रसुवा- जिल्ला खेलकुद विकास समितिको आयोजनामा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८१ चैत २६ गतेदेखि २८ गतेसम्म धुन्चेमा भव्य रुपमा सञ्चालन हुने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले प्रतियोगिताबारे जानकारी गराउँदै उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह तामाङले गर्ने बताएका छन्। प्रतियोगिताको समापन भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ।
यस प्रतियोगितामा रसुवा जिल्लाका पाँच वटा गाउँपालिका गोसाईंकुण्ड, कालिका, उत्तर गया, नौ कुण्ड र आमाछोदिङ्मोबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाउने छन्।
प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सजस्ता विभिन्न खेलहरू समावेश गरिएका छन्। अध्यक्ष लोप्चनका अनुसार प्रतियोगितामा झन्डै ३०० भन्दा बढी खेलाडी सहभागी हुने बताए। प्रतियोगिता अवधिभर खेलाडीहरूको रु. ५ लाख बराबरको स्वास्थ्य बिमा गरिने पनि उल्लेख गर्नुभयो। निष्पक्षता र उच्चस्तरीय प्रतिस्पर्धाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरू नियुक्त गरिनेछन्। प्रतियोगितामा पहिलो पटक नगद पुरस्कार राशिको व्यवस्थापन गरेको पनि बताए।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गाउँ पालिकालाई २२ हजार २ सय २ रुपियाँ नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष लोप्चनले जानकारी दिनुभयो। उहाँका अनुसार, दोस्रो र तेस्रो हुने गाउँपालिकालाई क्रमशः नगद ११ हजार १ सय १ रुपियाँ र ५ हजार ५ सय ५ रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रत्येक खेलमा छात्र/छात्रातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १ हजार १ सय १ रुपियाँ प्रदान गरिने पनि जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा स्थानीय उत्पादनको प्रवर्द्धन तथा स्टल व्यवस्थापन समेत गर्ने बताए।
