सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली साहित्यमा रमेश विकलको स्थान निर्धारण ( समालोचनात्मक अन्वेषण पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, फाल्गुन १९, २०८०
  • 142
    SHARES

नेपाली साहित्यमा रमेश विकलको स्थान निर्धारण ( “समालोचनात्मक अन्वेषण” पुस्तकबाट )

विषय प्रवेश
रमेश विकल नेपाली साहित्यको आधुनिक कालखण्डका बहुमुखी साधक थिए । २००५ सालमा सन्देश हस्तलिखित पत्रिकामा जागरण कविता लेखी नेपाली साहित्यमा प्रवेश गरेका विकल कविताभन्दा गद्य त्यसमा पनि आख्यान क्षेत्रमा रमाए । उनका ५५ कृतिहरू सबै गद्यमा छन् । कथा, उपन्यास, निबन्ध, नाटक, आत्मकथा, बालसाहित्यमा प्रकाशित विकलले ललितकलाका क्षेत्रमा पनि सिर्जना गरेका छन् । बहुमुखी प्रतिभाहरूधेरै क्षेत्रमा शीर्ष उपलब्धि दिए पनि खास क्षेत्रमा विशेष स्थापित देखिन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा कविता, निबन्ध, कथा, उपन्यास, नाटक लगायतका क्षेत्रका सशक्त स्रष्टा थिए तर कविता र निबन्धमा मात्र कालजयी बने । ‘नोवेल पुरस्कार विजेता रविन्द्रनाथ टैगोर कविता, उपन्यास, नाटक, निबन्ध, छोटा कथा र अनुवाद साहित्यमा सिद्धहस्त थिए । जोसेफ रुडयाक किपलिङ् कथा, उपन्यास, कविता, बालसाहित्य र पत्रकारितामा अव्वल मानिन्छन् । बोरिस पस्तरनाक विविध विधाका लेखक र उपन्यासकार थिए । सुल्ली प्रधोम निबन्ध र कवितामा मात्र रमाएका थिए । आन्द्रे गिदे उपन्यास, निबन्ध, नाटक र संस्मरण लेख्थे ।

मूर्धन्य साहित्यकार र दार्शनिक जाँ पाल सात्र्र दर्शन, उपन्यास, नाटक, निबन्ध, छोटा कथा र पटकथा (स्क्रीनप्ले) लेख्थे । ओर्थान पामुक पटकथा, उपन्यास, जीवनी र निबन्ध लेख्थे । डोरिस लेसिङ उपन्यास, कथा, संस्मरण÷आत्मबृतान्त नाटक, कविता र निबन्ध लेख्थिन् । अर्का नोवेल विजेता पिटर हाल्डेक उपन्यास कथा, नाटक, निबन्ध, अनुवाद र पटकथा लेख्थे’ (गोपी मैनाली, अभिव्यञ्जना यात्राप्रति, पृ१३२–१३३)तर रविन्द्रनाथलाई महाकविका रूपमा नै चिनिए, रुडयाड आख्यानकार भनेर ख्याति कमाएका छन्, सात्र्र उपन्यास र साहित्य चिन्तकका रूपमा फैलिए । स्रष्टाको पहिलो व्यक्तित्व र उसले आत्मीकरण गरेको क्षेत्रले नै साहित्यमा उसको स्थान निर्धारित हुन्छ । त्यस्तै नैरन्तर्य पनि महानताका लागि अनिवार्य बन्छ । स्वयम्को नैरन्तरिक समर्पण विना साधनाका कुनै पनि क्षेत्र साधकको कालजयीताको आधार बन्न सक्दैन । सबैभन्दा महत्वपूर्ण पक्ष पाठक हो । सिर्जनाका उपभोक्ता पाठक÷दर्शक हुन् । उनीहरू नै स्रष्टा र सिर्जनाको स्थान निर्धारण गर्दछन् । सिर्जना पछि त्यो स्रष्टाको रहँदैन ।

तर मूल्य विवचेक वा निर्णयकर्ता चाँहि समालोचक हो । साहित्यकारको सम्यक मूल्याङ्कन उसको सिर्जनाको समग्र अध्ययन, मनन र विश्लेषणपछि मात्र सम्भव छ । समालोचकहरू विवरणवादी हुन्छन् वा प्रभाववादी । धेरैजसो त व्यक्तिवादी पनि भैदिन्छन् । स्रष्टाको सिर्जना परिवेशलाई समालोचकले यथार्थ विवचरण गर्न पनि सक्दैन । यी सबै कुराले सिर्जनाको विवेचनाप्रतिको सम्यक दृष्टि बाहिरिन्छ र स्रष्टा साँचो अर्थमा मूल्याङ्कित हुँदैन । फेरि पनि के भुल्नु हुन्न भने सम्यक दृष्टि स्रष्टाप्रति होइन, सिर्जनाप्रति दिनाले, उसका कलामूल्य, दर्शन र दृष्टिकोणप्रति दिनाले नै सिर्जनाको सही मूल्याङ्कन हुन्छ, त्यसैका आधारमा उसको स्थान निर्धारण गर्न सकिन्छ ।

कथाकार रमेश विकलको स्थान निर्धारण
नेपाली वाङ्मयमा रमेश विकल मूलतः कथाकारका रूपमा चिनिएका छन् । पहिलो कथा गरिबदेखि अन्तिम कथा विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी सम्म उनले दर्जनौं कथा लेखेका छन् । उनका कथाहरू विरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा (२०२५), उर्मिला भाउजू (२०३५), शव, सालिक सहस्र बुद्ध (२०४२), हराएका कथाहरू (२०५५), कथादेखि कथासम्म (२०७१) र हिमालको छहरा समुद्रको छाल (२०७१) र रमेश विकलका कथा (२०७५) गरी दश कथा सङ्ग्रहमा समावेश छन्, कतिपय कथाहरूले सङ्ग्रहको रूप धारण गरिसकेका छैनन् (जस्तो कि आफ्नै धरतीलाई छुन खोज्दा । रमेश विकललाई कथाकारका रूपमा र रमेश विकलका रूपमा चिनाउने कृति कथा (गरिब) थियो भने उनको पहिचानलाई जनमानसमा पु¥याउने कृति पनि कथा (नयाँ सडकको गीत, कथा सङ्ग्रह) नै थियो । यसरी हेर्दा कथामा विकलको नैरन्तर्यक समर्पण, नैरन्तरिक आत्मोसर्ग र नैरन्तर्यक विलोपन देखिन्छ । अर्को शब्दमा कथामा विकलका संवेदना (फिलिङ्), संवेग (इमोशन) र भाव (सेन्टीमेन्ट) सजिलै प्रतिबिम्बन भएका छन् । समाजका संवेदना, संवेग र भाव प्रतिबिम्बन भएका छन् । कथासँग विकलको साँचो अर्थमा आत्मीकरण छ ।

गुरुप्रसाद मैनालीको नासो कथामार्फत नेपाली कथा आधुनिक कालमा प्रवेश गरेपछि धेरै कथाकारहरू मौलिक विषय वस्तुका साथ विभिन्न धारा र प्रयोगमा थुप्रै कथाकारहरू प्रवेश गरे । यस कालखण्डमा सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद वा प्रगतिवादी धारा, प्रयोगवादी धारा, समसामयिकता र परावर्तनका धाराहरू क्रमशः विकास हुँदै आएका छन् । रमेश विकलले आधुनिक नेपाली कथामा गुरुप्रसाद मैनालीले सुरु गरेको सामाजिक यथार्थवादलाई हृदयचन्द्रसिंह प्रधानहरूले प्रवत्र्तन गरेको प्रगतिवादितालाई समृद्ध बनाउँने काम गरेका छन् । साथै सामाजिक आयामको व्याख्या गर्न विश्वेश्वरप्रसाद काइरालाले प्रवत्र्तन गरेको मनोविश्लेषणवाद समेत उन्नयन गरेका छन् । उनका कथामा दौलतविक्रम विष्टको नवप्रयोग र पारिजातले विकास गरेको आत्मगत अभिव्यक्तिको शैली पनि भित्रिएको छ ।

विकललाई सामाजिक यथार्थवादी प्रगतिवादी कथाकारका रूपमा लिने गरिए तापनि यो नै उनको पूर्ण पहिचान होइन । उनका कथाहरूमा सामाजिक यथार्थवादका अतिरिक्त आलोचनात्मक यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद, विसङ्गतिवाद, अस्तित्ववाद, नियतिवाद र नवोन्मेषवाद पाइन्छ । विषयवस्तुका आधारमा उनले ऐतिहासिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, मनोवैज्ञानिक, स्वच्छन्दतावादी र आञ्चलिक कथाहरू लेखेका छन् । वस्तुु योजनागत आधारमा घटना प्रधान र चरित्र प्रधान कथाहरू उनका विशेषता हुन् । साथै शैलीगत आधारमा उनका कथाहरू वर्णनात्मक र आत्मकथनीय (स्वगत) छन् । सबै कथाले केन्द्रस्थमा जीवन राख्छ र साध्यिक ध्येय समन्यायिक समाज छ । परम्परागत मान्यतामा भनिएजस्तो उनका रचनाले कल्पना र भावनाले विवेचना मात्र गर्दैनन्, समाज र विधि–व्यवहारमा रहेका यथार्थ विषयलाई आलोचनात्मक चेतबाट परिस्कार गरिएका छन् । यसर्थ रमेश विकल नेपाली कथाका महानायक हुन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल नेपाली कथाका चार स्तम्भ हुन् । यसपछि अन्य कथाकारहरूले उनीहरूल प्रवत्र्तन र प्रतिष्ठान गरेका धारा तथा प्रवृत्तिलाई विस्तार गरेका छन् ।

उपन्यासकार रमेश विकलको स्थान निर्धारण
रुद्र्रराज पाण्डेको रूपमती (१९९१) प्रकाशन भएपछि नेपाली उपन्यास आधुनिक कालमा प्रवेश गर्छ । हुनतः यसैवर्ष प्रकाशित विष्णुचरण श्रेष्ठको सुमतीलाई पनि आधुुनिककालमा प्रवेश गराउने जुम्ल्याहा भन्ने कतकतिको तर्क छ तर समयभन्दा पनि त्यसले बोक्ने विषयवस्तुु, उपन्यास विधान र मौलिकतालाई आधार मानेर नै कुन कृतिले आधुनिक युुगमा प्रवेश गरायो भनेर निक्र्यौल गर्नु पर्दछ । यस दृष्टिकोणले रूपमती नै नेपाली उपन्यासलाई आधुनिक कालमा प्रवेश गराएको थियो ।

आधुनिक कालमा प्रवेश गर्नु अघि नेपाली उपन्यासमा अनुवादात्मक, तिलस्मी, जासुसी, ऐय्यारी, काल्पनिक, कृत्रिम र अतिरञ्जकताको हावी थियो । यस अर्थमा मौलिक थिएनन् । सुमतीमा सामाजिक विषयस्तु भएपनि त्यो कृत्रिम थियो । रूपमतीको आगमनपछि नेपाली उपन्यासमा सामाजिक जनजीवनको प्रतिनिधित्व, मौलिक विषय वस्तु, मानवीय चरित्र, भाषाशैलीय सरलता र नेपालीपनले प्रवेश पायो ।

नेपाली उपन्यासले आधुनिक कालमा प्रवेश गरेपछि आदर्शवादोन्मुख यथार्थवाद, सामाजिक यथार्थवाद, ऐतिहासिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, मनोविश्लेषणवाद, अस्तित्ववाद र प्रयोगवाहरू विकास भए । आदर्शोन्मुख यथार्थमा रुद्रराज पाण्डे, मोहनबहादुर मल्ल, भुवनेश्वर कोइराला, अच्छा राई रसिक, दौलतवित्रलम विष्ट, धनुुषचन्द्र गौतमहरूले योगदान गरे । सामाजिक यथार्थवादी धारामा लैनसिंह बाङ्देल, दौलतविक्रम विष्ट, लीलबहादुर क्षेत्री, शङ्कर कोइराला, घच गोतामे, रमेश विकलहरू देखिए । ऐतिहासिक यथार्थवादमा डायमनशमशेर राणाकेशवराज पिँडाली, पद्यराज मिश्र, मदनमणि दीक्षित र आलोचनात्मक यथार्थवादमा हृदयचन्द्रसिंह प्रधान, ताना शर्मा, रमेश विकलहरूले योगदान गरे । त्यस्तै समाजवादी यथार्थवादमा डीपी अधिकारी, पारिजात, जगदीश घिमिरेहरू देखिए । मनोवैज्ञानिक यर्थाथवादमा विश्वेश्वरप्रसाद कोइराला, तारिणिप्रसाद कोइराला, भवानी भिक्षुुहरू आए । अस्तित्ववादमा पारिजात, ध्रुवचन्द्र गौतम र प्रयोगवादमा ध्रुवचन्द्र गौतम, ओकिउयामा ग्वाइन, पिटर जे कार्थक, सरुभक्तहरू आए । औपन्यासक धारा र प्रवृत्तिका नवीन प्रयोगको क्रम अहिले पनि निरन्तर छ ।

