शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्बजानिक (भिडियो सहित)


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १३, २०८१
  • 140
    SHARES

काठमाडौँ- महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरूले मनाउने यस पर्वमा नेपालमा भगवान् पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइँदै आएको छ ।

मूलतः नवरात्रमा चार महारात्रि मुख्य रूपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्रि आदी अनादि कालदेखि मुख्य रूपमा मनाइँदै आइएको छ । विशेष गरी महाशिवरात्रीलाई भगवान् शिवजी उत्पत्ति भएको दिनको रूपमा मनाइँदै आएकोले यस दिन शिव पूजा, आराधना गर्ने उपवास बस्ने, जलधारा दिने र रात्रिमा दियो बाली धुनी तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ती छ ।

आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मूर्तिका एक मूर्ते भएका, कहिले व्रम्हा, विष्णु, महेश्वर भइरहने, समुन्द्र मन्थन गर्दा निस्केको काल कुट विष घाटीमा राखी नीलकण्ठ भइरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रिका दिन गाईको दूधको जलधारा दिनाले, पूजाआजा गर्नाले, उपबास बस्नाले, यस लोकमा सुख, शान्ति पाई परलोकमा कैलाश पद मिल्ने हुनाले अन्य दिन भन्दा महाशिवरात्रि विशेष मानिन्छ ।

देवाधिदेव भगवान् महादेवका यिनै महत्त्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्व सन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्‌नो मधुर सङ्गीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरू लेखेका हुन् दिनेश खनालले । महाशिवरात्रि पर्वको विशेष अवसरमा बबिना भट्टराईको आफ्‌नै आध्यात्मिक युट्युब च्यानल श्री भजन्स् मार्फत सार्वजनिक भएको उक्त भजनमा ऐ रेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको ।  म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

शिव भजन जय जय शम्भु को भिडियोमा गायिका तथा सङ्गीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौँको पूर्वोत्तरमा रहेको प्रसिद्ध तीर्थस्थल गोकर्णेश्वर जहाँ विशेष शिव लिङ्ग स्थापित गरिएको छ सोही स्थान गोकर्णेश्वर नगरपालिका, उत्तर बाहिनीको धार्मिक स्थलमा  एजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा  बबिना एउटी शिव भक्तिनीको रूपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आफूलाई हराएकी छिन् । भजनमा उनी यति डुबेकी छिन् मानौँ भजन गाइरहँदा साक्षात् देवाधिदेव महादेव उत्तर बाहिनीमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेष भूषाले सबै नारीहरूले अनुसरण गर्नु पर्ने एउटी साध्वी नारीको रूपमा उनी प्रस्तुत भएकी छिन् ।

महाशिवरात्रीको सन्दर्भ विशेषमा आफ्‌नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा सङ्गीतकार बबिना भट्टराईले आगामी दिनहरूमा यसै च्यानल मार्फत आफ्‌ना विविधतायुक्त भजनहरू भजन प्रेमी दर्शक, श्रोताहरू माझ ल्याउने विश्वास व्यक्त गर्दै  आफ्‌नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्‌क्राइव, लाइक, कमेन्ट, शेयर गरी सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।

भगवान् प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा सङ्गीतकार बबिना भट्टराईका स्वर तथा सङ्गीतमा भगवान् श्री कृष्ण, भगवान् श्री राम, भगवान् महादेव लगायतका विभिन्न भजनहरू विगतका दिनहरूमा वीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम सङ्गीतमा पनि उनले धेरै गीत, गजलहरूमा आफ्‌नो सुमधुर स्वर दिएकी छिन् । गायन र सङ्गीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरूमा पनि भजनद्वारा भगवान्को भक्ति भाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

‘जय जय शम्भु’  सुन्नुहोस् !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)