काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा देखिएको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सचेतक राईले घटनाको वास्तविकता सार्वजनिक गर्न निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो । उहाँले साम्प्रदायिक सद्भाव खल्बल्याउने उद्देश्यले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेमाथि कानुनी कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राईले कुनै पनि धर्मलाई शंकाको घेरामा नराख्न सरकारलाई आग्रह गर्दै धार्मिक तनाव समाधानका लागि सरकार खुला, पारदर्शी र सहयोगी भूमिकामा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाउँदै उहाँले धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एक पक्षसँग मात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्ष असन्तुष्ट र असुरक्षित महसुस गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “धर्मनिरपेक्ष राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा सरकार सबै नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ । एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफू उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरिएको अनुभव गर्नुहुँदैन ।”
राईले धर्मका नाममा हुने द्वन्द्वले अन्ततः कुनै पनि धर्मलाई विजयी नबनाउने, बरु मानवतालाई नै पराजित गर्ने इतिहास रहेको स्मरण गराउनुभयो । सुनसरीको घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।
उहाँले शान्ति भनेको कर्फ्यु हटाउनु वा सडक खोल्नु मात्र नभई नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई आफ्नै छिमेकीका रूपमा हेर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताउनुभयो ।
