बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्छः उपसभापति शर्मा


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ४, २०८२
  • 160
    SHARES

तनहुँ-  देश यतिबेला आक्रोश, पीडा र अन्योलको मोडमा उभिएको भन्दै नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यस्तो बेला बदलिन सक्ने शक्ति मात्रै देश बदल्न सक्षम हुने बताउनुभएको छ।

सोमबार दमौलीमा नेपाली काँग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जो बदलिन सक्छ, उसले मात्र देश बदल्न सक्छ। कांग्रेस बदलिएको छ, त्यसैले देश बदल्ने जिम्मा पनि उसैले लिन सक्छ।”

भदौ २३ र २४ गतेको आन्दोलनमा ७४–७५ जना जेनजी युवाले ज्यान गुमाएको प्रसंग उल्लेख गर्दै शर्माले त्यसलाई राष्ट्रको गहिरो घाउको संज्ञा दिनुभयो। “आमाको काख रित्तियो, घर जले, समाज टुक्रियो। यस्तो अवस्थामा देशलाई उत्तेजनाले होइन, धैर्य र समन्वयले अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार आगामी निर्वाचन दलको जित–हारको खेल मात्र होइन, संकट व्यवस्थापनको क्षमताको परीक्षण हो। “मूल प्रश्न कसले जित्छ भन्ने होइन, मूल प्रश्न देशलाई विषम परिस्थितिबाट कसले सुरक्षित निकास दिन सक्छ भन्ने हो,” उहाँले स्पष्ट पार्नुभयो।

शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालमा संविधान जारी हुँदासम्म कांग्रेसले विभाजित शक्ति र समुदायलाई एक ठाउँमा ल्याएर सहमतिको बाटो खोलेको दाबी गर्नुभयो। २०६४ मा कांग्रेस कमजोर हुँदा संविधान निर्माण प्रक्रिया लम्बिएको र २०७० मा पहिलो शक्ति बनेपछि दुई वर्षमै संविधान जारी भएको उदाहरण उहाँले स्मरण गराउनुभयो।

पार्टीभित्रको रूपान्तरणबारे बोल्दै उहाँले कांग्रेस अब पुरानै शैलीमा नचल्ने बताउनुभयो। “अब एउटै व्यक्तिले पटक–पटक अवसर पाउने अवस्था हुँदैन। दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था र सक्ने कुरा मात्र बोल्ने प्रतिबद्धता हाम्रो आत्मसुधारको प्रमाण हो,” उहाँले भन्नुभयो। उहाँले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै नयाँ पुस्ताको नेतृत्वबाट देशलाई नवीन मार्गमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले “५ पालिका, ५ वर्ष, ५५ काम” को विकास मार्गचित्र सार्वजनिक गर्नुभयो। मादी जलाशय, विश्वविद्यालय स्थापना, धार्मिक रिङरोड, सुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा र डिजिटल तनहुँ निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।

सभामा केन्द्रीय सदस्यहरू तथा जिल्ला नेतृत्वले बदलिएको कांग्रेसलाई जिताएर स्थिरता र विकासको नयाँ अध्याय सुरु गर्न मतदातासँग आग्रह गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)