शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन


  • माउन्टेन खबर
  • बिहिबार, साउन १६, २०८२
  • 293
    SHARES

काठमाडौँ-  कालिकास्थानस्थित सर्वनाम नाटक घरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ प्रदर्शन भइरहेको छ । सर्वनाम २१ औँ ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाईँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरूको अभिनय रहेको छ ।

सुन्दरता, खुसी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । जहाँ दुई समानान्तर पात्रहरूको आफ्नो भोगाइलाई चित्रण गरिएको छ । एकातिर प्रकृतिसँग रमाउन चाहने रानी फूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरू गुन्जिन थाल्छन् । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफूलाई कुरूप भनिएकै कारण उसले सुन्दर चित्रहरू बनाउन थाल्छ । यी दुई पात्रहरूको यात्रा, सङ्घर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ ।

समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरक फरक हुन्छ । समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतिसँग रमाउन चाहने रानी फूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्त्व खोज्ने चित्रकार र आफैभित्र खुसी खोज्ने रानी फूलको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।

मितव्ययी रङ्ग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरू निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंग प्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत नाट्य प्रशिक्षण दिँदै आइरहेका छन् । तीन महिने रङ्ग प्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ…’ त्यही सिद्धान्तमा आधारित रहेको छ । बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिवार १ बजे मञ्चन हुँदै आइरहेको नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)