उपन्यासकार एवम् समालोचक इन्द्रबहादुर राई नेपाली उपन्यासका आधारमा आद्भूतिकता (प्रमुख प्रायोगक गिरीशबल्लभ जोशी), आदर्शवाद (रुद्रराज पाण्डे), स्वच्छन्दतावाद (रूपनारायण सिंह), यथार्थवाद (लैनसिंह बाङ्देल), ऐतिहासिकता (डायमन शमशेर), प्रगतिशीलता (हृदयचन्द्रसिंह प्रधान) प्राकृतिकवाद (गोविन्दबहादुर मल्ल), आञ्चलिकता (शङ्कर कोइराला), मनोविश्लेयषणत्व (विजय मल्ल), विसङ्गतिवाद (पारिजात), माक्र्सवाद (डीपी अधिकारी), अस्तिवादीवरण (विश्वेश्वरप्रसाद का््ेइराला) भनी प्रमुुख वादको वर्गीकरण गर्दछन् । उनले गरको वर्गीकरणमा २०३० को दशक अघिका मात्र प्रतिनिधि प्रवृत्तिको यल्लेख गरिएको छ, त्यसपछि विकास भएका नयाँ धाराहरू (जस्तो कि नवोन्मेष र प्रयोगवाद) समेटिएको छैन । साथै आद्भूतिकता आधुनिककालभन्दा अघिको प्रयोग हो ।

आधुनिक कालको तीसको दशकबाट उपन्यासका क्षेत्रमा देखिएका रमेश विकलका तीन उपन्यास र एक बालउपन्यास छन् । उनको पहिलो उपन्यास सुनौली (२०३१) हो भने त्यसपछि अरिवरल बग्दछ इन्द्रावती (२०४०), विक्रम र नौलो ग्रह (बालउपन्यास) र सागर उर्लन्छ सगरमाथा छुुन (२०५२) प्रकाशित छन् । प्रवृत्तिगत आधारमा चारै उपन्यास फरक फरक धाराको प्रतिनिधित्व गर्दछन् । सुुनौली ग्रामीण परिवेशबाट सुरु भै शहरमा टुुङ्गिन्छ, प्राकृतिकवादबाट सुरु भै यौनमनोविश्लेणमाको प्रयोग गर्छ । शहर र गाउँको मनोवैज्ञानिक द्वन्द्व छ, मनोदशाको अस्मेल प्रवाह छ । त्यसैले यो विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुुले प्रयोग गरेको यौनमनोविज्ञानिक यर्थावाद (इन्द्रबहादुर राईका आधारमा अस्त्विवादीवरण) हो । सुनौलीमा बाल्यावस्था÷किशोरावस्थादेखि अवचेत÷अद्र्धचेत तहमा रहेको दमित इच्छा र अस्तित्वको उग्रअकाङ्क्षाले विकास गरेको यौनोन्मादजन्य मनोदशाको चित्र हो ।

अविरल बग्दछ इन्द्रावती हृदयचन्द्रसिंह प्रधानले नेतृत्व गरेको प्रगतिशीलता र पारिजातले विकास गरेको समाजवादी यथार्थवादको यौगिक प्रयोग हो । माझी युवा–युवतीले अस्तित्वका लागि गरेको सङ्घर्ष र नवचेतले ल्याएको विद्रोह यसमा पाइन्छ । विकलको सबैभन्दा रुचाइएको र सबैभन्दा प्रचारित–प्रसारित यस उपन्यासले विकललाई प्रगतिवादी उपन्यासकारका रूपमा प्रतिनिधि प्रयोगकर्ता बनाएको छ ।

सागर उर्लन्छ सगरमाथा छुन भने सांस्कतिक, सामाजिक, शासकीय र मनोवैज्ञानिक आधारमा अघि बढ्छ । यस अर्थमा यसले सामाजिक यथार्थवाद, प्रगतिवाद र मनोवैज्ञानिकतालाई एकसाथ प्रयोग गरेको छ । आप्mैन यस अघिका दुुई उपन्यासका प्रावृत्तिको हाइव्रिडमा छ । विक्रम र नौलो ग्रह काल्पनिकता र नवोन्मेषको प्रयोग छ । बालसाहित्यमा पहिलो उपन्यास र नौले प्रयोग हो ।

निष्कर्षमा भन्दा कथाकार रमेश विकलका प्रवृत्तिहरू उपन्यासमा पनि प्रवृत्त छन् । नेपाली उपन्यासमा उनको स्थान विश्वेश्वर, पारिजात पछि दौलत विक्रम विष्ट, ध्रुवचन्द्र गौतम र मल्लबन्धुुपछि आउँछ । बालउपन्यासमा भने उनी नै पहिलो प्रयोक्ता, त्यो पनि नवीन प्रयोगका साथ छ, जसले बालउपन्यासको भावी प्रवृत्तिको मार्ग प्रशस्त गर्दछ ।

