मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र सार्वजनिक


  • दुर्गाराज पाण्डे
  • सोमवार, बैशाख १४, २०८३
  • 311
    SHARES

काठमाडौँ – धार्मिक पर्यटनको नजरमा पनौती खलाँती भूमि डाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र वैशाख १२ गते शनिवार एक समारोहका बिच  प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

पनौती नगरपालिका वडा नं १२ खलाँती भूमि डाँडाको प्राकृतिक, धार्मिक, सांस्कृतिक अनि आर्थिक पक्षलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रदर्शनीको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङले भालेश्वर महादेव मन्दिर प्राङ्गणमा अवस्थित बालप्रकाश माध्यमिक विद्यालयको सभा हलमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले खलाँती भूमि डाँडा र आसपासका विभिन्न पाटलाई समेटेर वृत्तचित्र तयार पारिएको छ । परशुराम अधिकारी निर्माता र लेखन रहेको उक्त वृत्तचित्रको सह निर्मातामा जयराम के.सी र कृष्णचन्द्र अधिकारी रहनुभएको छ ।

सो वृत्तचित्रको  निर्देशन त्रिभुवन बिश्वबिद्यालयका उपप्राध्यापक डा. राजन विनायक पासाले गर्नुभएको छ भने दृश्य सम्पादन प्रशान्त श्रेष्ठ र स्वराङ्कन दुर्गाराज पाण्डेले गर्नुभएको छ ।

वृत्तचित्रको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. जगमान गुरुङले पनौती क्षेत्रका धार्मिक, पौराणिक, सांस्कृतिक र ऐतिहासिक विशेषताहरूको चर्चा गर्नुभयो ।

नेपालका चौसट्ठी ज्योतिर्लिङ्गहरू मध्ये भालेश्वर १० औँ ज्योतिर्लिङ्गका रूपमा हिम वत् खण्डमा उल्लेख भएको सन्दर्भ चर्चा गर्दै वृत्तचित्रले सिङ्गो पनौती, भूमि डाँडा मात्र नभएर मूल भालेश्वर र यहाँका गुम्बा र देवीहरूको प्रचार देश विदेशसम्म पुग्ने विचार व्यक्त गर्नुभयो । यस वृत्तचित्रले खलाँती भूमि डाँडाको धार्मिक पर्यटकीय सम्भावनालाई समेटेकोले यो क्षेत्र भविष्यमा पर्यटनको गन्तव्य बन्न सक्ने विचार राख्नुभयो साथै उहाँले कार्यक्रम सुरु हुनुपुर्व भालेश्वर महादेव मन्दिरमा पूजासमेत गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा साहित्यकार सूर्यप्रसाद लाकोजूले स्रष्टा, संस्कृति र सभ्यता बचाउन हरेक चेतनशील वर्गले योगदान गर्नुपर्ने भन्दै अक्षरकर्मीहरूले कला साहित्यमार्फत समाजमा योगदान गर्नुहुँदा आफ्नो जन्मस्थानका बारेमा वृत्तचित्र निर्माण गरेर निर्माता र लेखक परशुराम अधिकारीले थोरै भए पनि मातृ ऋण तिरेको विचार व्यक्त गर्नुभयो ।

वृत्तचित्र किताबभन्दा छिटो दर्शकमाझ पुगी स्थानीय ज्ञानको प्रचार हुने भएकाले यसले सिङ्गो पनौती क्षेत्रको गरिमा बढाएको हुँदा वृत्तचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा अर्का अतिथि पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य डा. भरतप्रसाद बडालले खलाँती भूमि डाँडालाई कृषि र उद्योगले भन्दा पर्यटनले समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयो । यस वृत्तचित्रले खलाँती भूमि डाँडाको सेरोफेरोलाई समेटेकोले यस क्षेत्रलाई संसारभर चिनाउन सफल हुने र यो क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बन्ने धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा वृत्तचित्र निर्देशक एवम् सम्पादक उप प्राध्यापक डा. राजन विनायक पासाले आफूले यस्ता थुप्रै वृत्तचित्र निर्माण गरिसेकेको र अबको समय धार्मिक पर्यटनको समय भएकोले गुम्बा,भालेश्वर र यहाँका पाँचदेवीलाई एकै पटक धार्मिक पर्यटनसँग जोड्न सके भूमि डाँडामा पर्यटन विस्तार हुने धारणा राख्नुभयो । उहाँले मन्तव्यका क्रममा वृत्तचित्रले दिएका सुझावलाई स्थानीय सरकारले कार्यान्वयनमा लिएर जाने हो भने कलाँती भूमि डाँडाको पर्यटकीय भविष्य उज्यालो रहेको छ भन्ने विचार राख्दै वृत्तचित्र निर्माणको उद्देश्यका बारेमा बताउनुभयो ।

सो कार्यक्रममा बालप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास थापाले आफ्नो विद्यालयमा विद्वान् प्राज्ञहरूलाई ल्याएर वृत्तचित्रको सार्वजनिकीकरण गरेकोमा निर्माता, निर्देशकहरुलाई धन्यवाद दिनुभयो साथै वृत्तचित्रले यस क्षेत्रको बारेमा नयाँ तथ्य पस्किएकोले यो वृत्तचित्र खलाँती भूमि डाँडाको धार्मिक लगायत अन्य पर्यटन प्रवर्धनमा कोसे ढुङ्गा साबित हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पनौती न. पा वडा नं १२ का वडाध्यक्ष जयराम के.सिले अतिथिहरूलाई स्वागत गर्दै आफ्नो वडामा राष्ट्रिय विद्वान् व्यक्तित्वहरू आएर वडाको गरिमा बढाइ दिएकोमा धन्यवाद दिँदै खलाँती भूमि डाँडाको पहिचान बढाउन र पर्यटन प्रवर्द्धन गर्न योगदान गरेकोमा निर्माता निर्देशकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा समापन मन्तव्य राख्दै कार्यक्रमका सभापति एवम् वृत्तचित्र निर्माता परशुराम अधिकारीले पित्त भूमिबाट मातृ ऋण तिर्न वृत्तचित्र बनाएर सानो प्रयास गरेको विचार राख्नुभयो । वृत्तचित्र निर्माणमा आफूहरूले झन्डै २ वर्ष लगाएको र थुप्रै पटक खलाँती भूमि डाँडाका गाउँवस्तीको यथार्थता र गहिराई बुझ्ने मौका मिलेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल ऋषि प्रा.डा.जगमान गुरुङ र अन्य अतिथिका रूपमा प्राज्ञ विद्वान्‌हरुले भूमि डाँडामा पाइला राखिदिएर यस क्षेत्रको पहिचान र गरिमा बढाइ दिएकोमा प्रमुख अतिथि प्रति आभारी हुँदै कार्यक्रम सफलताको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा वृत्तचित्र निर्माणका क्रममा सहयोग गर्नुहुने सबैलाई कदर पत्रले सम्मान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रमको उद्घघोषण मिडियाकर्मी दुर्गाराज पाण्डेले गर्नुभएको थियो ।

वृत्तचित्र हेर्नलाई यहाँ क्लिक गर्नुहोला :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)