आवेश, सामान्य व्यवहार, दैनिकी, वृत्तिका आफ्नै भाषाहरू छन् । जस्तो कि अविरल बग्दछ इन्द्रावतीमा प्रयोग भएका ‘मन चोरेर कुरा गर्छौ, धनमा विकेर कमारी बन्न प¥या छैन, ..मै हु भन्ने…मुखमा ध्वासो पोतिदिन्थी ।…भर्सेला परोस् …।

अभिव्यक्तिमा स्थानीयता प्रवेश गराउने, स्थानीय रङ् भर्ने अर्को सीप उखान टुक्का र लोकोक्तिहरूको प्रयोग पनि हो । विकलका कथा रचनामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुुवाकोट, रामेछाप र काठमाडौं काँठमा जनजिव्रोमा रहेका उखानटुक्का, किम्वदन्ती, उक्ति र श्रुतिसूुक्ति रहेका छन् । जस्तो कि अविरल बग्दछ इन्द्रावती मा प्रयोग भएका केही उखानलाई साङ्केतिक रूपमा लिऔं–
‘दुुई दिनको मुता’न्यानो । (पृ २२७)
छोटा मुखले छोटै कुरा गर्छ । (पृ २३८)
दैवा’वात र कर्मा’वात कसले जान्न सक्छ । (पृ ११८)
सातुमाथि खदो । (पृ ३९)
जत्रौ टाउको उत्रै टोपी, जत्रो दौरा उत्रै खल्ती । (पृ १११)
अर्ति भनेको घर्तीको पनि लिनु । (पृ १५४)
भतुवालाई त्यसै विगौती । (पृ १९१)

उपसंहार
सारमा भन्नुुपर्दा रमेश विकलका कथा, उपन्यास, नाटक–नियात्राहरूमा स्थानीय भाषा, भाष्य, सम्वाद, परिवेश, पात्र र अन्तरवस्तुहरू पाइन्छ । जसका कारण उनका सिर्जनाले स्थानीय रङ्ग पाएका छन् । कथाकार गुरुप्रसाद मैनालीको सामाजिक यथार्थता र जीवनशैलीलाई प्रतिबिम्बन गर्ने प्रवृत्तिलाई विकलले समृद्ध बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }