ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गर्नुभएको छ। नमुना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुसालले उदय जी कुनै दाग नलागेको, भ्रष्टाचार विरोधी र अत्यन्तै इमान्दार नेता भएको बताउनुभयो। उहाँले उदय शमशेर राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने कुरामा जोड दिँदै उहाँको विजय नै क्षेत्रको विकासको आधार भएको बताउनुभयो।
सम्बोधनका क्रममा भुसालले नेपाली कांग्रेस अब पूर्ण रूपमा बदलिएर नयाँ परिवेशमा आएको र यो देशको नेतृत्व अब पार्टी सभापति गगन थापाले गर्ने ठोकुवा गर्नुभयो। विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताउँदै उहाँले राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिनुभयो। बिना एजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यसपटक मत नदिने उहाँको दाबी थियो।
राष्ट्रको मुहार फेर्ने संकल्प कांग्रेसले लिएको बताउँदै उहाँले कांग्रेसलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहोरात्र खटिन देशभरका र विशेष गरी गोदावरी क्षेत्रका नेपाली महिलाहरूलाई विशेष आह्वान समेत गर्नुभयो। उदय शमशेर राणा जस्ता इमान्दार र क्षमतावान् नेतालाई जिताउनु नै ललितपुर क्षेत्र नं. १ को समग्र विकास, सुशासन र नागरिकको भविष्यको ग्यारेन्टी भएको उहाँको तर्क थियो।