बालसाहित्यमा रमेश विकलको स्थान
जयपृथ्वीबहादुर सिंहबाट वि स १९५८ मा अक्षराङ्क शिक्षा र बालबोध प्रकाशित भै सुरु भएको नेपाली बालसाहित्य लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, चक्रपाणी चालिसे, लेखनाथ पौडेल, देवकुमारी थापा, कविताराम श्रेष्ठ, शान्तदास मानन्धर, कृष्णप्रसाद पराजुली, रमेश विकलहरूले फराकिलो बनाएका छन् । केही दशकअघिसम्म बालसाहित्यमा बालकका विषयमा लेखिएका सामग्रीको बालबोला थियो, अब बालबालिकाका लागि लेखिएका सामग्रीले प्राथमिकता पाएका छन् । सूचना प्रविधिले बाल साहित्य सामग्री उत्पादनमा औधि सघाएको छ । नेपालमा बालसाहित्य उत्थानका लागि सङ्घ संस्थाहरू समेत स्थापित भै क्रियाशील रहँदै आएका छन् ।

रमेश विकल नेपाली बालासहित्यलाई आजको अवस्थामा ल्याउन सबैभन्दा बढी योगदान गर्ने स्रष्टा हुन् । उनले उमेरगत रूपमा पाठ्य बालसाहित्य र पाठ्येतर बालसाहित्यका २३ भन्दा बढी सिर्जना गरेका छन् । २०१३ सालमा ते¥ह रमाइला कथाहरूबाट सुरु भएको बालसाहित्य सिर्जना गौतम बुद्ध र पानीको संस्कारसम्म पुुगेको छ । अगेनाका डिलमा, केही मुर्खहरूको कथा, बा¥ह महिनाको गीत एउटा कथा भन्नु न हजुरआमा लगायतका कथाहरू बालबालिकाहरूबाट निकै रुचाइएका छन् । उनको सात थुुँगा नेपाली बालसाहित्यमा लेखिएको पहिलो बालएकाङ्की थियो भने विक्रम र नौलो ग्रह पहिले बालउपन्यास । उनका बालसिर्जना विषयवस्तु, घटना, भाषाशैली र प्रस्तुतिका दृष्टिमा बालमैत्री छन् । विकल स्वयम् बालसाहित्य समाजका नेतृत्वमा रहेर, बालसाहित्य उत्पादन गर्ने संस्थामा रहेर पनि काम गरेका बालमनोविज्ञानलाई नजिकबाट नियालेका बालस्रष्टा हुन् । साथै उनले बालनाटकहरू पनि मञ्चन गराएका थिए ।

नेपाली बालसाहित्यमा उनको स्थान सर्वोच्च छ । सिर्जनाको विविधता तथा प्रयोगका दृष्टिले पनि विकल शीर्षस्थानमा छन् । विकलले मौलिक सिर्जनाको अतिरिक्त पिटर र ब्वाँसो, इन्द्रजाली रुख, समुद्री हुँडार, विश्वप्रसिद्ध बालकथाहरू (दुुई भाग) मार्फत बालबालिकालाई अन्य भाषाका साहित्यमार्फत ज्ञान र मनोरञ्जन दिएका छन् । नेपाली कथा जस्तै बालसाहित्यको पर्यायका रूपमा रमेश विकललाई लिइन्छ । कथा विधापछि विकल बालसाहित्यको नाम हो । विकलका नाम नलिए नेपाली बालसाहित्य नै अधुरो हुन्छ । बालसाहित्य स्रष्टाले आफ्नो बाल्यकाललाई आत्मिक रूपमा विचरण गर्नु पर्छ, विकलले त्यसो गरेका छन् । त्यसैले बालसाहित्यमा विकल सर्वजनीन छ्न् । उनले बालसाहित्य मात्र सिर्जना गरेनन्, बालसाहित्यको आधुनिक प्रवृत्तिलाई नेतृत्व दिई आफूपछिका स्रष्टाहरूलाई प्रोत्साहित हुने आधार समेत सिर्जना गरे । उनको प्रवृत्तिलाई जनक हुमागाई, विश्वम्भर चञ्चल, विजय चालिसे, कनकमणि दीक्षित, दुुर्गालाल श्रेष्ठ, प्रेम प्रधान, रामबाबु सुवेदी, गोपाल पराजुली, विजय आचार्य, लक्ष्मी उप्रेतीहरूले फराकिलो र समृद्ध बनाउँदै गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }