सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकालका रचनाकारितामा मनोवैज्ञानिकता ( समालोचनात्मक अन्वेषणबाट )


  • गोपी मैनाली
  • शनिबार, माघ २७, २०८०
  • 209
    SHARES

रमेश विकालका रचनाकारितामा मनोवैज्ञानिकता  -गोपी मैनाली

विषय प्रवेश

साहित्य र मनोविज्ञान दोहोरो सम्बन्धमा रहन्छन्, साहित्यले मनोविश्लेषणलाई आधार दिन्छ, मनोविश्लेषणले साहित्य सिर्जना गर्दछ । साहित्य मानसिक प्रक्रियाको उत्पादन हो । मानव मस्तिष्कले साहित्य सिर्जना गर्दछ । साहित्यले मन परिष्कृत र रोमाञ्चित पार्दछ । साहित्यमा पोखिएको मनले मानिसलाई आनन्दित तुल्याउँछ, दुुःखलाई हलुका पार्छ । त्यसैले एरिष्टोटलले दुखान्त चरित्रको पक्षमा तर्क गरेका थिए । मनोविज्ञानले मानवीय व्यवहारलाई वैज्ञानिक विश्लेषण गर्दछ, साहित्यले मानवीय व्यवहारलाई अभिव्यक्ति दिन्छ, गोथिक तत्वहरू समावेदन गर्दछ । त्यसैले साहित्य र मनोविज्ञान एक अर्काबाट छुटिृन सक्दैनन् । विचार, आवेग, सम्वेग, सम्वेदना र अनुभूूति साहित्य सिर्जना र मनोविश्लेषण दुुवैका आधार हुन् ।

रमेश विकलका कथा तथा उपन्यासको मनोवैज्ञानिक पक्षमा विश्लेषण गर्नुअघि मनोविज्ञानको सैद्धान्तिक पक्षमा थोरै चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । मनोविज्ञान मानव व्यवहारसँग सरोकार राख्दछ । मनोवेत्ता कार्ल जुुङ्गले विकास गरेको सङ्गृहीत अचेतनको सिद्धान्त (थ्योरी अफ कलेक्टिभ अनकन्सस) का अनुसार वंश परम्परादेखि नै मानव व्यवहारका प्रवृत्तिहरू मानिसहरूमा सर्दै आएको हुन्छ । यसको जैविक–वंशाणुुगत प्रक्रिया हुन्छ । यही प्रक्रियाले मानिसलाई दृष्टि र अर्थवत्ता दिएको हुन्छ ।

मन मस्तिष्कका सासाना तरङ्गहरूको चित्र उतारेर साहित्यकार आफ्नो सिर्जनाको पात्रको मानसिक–सामाजिक अवस्था औल्याइदिन्छ । यो चरित्रव्यापारले मानिसलाई मनोवैज्ञानिक मुक्ति वा खास परिवेशबाट उम्कन निकास दिन्छ । अझ भनौं, मनोविकृतिलाई उधिनिदिन्छ, पीडालाई पोखिदिन्छ उम्दा–उत्साहलाई अभिव्यक्ति दिन्छ र सुन्दर सभ्यता (इच्छित अवस्था) लाई आमन्त्रण गर्दछ ।

अगिल्लो शताब्दीका महान् मनोचिकित्सक सिगमण्ड फ्रायडले विकास गरेको यौनमनोविज्ञानको सिद्धान्त अनुसार हरेक मानिस चेत÷अवचेत तहको मनोव्यापारमा रहन्छ र त्यसबाट तुष्टि खोजिरहेको हुन्छ । फ्रायडको यस सिद्धान्तले मनोविज्ञानमा मात्र होइन, मानव व्यवहारका विश्लेषण हुने साहित्यलाई पनि ठूलो प्रभाव छाडेको छ । साहित्य मानवीय व्यवहार (कार्यव्यापार) को उपज हो, जसको प्रक्रिया मानसिक हुन्छ । त्यो देखिएको मात्र हुँदैन, छोपिएको पनि हुन्छ । उनले ओडिपस कम्प्लेक्सको उदाहरणमा आमाको माया र बुुबाको ईष्र्यालाई व्याख्या गर्दै अवचेत तहदेखि नै मानिस मनोवैज्ञानिक कार्यव्यापार गरिरहेको हुन्छ भनेका थिए । जसको प्रखर उदाहरण शेक्सपियरको हेमलेट हो । सिगमण्ड फ्रायडले आफ्नो लेख ‘सिर्जनात्मक लेखक र दिवास्वप्नक’ (क्रिएटिभ राइटर्स एण्ड डे ड्रिमर्स) मा साहित्यिक प्रक्रियाको शक्तिशाली मोडल (व्याख्या गर्ने ढाँचा) विकास गरेका थिए । यस मोडेलले सर्जकहरू अपेक्षाबाट आवेगमा पुुग्दछन् । उसका अपेक्षाहरू अचेत÷अवचेत रूपमा नै बाल्यावस्थादेखि गडेका हुन्छन् (विकलको सुनौली यसको प्रखर दृष्टान्त हो), जसलाई सर्जकले साहित्यिक÷कलात्मक रूप दिन्छ चरित्रकरणमार्फत पाठकसम्म पुु¥याइदिन्छ । फ्रायडले लियोनार्दो द भिन्सी र फ्योदर दोस्तोभ्स्कीका सिर्जनालाई यही मनोकार्यव्यापारमा उल्लेख गरेका छन् । हामी रमेश विकलको सुनौली, उर्मिला भाउजु, पारिजातको शिरीषको फूल, विश्वेश्वर कोइराला, भवानी भिक्षुु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल (मल्लबन्धु), दौलतविक्रम विष्टहरूका आख्यान (कथा, उपन्यास) हरूलाई उल्लेख गर्नसक्छौं ।

मनोविज्ञान साहित्यमा कति अर्थवान् छ भने साहित्यले आवेग, सम्वेग, उद्वेगहरूमा रहेका मानवीय व्यवहारलाई रांैचिरा विश्लेषण गर्दछ । साहित्य÷कलाले मनको थेरापी गर्छ । साहित्य मनोविज्ञानको लागि कति उपयोगी छ भने यसले मानवीय व्यवहारको विश्लेषण गर्न सजिलो बनाइदिन्छ । त्यस्तै मनोविज्ञान विस्तृत साहित्यिक कार्य विश्लेषणबाट लाभान्वित हुन्छ । साहित्यका सबै पात्रहरू मनोवैज्ञानिक प्रयोगशालाका आधारवस्तुु हुन् । त्यसैले साहित्य र मनोविज्ञान गहिरो सम्बन्धमा बाँधिएका हुन्छन् ।

साहित्य र मनोविज्ञानको सम्बन्ध विश्लेषण गर्न बेनेदेतो क्रोचेको अभिव्यञ्जनावाद र आइवर आर्मस्टङ« रिचर्डसको सम्प्रेषणवादको सिद्धान्तलाई आधार लिनुुपर्ने हुन्छ । दार्शनिक बेनेदेतो क्रोचेले विकास गरेको अभिव्यञ्जनावादको केन्द्र मनोविज्ञान हो । क्रोचेका अनुसार साहित्य मानसिक प्रक्रियाको उपज हो । त्यसैले कुनै पनि सर्जक मनोविज्ञान पर रहेर सिर्जना गर्न वा अभिव्यञ्जना गर्न सक्दैन, गरेमा पनि त्यो यान्त्रिक र आंशिक मात्र हुन्छ । साहित्यमा सर्जकले मान्छेको आयामिक अभिव्यञ्जना गर्न सक्नुपर्छ । कथाकार, उपन्यासकारहरू चरित्रको मानसिक वृत्ति, मनोद्वन्द्व, मनोलाप, मनोन्माद, मनोद्वेलन, अनुुभूति र कार्यव्यापारलाई सहजानुुभूतिमा पाठकसम्म पुु¥याइदिन्छन् । भनौं सामाजिकीकरण गरिदिन्छन् ।

आइवर आर्मस्ट्रङ रिचर्डसको सम्प्रेषण सिद्धान्तले पनि मनोवेगको सामान्जस्यतालाई कलाकर्म मान्दछ । सर्जक सम्प्रेषण गर्ने र पाठक सम्प्रेषण लिने मनोव्यापारमा रहन्छन्, रहनुपर्दछ । मनोवेग, कल्पना, व्याख्या, भाषा र विषयको अन्तरक्रिया÷अन्तरसम्बन्धले सम्प्रेषण सहज पार्दछ । त्यसैले मनोविज्ञानका कुरालाई सम्प्रेषणयोग्य बनाउन साहित्यकारमा विशेष कुशाग्रता र विषयवस्तु अन्तरबोध गर्नसक्ने सामथ्र्य चाहिन्छ ।

विकल र मनोवैज्ञानिकता
मनोविश्लेषणात्मक आयामबाट हेर्दा कथा, उपन्यासका पात्रहरू स्वस्थापना, आनन्द प्राप्ति आदर्शको स्थापनामा लागिरहेका हुन्छन् । फ्रायडवादी मनोविज्ञानका आधारमा त्यसलाई इद, इगो र सुपरइगोमा वर्गीकृत गरिन्छ । इद (स्व) ले आनन्द, इगो (यथार्थ स्व) ले सामाजिकता र सुपरइगो (आदर्श स्व) बाट नैतिकता देखाउँछ । पात्रहरूको यही मनोवैज्ञानिक कार्यव्यापार नै साहित्यको मनोविश्लेषणत्मक पक्ष हो । आख्यानकार रमेश विकालका प्रतिनिधि कथा–उपन्यासहरूमा यो कार्यव्यवहार कस्तो छ विश्लेषण गरौं –

‘सुनौली’ एउटा महत्वकाङ्क्षी, यौन र शोषणको कुचक्रले पिल्सिएकी, रूपमती, अभागी, पाखे ग्राम्यवाला नारीको करुणापूर्ण अन्त्यलाई प्रस्तुत गर्ने यौनप्रधान उपन्यास हो । ‘सुनौली’ को प्रमुख पात्र सुनौलीमा सपनाका सुनौला चाङ छन् । बाल्याव्यस्थादेखि नै उसले सुनौला सपनाका चाङ बुनेकी छ । उसमा उग्र महत्वाकाङ्क्षा छ, शहरको सुन्दरताप्रति औधी उत्सुकता छ । यो आकाङ्क्षा भनौ अतृप्त इच्छाले सिर्जित मनोविलेषणत्मक छचल्काइ, बाष्पाइ र प्रतीकगुम्साइमा उपन्यास गतिशील छ ।

शहर हेर्ने सपनाका लागि अधीर भएकी सुनौली शहर लैजाने गाउँको कृष्णेलाई आप्mनो पवित्र कौमार्य समेत सजिलै सुम्पिदिन्छे । झरझराउँदो यौवन मादकता र सौर्य भइन्जेल पहाडे सुनौली शहरमा गएर कनक नायिका बनी, सिंहको पौरुषको शिकार भई, आफूभित्रको मदोन्मादको परितुष्टि पनि पाई तर सिंहबाट धारण गर्भ पतन गराएपछि कनक निरस, खोक्रो जिन्दगी बिताउन पुुग्छे, एक प्रकारले मानसिक बेचैनीमा पुुग्छे । सिंह, कृष्णे र प्रेम साहवको यौनविवशा भएकी सुनौली आफैमा भने परित्यक्ता, आफ्नै कारणबाट परित्यक्त, जिन्दगीबाट परित्यक्त निरस जीवन हो । उसका मनोदशाहरू यसरी एकपछि अर्को हुर्रिएर उसको जीवनमा ठक्कर खाएका छन् कि ऊ अस्तित्वको यात्रामा अवसाद बन्न बाध्य छ । निरुक्त–निरूपाय छ ।

कृष्णेको प्रेम (?) बाट सुरु भएको सुनौलीको यौनयात्रा यौनोन्मादको चरमविन्दुुबाट निरुक्त हुँदै ओरालोतर्फ झर्छ र, न सुनौली न कनक नायिका केही रहन्न । दमित इच्छा र अपरिपक्व आकाङ्क्षाका कारण जीवनबाट लघारिएकी सुनौली आफैमा पिल्सिएकी, यौनहिंस्रकबाट शोषित अस्तित्वहीन हुँदै जीवनलीला समाप्त गर्न पुुग्छे । यौटा यौन अभिप्साको कथा सकिन्छ । त्यसैले ‘सुनौली’ मनोविश्लेषणात्मक आयाममा उत्सुकता, आकाङ्क्षा, यौनोन्माद, घृणा, आक्रोस र निरुक्ततामा दोलयमान छ ।

मनोविश्लेषणको कोणबाट उपन्यासमा जीवनका अतृप्त इच्छाबाट मानिस कसरी वाष्पित, भ्रमित र धुमिल हुन्छ भन्ने देखाइएको छ । शहर हेर्ने र विलाशी जीवन भोग गर्ने आधारहीन उग्र एष्णाका कारण सुनौलीको प्राङ्गारिक जीवन, प्राकृतिक र स्वच्छ जीवनशैलीमा एकाएक छलाङमार्ने परिवर्तन देखियो, सुनौलीले पत्याउनै नसकिने यौनयात्रा सुरु गरी, यौन शोषणको पर्वाह पनि गरिन, क्षणिक रामरौस पनि गरी, अप्राकृतिक जीवनशैली अपनाई र अन्ततः नारी ‘स्व’ सखाप पारी । समाजमा यस्ता घटना लुकेर, लुकाइएर रहेका छन् । सुनौली एउटा मनोवैज्ञानिक प्रतीकीय बिम्ब मात्र हो । उपन्यासकार रमेश विकलले त्यो बिम्बमार्फत छिपेर रहेको यौन विकृतिलाई सतहमा उधिनिदिएका छन् । औपन्यासिक कार्यव्यापारका लागि प्रयुक्त भाषा, सम्वाद, कथ्यपरिवेश, भावभङ्गीले विकललाई ‘शिरीषको फूल’ कि पारिजात, ‘तीनघुम्ती’ का विश्वेश्वर, ‘सुुभद्रा बज्यै’ र ‘पाइप नं दुुई’ का भवानी भिक्षुुसंँग तुलना गर्नुपर्ने हुन्छ । नेपाली उपन्यासमा यौनमनोविश्लेषणको प्रवृत्ति भन्नेबित्तिकै विश्वेश्वरप्रसाद कोइरालालाई लिइन्छ, तर रमेश विकलले सामाजिक यथार्थवादभित्रको यौनमनोविज्ञानलाई कुुशाग्र ढ्गले प्रस्तुत गरेका छन् ।

‘अविरल बग्दछ इन्द्रावती’ मनोविज्ञानका दृष्टिमा ‘सुनौली’ भन्दा भिन्न छ । कथावस्तुु, उपन्यास परिवेश र कथाकार्य पनि भिन्न भएकोले मनोकार्यव्यापार पनि भिन्न हुने नै भयो । ‘सुनौली’ विशुद्ध यौनमनोविश्लेषणको चित्र हो, ‘अविरल बग्दछ इन्द्रावती’ सामाजिक मनोविज्ञानको कथा हो । ‘सुनौली’ सुनौला तर अतृप्त कथाको प्रतीक हो इन्द्रावती सामाजिक चेतनाको अविरलताको आग्रह हो । यौनमनोविश्लेषणको प्रधान पक्ष, उत्कण्ठा, उन्माद, आशक्ति, यौनोन्माद, यौनाकर्षण, प्रेम, घृणा, मनोविपर्यास हो । ‘सुनौली’ मा यी नै क्रिया–प्रक्रियामा प्रधान पात्र दोलायमान् छ । सामाजिक मनोविज्ञानमा सामाजिक तहसोपान, सामाजिक विकृति–विसङ्गतिले सिर्जना गरेका भेदभाव, पीडा, उत्पीडन, शोषण, सङ्घर्षको उद्वेलन हुन्छ, ‘अविरल बग्दछ इन्द्रावती’ मा त्यही छ । सामाजिक मनोविज्ञानले सामाजिक अस्तित्व र चेतमार्फत स्वस्थापना गर्ने इरादा राख्दछ, जसरी योैनमनोविज्ञानमा यौनतुष्टि, उद्दीप्तता र वासना व्यग्रता खोज्ने गर्दछ । दुवैले स्व खोजे तापनि स्वको स्वरूप र उपादेयता विल्कुल भिन्न छ । सामाजिक मनोविश्षेणमा सामाजिक–मानवीय अस्तित्वको खोजी हुन्छ, यौनमनोविश्लेषणमा मानवीय–जैविक (लिविडो) अस्तित्वको खोजी हुन्छ । साझा पक्ष दुवैमा उत्पीडक–उत्प्रेरक कारक सक्रिय हुन्छ, एउटा अन्तर्मनको भूमिमा कार्यकरण हुन्छ र जैविक–शारीरिक तुष्टिको साध्य राख्छ, अर्कोमा सामाजिक भूमिमा कार्यकरण गर्छ र सामाजिक उपयोगिताको साध्य राख्छ ।

‘अविरल बग्दछ इन्द्रावती’ विपन्न माझी भुमा परिवारको कथा हो । भुमा परिवारमा भीमे, जैमाने दई छोरा र एक छोरी लालगेडी छन् । कथा यही माझी परिवारको जीवनवृत्ति, व्यथा, विवशता, व्यवधान र उनीहरूमाथि बज्रिएको सामाजिक विकृतिमा वरिपरि घुम्छ । कप्तानकाजी (हुकुुम सिंह), ठूलोकाजी (चतुुर्भुज सिंह) र सानोकाजी (त्रिलोचन सिंह) माझी परिवारका उत्पीडक वा खलभूमिकामा छन् । सोभिते र लालगेडीको प्रेम प्रधान कथाकार्य हो । यी दुुईको प्रेमकथाभित्र वर्गसङ्घर्ष ठूलो कथा छ ।

मनोवैज्ञानिक आयामबाट विश्लेषण गर्दा समाजको मनोविज्ञान हेर्नुपर्ने हुन्छ । नेपाली समाजमा परम्परादेखि विभेद र थिचोमिचो छ, जङ्गबहादुर राणाले मुलुकी ऐनका नाममा जारी गरेको कानूनले सामाजिक तहसोपानलाई संस्थागत गर्न पुुग्यो । दलित, जनजाति, महिलाहरू जन्मदेखिनै समाजको तल्लो तहसंरचनामा रहनुपर्ने गरी जातजाति र लिङ्गका आधारमा सामाजिक भूमिका जन्मँदै सीमाङ्कित हुँदै आएका छन् । सामाजिक व्यवहार यही सामाजिक तहसंरचनामा आधारित हुँदै आएको छ । समाजमा गरिब–विपन्नका नाम पछि एकार जोडेर बोलाइन्छ । ‘सोभिते’ ‘हरिकृष्ण सन्नेसी’ त्यसका प्रतीक हुन् । समाजले गरिब र विपन्नलाई हेप्छ, नहेपे दया गर्छ तर माया र मान कहिले दिदैन । माझी परिवार, पूरै माझी बस्ती हेपिएको छ । तहसोपानको मनोविज्ञान बोली, व्यवहार, हेराइ, शिक्षा, काम सबैमा देखिन्छ । काजी परिवार सामाजिक तहसोपनमा माथिल्ला वर्ग हुन् । माथिल्ला तहसोपानले किनाराकृत÷विपन्नमाथि कजाइ गर्ने, शोषण गर्ने रीतिथिति नै बसेको छ ।

यो नै ‘अविरल बग्दछ इन्द्रावती’ को केन्द्रीय भाव हो । उपन्यासकार रमेश विकलले पात्र चयन गर्दा, नामकरण गर्दा, चरित्र निरोपण गर्दा, सम्वाद र उपन्यास पृष्ठभूमि उतार्दा सामाजिक मनोविज्ञानलाई औधी कुशाग्रता साथ देखाएका छन् । भीमे, जैमानी, सोभिते, लालगेडी, काजीहरू नामअनुरूप नै कार्यव्यारमा सुहाएका छन् । नयाँ पुस्तामा विस्तारै चेत, आलोचनात्मक दृष्टि र सामाजिकताको सञ्चार भएको छ । सोभिते लगायत माझी समुदायका युवाहरू यसका दृष्टान्त हुन् । नयाँ चेतको मानसिक क्रिया र पुरानो सोचसंस्कारको मनोविज्ञानले सङ्घर्ष जन्माएको छ । यसर्थ ‘अविरल बग्दछ इन्द्रावती’ मनोवैज्ञानिक सङ्घर्षको बिम्ब हो । त्यो सिन्धुपाल्चोक मेलम्ची सेरोफेरोको मात्र कथा होइन, तत्कालीन नेपाली समाजको मनोचित्र (मिनिएचर) हो ।

सामाजिक व्यवहार तहसोपानयुक्त भएकाले काजी परिवारमा सामन्तीपन छ, हठ छ, हैकम छ । राम्री युवतीप्रति वासनात्मक व्यवहार गर्नु सामन्तहरूको चरित्र नै हो । लालगेडीप्रतिको सानोकाजीको दुव्र्यवहार यसको दृष्टान्त हो । माझी परिवारले जति समयसम्म सामन्त थिचोमिचो सह्यो, वर्गसङ्घर्ष देखिएन, उनीहरू थिचिएर, पिल्सिएर नै बसे । जब मानवीयता थिचिएको, मिचिएको माझी परिवारका युवाले महसुस गरे, वर्गविभेदमाथि विद्रोह गर्ने साहस गरे । सोभितेमा काजीखलकप्रति, विशेषतः सानोकाजीप्रति विद्रोही भावना जन्मिएको छ । लालगेडीमा वर्गीय र लैङ्गिक दुवै प्रकारको स्वत्व छ । अपहरण हुँदा पनि ऊ स्वत्वको संरक्षणमा सक्रिय हुन्छे । यसर्थ काजीखलकको सामन्ती संस्कार र माझी परिवारको मानवीय स्वत्वको सङ्घर्षले चरम रूप लिएको छ । शासकीय मनोविज्ञानले पनि प्रवेश पाएको छ । यसका सामाजिक वा अन्य पक्ष जे जस्ता भए पनि ती सबै मानसिक प्रक्रिया वा मनोविज्ञानका भौतिक रूप हुन् ।

उपन्यासका पात्रहरूमा दुुईप्रकारको मनोविज्ञान छ–माझी परिवारमा सद्चरित्र, कर्मशीलता र आत्मरक्षाको भावना छ । काजीखलकमा सामन्तीपन, हठ, हैकम, दम्भ र दुुस्चरित्रको जोदाहा सिंहवृत्ति छ । यी दुवै मनोविज्ञान उनीहरूको सामाजिक परिवेश, रीतिथिति र लामोसमयदेखि समाजले संस्थापन गरेको कार्यको परिणाम हो । यही दुुई परस्परविरोधी मनोविज्ञानमा ‘अविरल बग्दछ इन्द्रावती’ अविरल बगेको छ । सामाजिक चेतनाको ज्वाला मनोविज्ञानले जन्माएको प्रतिक्रिया हो, काजी खलकको समान्तीपन पनि उनीहरूको मनोविज्ञानको उपज हो । यसर्थ मनोवैज्ञानिक आयाममा अविरल बग्दछ इन्द्रावती उपन्यासकार बाँचेको समाजको सामाजिक मनोविज्ञानको यथार्थ हो । प्रगतिवादी उपन्यासकार भएकाले उपन्यासकार रमेश विकलले पात्रकार्यमा आग्रह राखेको देख्न सकिन्छ, जुन अरू धेरै कथामा पनि प्रष्ट छ, तर मनोभाव विकास, उत्कर्ष, अवरोह जस्ता पक्षबाट उपन्यास पूर्णत सफल छ ।

‘सागर उर्लन्छ सगरमाथा छुन’ उपन्यासकार रमेश विकलको अन्तिम उपन्यास हो । कथावृत्ति, पात्र र परिवेशमा यो ‘अविरल बग्दछ इन्द्रावती’ जस्तै सामाजिक उपन्यास हो तर उपन्यासको कथाले उठाएका विषयहरू भने नेपाली संस्कृतिको विचलन, परसंस्कृति अपनाएर मौलिक संस्कृतिलाई विस्थापन गर्दा गौरव मान्ने नवआडम्बरी वर्ग र त्यसले सिर्जना गरेको मानसिक विकृति हुन् । यस उपन्यासका पात्रहरू पनि वर्गीय विभाजनमा छन् । अरूको देखासिकीलाई पहिचान मान्ने वर्ग (जसले गोराको छला, उनीहरूको व्यवहारलाई आदर्श मान्दछ) र नेपाली मौलिक संस्कृति र पहिचानलाई माया गर्ने वर्ग । एउटा वर्ग शासकीय र अर्को शोषित । यी दुुई वर्गबीचको मनोसङ्घर्ष ‘सागर उर्लन्छ सगरमाथा छुन’ हो । मौलिक शासन तथा संस्कृति पहिचानका लागि विद्रोहमा उठिरहेको भावनाहरूलाई ‘सागर उर्लन्छ सगरमाथा’ छुन मा प्रतीकीय प्रयोगमा उतारिएको छ । स्वत्वमा मानसिक सङ्घर्ष छ तर ‘सुनौली’ वा ‘अविरल बग्दछ इन्द्रवती’ जस्तो मनोवैज्ञिानिक ज्वारभाटा यसमा उर्लिएको छैन । विषयवस्तुका कारण पनि त्यो सम्भव नभएको होला ।

कथाहरूमा ‘उर्मिला भाउजू’ बेजोड यौनमनोविज्ञानिक कथा हो । माधव, उर्मिला र केशवका आभ्यान्तरिक मनोदशा कथाभित्र प्रतीक गुम्सिएका, उर्लिएका र पोखिएका छन् । प्रधान पात्र उर्मिला भएपनि माधव र केशवको चरित्रकार्य मनौज्ञानिक आयाममा निकै घनत्वका छन् । ‘उर्मी’ माधवको प्रेमको शब्द, तर सँधै उर्मिला माधव कि उर्मी हुन सकेकी छैन । उर्मिलासंगको पहिलो चिनजान नै केशवले उर्मिलाको शारीरिक बनावटका विषयमा राखेको भाव ‘बान्की परेको अनुहारमा गोरो रोगन, गहिरो अनुुभव, बौद्धिकताको अनौठो सम्मिश्रणपूर्ण बडाबडा आँखा’ कथान्तमा समेत मनोवैज्ञानिक रूपमा तेर्सिएको छ, यसैले कथाको अवचेतवृत्तिलाई तानेर पर पुु¥याएको छ । केशवलाई उर्मिला भाउजू ‘आदर्श, भावुक मात्र होइन, बौद्धिक र कलासापेक्ष’ पनि लाग्छ । पहिलो देखाइमा नै भाउजूप्रति ‘अपूर्ण परितृप्तिको अनुुभूति’ मनोविकृति वा यौनाकर्षण हो भन्ने प्रशस्त आधार छन् । पतिपत्नीमा एकअर्कामा रहेको असीम प्रेम र समर्पणभित्र पनि केशव सन्देह गर्छ ‘उनीहरूमा एकअर्काप्रति विरक्ति र घृणाभाव हुर्किएको त छैन ?’ यही भावनाले कथामा त्रिकोणीय मनोदशाको उद्घाटन गर्छ । मनोविज्ञानका यी त्रिकोण व्यवहार र मनमा विल्कुल फरक छन् । विल्कुल फरक कार्यव्यापार गरिरहेका छन् तर अन्तरमनमा आआफ्नै एउटा छिपेको एष्णा छ ।

कलेजमा माधव र उर्मिलाको प्रेमरौसमा अरूको ईष्र्याभाव मनोविज्ञानको अर्को पाटो हो । मानिसहरू राम्रा पुरुष वा महिलालाई आफ्नो बनाउन चाहन्छन्–भावनात्मक वा भौतिक रूपमा पनि, त्यो नहुँदा मनोतुष्टिका लागि पनि ईष्र्याभाव राख्दछन्, आलोचना गर्छन् । सके अरूको प्रेम र सम्बन्धलाई भत्काइदिन्छन्, डाढे मनोसंस्कृति नेपाली समाजको यथार्थ हो । सुमित्राले उर्मिलालाई रात्रीशोको चलचित्र हेर्न रञ्जना फिल्महल लैजानुु मनोईष्र्याको उच्च रूप थियो । सुमित्राकै चालवाजीमा उर्मिलालाई राति कारमा लिप्mट दिनेले उर्मिलाको यौवनलाई लुट्न पुुग्यो । उर्मिलामा आफू दूषित भएपछि माधवजस्तो प्रेमनिष्ठाको पुरुषलाई कसरी मुख देखाउने भन्ने मनोद्वन्द्व एकातिर र अर्कोतिर समाजले गरेको वद्नामीबाट उठेका ज्वारभाटाको मनोपरिवेशले कथाले अर्को रूप लिन्छ ।

उर्मिलाको चारित्रिक बद्नामीको यथार्थ जानकारीमा पनि माधवले उर्मिलालाई विवाह गर्नु मनोविश्लेषणको अर्को पाटो, जुन सन्देहात्मक पनि छ । उर्मिला चारित्रिक रूपमा बद्नाम महिला विवाहपछि सामान्य लोग्ने मानिसमा हुने छुद्रता, ईष्र्या द्वेषको लेस पनि माधवमा थिएन तर माधवको यो व्यवहार वा विशाल उदारतामा पुरुष अहङ्कारको भाग थियो । उर्मिलालाई माधवले अपनाउनुुको पछि अव्यक्त तहमा सुन्दरता र शरीरको सम्मोहन मात्र थिएन, समाजको आँखामा गिरेकी नारीलाई दया र उदारताको दम्भ थियो तर अन्ततः माधवको दया व्यवहार उर्मिलाको व्यक्तित्वमा बोझ बन्न थाल्यो । उर्मिला पनि पढेलेखिकी सचेत महिला थिई । सचेत नारीचेतले पुरुष अहङ्कारको तुष्टि, सँधैको दया व्यवहार र संरक्षणलाई उर्मिलाको मनोव्यवहारले विद्रोह जनायो र यसको चरमद्वन्द्वले कथा दुखान्त फलाप्तिमा पुुगेको छ ।

साथै सानो घटनाले नारीमनलाई विशृङ्खल बनाउन सक्छ, नारीहरू पुरुष व्यवहारलाई पूर्ण उदात्ततामा चाहन्छन्, आफ्नो अस्तित्व र मनोतुष्टिमा पौरुषको कब्जा चाहन्छन्, संरक्षण, दया र दायित्वभन्दा अरू धेरै चाहन्छन् भन्ने कुरा उर्मिलाको विद्रोहमा देखिएको छ । केशव घरमा रहँदा उर्मिलाको मन वेग्लै थियो, भलैकी उर्मिला र केशव देवर भाउजुको सामाजिक सीमामा सामान्य थिए । केशव विदेश गएपछि माधव र उर्मिलाको एकअर्काप्रतिको व्यवहार परोक्ष प्रतिकूलतामा देखियो । कथामा केशवको उपस्थितिनै माधव र उर्मिलाबीचको मनोदरारको कारण हो त ? कथा बोल्दैन तर जरुर हो भन्ने अनुमान लगाउन सकिन्छ । साथै सम्बन्ध विच्छेदको फैसला (?) का दिन केशवलाई अड्डामा आउन उर्मिलाले गरेको आग्रहले कथामा मनोविश्लेषणको बाँकी पाटो छाडिदिएको छ । अब कथा अर्को मोडमा जान्छ, जसको पुष्टि पहिलो चिनजानमा उर्मिलाप्रति केशवमा जन्मिएको मनोभाव र उर्मिलाले फैसलाका दिन केशवलाई अड्डामा बोलाउनुुले गरेको छ ।

