काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ।
दलको नेता सर्वसम्मत रुपमा चयन गर्न खोजिए पनि सहमति नजुटेपछि निर्वाचनमार्फत चयन गर्न लागेको हो ।
पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उमेदवारी दर्ता शुक्रबार दिउँसो ३ बजे हुनेछ भने साढे ४ सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।
संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन्।
केसीले भने दलको नेतामा सहमति नभए आफू निर्वाचनमा नजाने बताएकाछन् । ‘प्रत्यक्षलाई गर्ने की, सबैभन्दा युवाहरूलाई गर्ने की, सबैभन्दा सिनियरबाट गर्ने हो एउटा मापदण्ड बनाउ । होइन भने सहमति गरेर ल्याउ, प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिम भन्ने नै मेरो कुरा हो,’ केसीले भने, ‘निर्वाचननै हुने भयो भने म प्रतिस्पर्धामा जान्नँ ।’
सभापति गगन थापा प्रत्यक्ष निर्वचितबाटै संसदीय दलको नेता चयन गर्ने पक्षमा छन् । त्यसो हुँदा थापाले आचार्यलाई अघि सार्ने सम्भावना छ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।
