काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिनुभएको छ ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नुभएको थियो ।
उहाँहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई पनि दिनुभएको प्रेस सल्लाहकार रावलले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईंहरूले निर्वाचनमा भाग लिनुभयो । यो निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निर्वाह गर्नुभयो । यसका निम्ति सबैलाई धन्यवाद छ । निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।”
