रसुवा– बागमती प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री प्रभात लामा सोमबार आफ्नो गृहजिल्ला रसुवा पुगेका छन्। मन्त्री बनेको खुसीयालीमा स्थानीयवासीले उनलाई फूलमाला र खादा अर्पण गर्दै भव्य स्वागत गरेका छन्।
बेत्रावती पुल हुँदै जिल्ला प्रवेश गर्ने क्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणले ताली र नारासहित उनको स्वागत गरेका थिए। त्यस अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले विशेष कार्यक्रम आयोजना गरी मन्त्री लामालाई बधाई तथा सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै लामाले रसुवाली जनताको आकांक्षा, सुशासन र समावेशी विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले भौतिक पूर्वाधार विस्तारसँगै रोजगार, आयआर्जन, पर्यटन, शिक्षा र स्वास्थ्यलाई अवलम्बन गर्दै जिल्लालाई समृद्धिको बाटोतर्फ अघि बढाउने तयारी भएको स्पष्ट पारे।
लामा प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन्। उनी रसुवाबाट प्रतिनिधित्व गर्दै मन्त्री बन्ने तेस्रो व्यक्ति हुन्। यसअघि रामकृष्ण आचार्य र डी.बी. लामाले विभिन्न मन्त्रालय सम्हाल्दै जिल्लाको प्रतिनिधित्व गरिसकेका थिए।
स्थानीयवासीहरूले लामाको मन्त्री पदलाई जिल्लाको समग्र विकासका लागि ठूलो अवसरका रूपमा लिएका छन्। उनीहरूको अपेक्षा छ— नयाँ नेतृत्वले अब रसुवालाई पछाडि पार्ने होइन, अघि बढाउने ठोस काम गर्नेछ।