कथामा मिहीन मनोविश्लेषणका सासाना धेरै पाटाहरू छन् । शिक्षित नारीको चेतना र व्यक्तित्व एकातिर छ, नारीभित्र रहने सौन्दर्यउन्मादको गन्ध पनि छ । शापरपरक सुन्दरता र मानसिक चरित्र साथै नहिडेको अर्को चित्र छ । अर्कोतिर पुरुषको सौन्दर्यप्रतिको आकर्षण, दम्भ र अहङ्कारको मनोविज्ञान छ । नारीमा आफ्नै सुन्दरताप्रति रहने शालीन दम्भ र पुरुषमा रहने अहङ्कारको द्वन्द्वको चित्रण कथाले शिल्पसाथ गरेको छ । सुन्दरता स्वास्नीमानिसहरूको व्यक्तित्व विकासका साथै वर्वादीको कारण बन्न सक्छ भन्ने यथार्थलाई कथाले राम्ररी चित्रण गरेको छ । कथाकारले समकालीन शहरी मनोविज्ञानलाई पनि उतारेका छन्, यस्ता घटनावृत्ति अपरिपक्व शहरीसंस्कृतिमा अलि बढिनै रहेको हुन्छ । अड्डाको फैसलापछि उर्मिलाको अवस्था, माधव र केशवको प्रतिक्रया के हुने र कथादिशा कतातिर तानिने हो भन्ने सङ्केत भएको भए तिनै पात्रको मनोतुष्टिको आयतन प्रत्यक्ष देखिने थियो ।

‘मोड’ ले पनि ‘उर्मिला भाउजुू’ को जस्तै मनोद्वन्द्वलाई उतारेको छ । स्वास्नीमानिसको आन्तरिक मन र बाह्य समाजको व्यवहारले सिर्जित अन्तद्र्वन्द्वकोा प्रतीक छ शोभा । समाज मनभित्रको ज्वालामुखी दन्काएर बाहिर चाहिँ सामान्य देखिन्छ । सामाजिक बाध्यता र मनभित्रको अहम्को द्वन्द्वले कथाले विभिन्न मोड पार गरेको छ । नेपाली समाजमा स्वास्नीमान्छे लोग्नेका आँखामा जब मर्छे सबैको लागि मर्छे, आमा बाबु आफन्तका लागि समेत । त्यस कारण नारीस्वर सँधै पराजित छ । नारीस्वर सँधै दमित छ । अर्को पाटो नारी मनभित्रको शङ्का र सन्देहले पनि उनीहरूको जीवनलाई सङ्घर्षभन्दा सङ्कुचनमा ल्याउँछ । ‘मोड’ पनि बाँकी मोडलाई छाडेर टुुङ्गिन्छ, उर्मिला भाउजू जस्तै । ‘कमल’ को हालत पनि त्यस्तै छ । कथाकार रमेश विकल कथाका नारीपात्र विन्यासमा मनोवैज्ञानिक क्षेत्रलाई बाँकी राख्छन् । त्यो भन्दा परको यात्रा, द्वन्द्व, उद्वेलन, सङ्घर्ष, सफलता बाँकी राखेर कथा टुुङ्ग्याइदिन्छन् । मनोविश्लेषणत्मक कथामा पाठक मनलाई थप मानसिक यात्रा दिने वैशिष्ट्य कथाशिल्प पनि हो यो ।
‘विचरा भद्र मानिस’ नारी अहङ्कारको ज्वालामा छ ।

एउटा स्वास्नी मानिस माया र निष्ठालाई कसरी निर्घात विथोल्न सक्छन्, अपमान गर्न सक्छन् र परिवार गृहस्थीको सुन्दरतालाई भताभुुङ्ग पार्न सक्छन् भन्ने सामाजिक मनोविज्ञानलाई ‘विचरा भद्र मानिस’ ले चित्रण गरेको छ । भद्र मानिस साँच्चै ‘विचरा’ बनेको छ । भद्र पुरुषको भद्रतामाथि उसकी श्रीमती पाकुुको ज्यादतीले सुन्दर परिवार मनभित्र धुजाधुजामा जलेर बाहिर पोखिएको छ । कथाकारले पुरुष मनोविज्ञान नारीमनोविज्ञानभन्दा कमजोर हुन्छ, घरपरिवार ध्वस्त गर्नभन्दा सम्झौता वा पलायनमा पुुग्छ भन्ने सन्देश दिएका छन् । यो पनि नेपाली समाजको भोगिदो यथार्थ हो । यही पुरुष मनोविज्ञानको विश्लेषण मेरो एक जना विचरा पत्नीपीडित साथीमा छ ।

सार्वजनिक जीवनको अनुुभूति पनि भएका कथाकार रमेश विकलले सार्वजनिक जीवनका विकृत परिपाटी र पात्रहरूलाई पनि उठाउन भ्याएका छन् । याने कि सङ्गठनमा रहने हाकिमी मनोविज्ञान पनि चित्रण गर्न भ्याएका छन् । ‘अस्वीकृत पराजय’ त्यसैको उदाहारण हो । कथा परपीडाको मनावृत्तिबाट सुरु हुन्छ र त्यसलाई दवाउदै निराशाको मनोस्थितिमा पुुग्छ । जब व्यक्ति निराश हुन्छ, निसहाय महसुस गर्छ, सम्पूर्ण परिवेशले निराशा र दिक्दारी दिन्छ भन्ने मनोविज्ञानको सुुुुषुुप्त धिपधिपी ‘अस्वीकृत पराजय’ को मनोविश्लेषणले दिएको छ । संसार जित्नेको हो भनेजस्तै कार्यालय, समाज जतासुकै शक्तिको पारख गरिन्छ, हार्ने त हदैमा दयाको भागिदार हो । जब मनभित्रको आगो निभ्छ, मानिस उद्दीप्त बन्न सक्दैन । ‘अस्वीकृत पराजय’ निष्ठामा बाँच्ने सामान्य कर्मचारीको हार हो । उसको निष्ठा अपहरण भएको छ । नोकरी सेवा हुनुुपर्नेमा चाकरी भएको छ, कत्र्तव्य हुनुपर्नेमा दुराचार (अवसर ?) भएको छ ।

दुराचारको केन्द्रमा हाकिम छ र कार्यालयका अरूहरू उसका वरिपरि अनुचर–वलय बनेका छन् । पदसोपान, त्यसले जन्माएको हाकिमीपन र निष्ठाको सानो स्वरबीच मनोवैज्ञानिक द्वन्द्व छ तर त्यो निकै शालीन छ । निष्ठाको त्यो सानो स्वर विशाल मनोविज्ञानमा औरल्लिएको छ, तर पराजित छ । अन्य कथाका प्रधान चरित्रहरू जिते पनि ‘अस्वीकृत पराजय’ मा भने हारेको छ, तर उसको मनले सम्मति दिएको छैन । त्यसैले त कथा अस्वीकृत पराज भयो । यसले सर्जक बाँचेको सयमको सरकारी कार्यालयको विम्ब सोलोडोलो उतारेको छ । कथामा देखिएका विषयवस्तुु भन्दा मनभित्र प्रतीक गुम्फनका पाटाहरू निकै प्रवल छन् । हाकिमी हैकममा उदीप्तता छ भने अर्कोतर्फ मौन आक्रोस र असहमति । एकातिर प्रणालीगत वेथिति छ भने अर्कोतर्फ इमान निष्ठाको सगरमाथा । पराजय अस्वीकृत छ तर पात्र सङ्घर्ष गर्न सक्दैन । कथान्त पराजयमा छ, तर अस्वीकृत पराजय । आफैप्रति, विवेकप्रति न्याय गरेर आक्रोस पोखेको भए कथाको फलाप्ति र प्रभाव ओजनदार हुनेथियो भन्ने ठाउँ भने पाठकलाई दिएको छ ।

‘मेरी सानी भतिजी प्रतिमा’ बालमनोविज्ञानमा लफ्रक्क भिजेको उत्कृष्ट कथा हो । सायद कथाकार विकललाई यसै कथाले बालमनोविश्लेषणको उत्कृष्टतामा पुु¥याएको छ । नेपाली समाजमा छिपेर रहेको छोरीप्रति गर्ने विभेदपूर्ण व्यवहारलाई यसले उधिनिदिएको छ । आफ्नै सन्तान भए पनि छोराका तुलनामा छोरीलाई आमाबाटै विभेद हुँदा अबोध बालिकामा पर्ने मानसिक चोटकी प्रतीक हो प्रतिमा । अशोक जन्मिएपछि आफ्नी आमाबाट छोरी प्रतिमाप्रति भएको व्यवहारले उनको मानसिक अवस्था खलबलिएको छ, ऊ टोलाउँछे, तर्सन्छे, सँधै भयभीत बन्छे । अशोक जन्मनुु अघिको बालसुलभ नटखटेपन र चाञ्चल्यता छैन । यसले आमासत्ताप्रति अचेत तहमा नै घृणा जन्मिएको छ । बालव्यक्तित्व विकासका लागि छोरा र छोरी दुवैमा आमाको समतापूर्ण व्यवहारको मनोवैज्ञानिक पक्ष कथाले उद्घाटन गरेको छ ।

‘अनुहार मेटिएको मान्छे’ सम्भ्रान्त घरकी छोरी शोभा, सामान्य पहाडी प्रकृतिको राम र उनीहरूकी छोरी विद्याको त्रिकोणीय मनोयथार्थ हो । एक कोणमा सभ्यता, संस्कार र संस्कृतिहीन शोभाको हठी स्वभाव छ । विपरीत अर्को कोणमा सामान्य जीवनशैली, सादा विचार, सामान्य जागीरमा रहेको रामको शालीन स्वभाव छ । बीचमा सङ्क्रमणमा चेप्टिएकी छोरी विद्या छ । तिनै पात्र चरित्रव्यापारमा आआफ्ना स्वमा गतिशील छन् । हठ, शालीनता र सम्झौताको चरित्रव्यापार कथाको मनोवैज्ञनिक पक्ष हो । यसले नेपाली सामाजिक सङ्क्रमणको चित्र उतारेको छ ।
‘नयाँ सडकको गीत’ दृष्टिविहीन अशक्त माग्ने व्यक्तिको दैनिकी हो । कथाको प्रधान भाव दृष्टिविहीन व्यक्तिको श्रीमती सानीमाथि कतिपय बटुवाहरूले गरेको व्यवहार, त्यसमाथि जन्मिएको आक्रोस र यदाकदा आफ्नै प्रिय सानीप्रतिको सन्देहको मनोतापमा उतार्न केन्द्रित छ । व्यङ्ग्य छ, विद्रोह छ, तर विरक्ति छैन । एकपटक उसकी सानीलाई अरूले जिस्क्याउँदा सानीको चेहरा भावले कसरी प्रतिक्रिया जनाएको होला, त्यो दृश्य हेर्ने मनभित्र लुकेको छटपटी पनि छ दृष्टिविहीनमा ।

‘फुुटपाथ मिनिस्टिर’ दुुई प्रकारका मनोविज्ञान छ, एउटा बालमनोविज्ञन र अर्को शक्तिमनोविज्ञान । बालमनोविज्ञान प्रवल रूपमा देखएको छ, गोरे, जघने, किटी, भोटेहरू सडकबालमनोविज्ञानमा छन् । यसले अभाव, र दःुखलाई भन्दा पात्रहरूको मानसिक अन्तरसङ्घर्ष प्रवल देखिएको छ । कथाको नायक गोरे भएपनि देखिए पनि किटीको वरिपरि कथा घुमेको छ । किटीलाई पाउन शक्तिमनोविज्ञान उत्कर्षमा छ, तर त्यति प्रकट हुँदैन । यसले बिम्बात्मक सन्देश पनि दिएको छ । नारीहरू जहिले पनि शक्ति र संरक्षणको चाहमा हुन्छन्, यौनमा होसको अन्य व्यवहारमा तर पुरुषमनोविज्ञानमा अहम् हुन्छ भन्ने देखिएको छ । कथाबस्तुको आधारमा सडक बालकको पीडा देखाइए पनि गोरे, किटी, जघनेमा रहेका भावना र चाहनाहरुले हुर्काएको सङ्घर्ष, इष्र्या, क्षोभ र बदलाको भावनाले कथालाई मनोवैज्ञानिक मोड दिएको छ । किटी पहिला जघनेको, पछि गोरेको र अन्तमा जघनेको संरक्षणमा पुुग्नुमा नारी मनोविज्ञानको कारण छ । लिविडो शक्तिबाट बाल पात्रहरु परिचालित छन््, जीवनभरि नै त्यही शक्तिले उनीहरुलाई तानिरहेको छ । सिग्मण्ड प्रायडले भने झै मानिसको मस्तिष्क र व्यक्तित्व परिचालनको मूल शक्ति अवचेत÷अचेत तहमा गढेको वासाना रहेको छ । चेतना तहमा नआएका भावनाहरु गोरे, जघने र किटीमा देखिएको छ । किटीमा त्यो राग बढी नै छ । कथाले यो छोपिएको मनोतहलाई उघारेका छन् ।

