मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विशेष महाधिवेशनको मागले कोशीबाट कांग्रेस नेतृत्वमाथि तीव्र दबाब


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २५, २०८२
  • 133
    SHARES

विराटनगर — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा कोशी प्रदेशबाटै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष देखिएको छ । कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले प्रदेशका करिब दुईतिहाइ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गर्दै वर्तमान नेतृत्वमाथि दबाब बढाएका छन् ।

फागोका अनुसार कोशी प्रदेशका प्रतिनिधिहरूको काठमाडौं आगमनले विशेष महाधिवेशनको माग असन्तुष्टि मात्रै नभएर संगठित आन्दोलनको चरणमा प्रवेश गरिसकेको संकेत गर्छ । ‘२ सय ७७ जना प्रतिनिधि काठमाडौं आइसकेका छन्, ६९ जना यात्रामा छन् र भोलिसम्म अझ धेरै जान्छन्,’ फागोले भने, ‘यो संख्याले कोशीको मनोविज्ञान प्रष्ट देखाउँछ ।’

कोशी प्रदेशमा करिब ७सय २८ प्रतिनिधि रहेको बताउँदै फागोले बहुमत मात्र नभई करिब दुईतिहाइ प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गरे । उनका अनुसार यसले पार्टीभित्र वर्तमान नेतृत्वप्रति गहिरिँदै गएको अविश्वासलाई सतहमा ल्याएको छ ।

पहिले सभापति शेरबहादुर देउवाको समूहमा रहेका फागो अहिले पार्टी रूपान्तरणको एजेन्डासहित गगन–विश्वप्रकाशको धारमा उभिएका छन् । उनका अनुसार यो व्यक्तिगत धार परिवर्तन होइन, पार्टीको अस्तित्व जोगाउने प्रयास हो । ‘नेतृत्वले कांग्रेसको सिद्धान्त सत्ता साटासाटको विषय बनाएको छ,’ उनले आरोप लगाए, ‘कांग्रेस आज आफ्नै खुट्टामा उभिन सक्ने अवस्थामा छैन ।’

फागोले निर्वाचनअघिको गठबन्धन कांग्रेस कमजोर हुने मुख्य कारण भएको दाबी गर्दै विशेष महाधिवेशनमार्फत यसबारे स्पष्ट निर्णय हुनुपर्ने बताए । उनका अनुसार एमाले–माओवादीसँगको गठबन्धनले कांग्रेसको संगठन, पहिचान र वैचारिक स्पष्टता क्षीण बनाएको छ ।

विशेष महाधिवेशन हुने–नहुने विषयमा नेतृत्व तहमा अन्योल देखिए पनि फागो विधानलाई आफ्नो मुख्य आधार मान्छन् । ‘विधानले ५४ प्रतिशत प्रतिनिधिलाई विशेष महाधिवेशन माग गर्ने अधिकार दिएको छ,’ उनले भने, ‘यो कानुनी र वैधानिक प्रक्रिया हो, रोक्न सकिँदैन ।’

विशेष महाधिवेशनले नयाँ नेतृत्व जन्माउन सक्ने सम्भावनालाई पनि उनले अस्वीकार गरेनन् । ‘विशेष महाधिवेशन भनेको पार्टीलाई जीवन्त बनाउने प्रक्रिया हो,’ फागोले भने, ‘नेतृत्व, नीति र कार्यदिशा- सबैमा पुनरावलोकन हुन सक्छ ।’

फागोले कोशी प्रदेशका प्रतिनिधिहरूका लागि १६ वटा समिति बनाएर समन्वय भइरहेको जानकारी दिए । उनका अनुसार यो अभियान कुनै व्यक्तिकेन्द्रित नभई पार्टी रूपान्तरण केन्द्रित हो ।

कांग्रेसभित्र कोशी प्रदेशबाट उठेको यो दबाबले अब विशेष महाधिवेशनको बहसलाई सम्भावनाबाट अनिवार्यताको दिशातर्फ धकेल्ने संकेत देखिन थालेको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)