काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्त्रगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्प दंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
विभाग अन्त्रगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए ।
रेबिज तथा सर्प दंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए । उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरूलाई बोलाएर भनेका थिए । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधी आपूर्ति गरेको हो ।
विभागको तथ्यांक अनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्प दंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ ।
यसै गरी, सर्प दंशका बढी समस्या आउने मधेसमा सर्प दंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।
मागका आधारमा अन्य प्रदेशहरूमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।