विकललाई सामाजिक यथार्थवादी कथाकारका रूपमा मात्र लिने गरिएको छ । तर मनोविश्लेषणका आयाममा पनि पनि उनी त्यत्तिकै कुसल छन् । उनका कथाहरूले सामाजिक मनोविज्ञान उतार्ने गर्दछन् । मनोविज्ञानको घनत्व र आयतनमा भने भिन्नता छ । सामाजिक मनोविज्ञानभित्र वर्गसङ्घर्षको मनोद्वन्द्व, यौनमनोविश्लेषण, नारीमनोविश्लेषण, बालमनोविलेषण र पुुरुष मनोविज्ञानले स्थान पाएका छन् । जुन परिवेशको मनोविश्लेषण भए पनि समाजका दमित स्वर, मनभित्रका दमित इच्छा–एष्णा, उत्साह, उन्माद र उहापोहहरूले निकास पाएका छन् । यस अर्थमा आख्यानकार रमेश विकल आयामिक मनोविश्लेषक स्रष्टा बनेका छन् ।

निष्कर्ष
फ्रायडीय मनोविज्ञानको सिद्धान्त अनुसार मानिस अतृप्त÷अवचेत तहमा रहेका चाहना, दमित इच्छाका आधारमा जीवनव्यवहार गर्दछ । साहित्यले त्यसलाई सहज रूपमा चित्रण गर्दछ । मनोविश्लेषणात्मक आख्यानमा केही तत्व र प्रवृत्तिहरू हुन्छन् । स्रष्टाहरू पात्रका भय, त्रास, उत्साह, उन्माद, विद्रोह वा विक्षिप्तताको उदात्तीकरणमार्फत समाजमा हस्तान्तरण गर्दछन् । भनौं यसले सामाजिक साम्यता वा समाधान खोजेको हुन्छसुुुुषुप्त, अतृप्त, दमित भावना र मनोकाङ्क्षाको प्रकाशन÷स्वरूपीकरण गरिएको हुन्छ । असामान्य मानसिक अवस्थाको सामन्यीकरण मार्फत शिक्षा र सन्देश दिइएको हुन्छ । आत्मरति÷आत्मतुष्टिलाई सीमाङ्कित नगरी सामान्यीकरण गरिएको हुन्छ ।

साथै मनोविश्लेषणलाई वाष्पीकरणभन्दा माथि विम्ब र वस्तुु प्रतीकमा प्रयोग गरिएको हुन्छ । रमेश विकलका आख्यानमा यी पक्षहरू सामान्य रूपमा चित्रित छन् । जसरी पारिजात, विश्वेश्वर, भिक्षु मल्लबन्धुमा देखिन्छ । उनीहरूभन्दा विकल कति फरक छन् भने विकल सामाजिक मनोविज्ञानको सबै पाटोमा छन् । विकलका चरित्रहरू मानसिक पलायन र दुखान्तबाट माथि छन्, कि त सङ्घर्षमा छन् वा प्रायश्चित्त बोध भए पनि सितिमिति पलायन हुुँदैनन् । पात्रहरू इद (अवचेत) मा होइन, इगो (अहम्) मा छन् र त्यो उपल्लो अहम् (सुपर इगो) सामाजिकतामा परिणत हुने कार्यव्यापार गर्छ । अर्को शब्दमा भन्दा नयाँ सामाजिक मानक र मूल्यसंरचना स्थापित गर्ने प्रयासमा रहन्छ । त्यो पात्रहरूको अन्तरमानसिकता विद्रोहमा व्यक्त हुन्छ । दृष्टान्त सुनौली, उर्मिला र लालगेडी, सोभिते, सुुभद्रा, किटी, कान्छी माइज्यू, बाबुसाहेव, भद्र मानिस आदिमा छर्लङ्ग छ ।

विकलको मनोविश्लेषणात्मक प्रयोगले स्थापित गरेको अर्को पक्ष निस्क्रिय अन्तरमानसिकता निकास खोज्न सक्दैन भन्ने हो । त्यो गुम्सिएर, वाष्पित भएर मनभित्रै छटपटिन्छ । त्यसैले विकलका चरित्रहरू सक्रिय अन्तरमानसिकतामा छन्, निकास खोज्छन्, नसक्दा पनि निकासको मार्ग द्योतन गर्छन् । किटीले त्यसै गरी, उर्मिला भाउजू, सावित्री, कान्छी माइजू सबैले निकास पाए । निकास पाउने क्रममा सुनौली लगायतहरु जैवनिक विभ्रममा पनि परे । विश्वेश्वर, मल्लबन्धुु, भिक्षु र पारिजातको जस्तो विशुद्ध मनो÷यौनमनोविश्लेषणमा विकल सीमित छैनन् । मनोविश्लेषणका सामाजिक आयामहरू निषिद्धता र अवसादमा अस्तिहीन बन्दैनन्, आत्मिक स्वस्थापना गर्न पुुग्छन्, प्रयत्न गर्दछन् । मानिसका इच्छा, आवेग, अभिरुचि र उन्मादहरू सकारात्मक वा वैयक्तिक तुष्टिका मात्र हुनसक्छन् । सकारात्मक मनोआयामलाई विकलले चारित्रीकरण गरेका छन् । मानिसका एषणाहरू समाजका एषणा बनेका छन् । त्यसैले विद्वान् आइ ए रिचर्डसले भनेझै सम्वेदना, विम्बदृष्टि, भावना, सम्वेग तथा आनन्द र पीडा आवेगहरू चेतन विशेषताका नाम हुन्, अभिन्न भाग हुन् । सचेत स्रष्टा यसलाई कसरी भुल्न सक्छ ?

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }