शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन

टीओबी बाइकर समूहका गतिविधि र भूमिका शंकास्पद ठहर


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १३, २०८३
  • 81
    SHARES

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ गतेको जेन जी आन्दोलनका क्रममा विवादास्पद टिबेटन ओरिजिन ब्लड (टीओबी) बाइकर समूहका गतिविधि र भूमिकालाई शंकास्पद ठहर गरेको छ ।

आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनमा टीओबी समूह कसले परिचालन गरेको थियो भन्ने बारेमा थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ ।

निषेधित क्षेत्र नाघ्दै प्रदर्शनकारीहरू बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँबानेश्वरस्थित एभरेस्ट होटल अगाडि पुगेपछि भीडको संख्या बढेर करिब २०–२५ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ। सोही क्रममा “टीओबी” लेखिएका कालो टिसर्ट लगाएका तथा शरीरमा सोही चिन्हको ट्याटु खोपेका १५–२० जनाको बाइकर समूह प्रदर्शनस्थलमा प्रवेश गरी भीडलाई अगाडि बढ्न उक्साएको देखिएको छ।

एभरेस्ट होटल अगाडि ठूलो भीड जम्मा भएपछि करिब १२ बजेतिर “हामी नेपाल” संस्थाका सुधन गुरुङले भीडको नेतृत्व गरेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित बन्दै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको र स्थिति तनावपूर्ण बनेको जनाइएको छ।

त्यसपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए। अश्रुग्यास प्रहारपछि आक्रोशित भीडले बिआइसिसी गेट नं १ अगाडि ढुंगामुढा सुरु गर्नुका साथै प्रहरीको वाटर क्याननमा तोडफोड गरेको र केही प्रदर्शनकारी वाटर क्याननमाथि चढेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले सुरुवातमा शान्तिपूर्ण रहेको प्रदर्शन पछि हिंसात्मक बनेको भन्दै “टीओबी” चिन्ह भएका बाइकर समूहको प्रवेशपछि परिस्थिति बदलिएको निष्कर्ष निकालेको छ। उक्त समूहले जेन जी को प्रदर्शन कब्जामा लिई विद्यार्थीलाई ढाल बनाउँदै सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको, संसद् भवनतर्फ आक्रमण तथा आगजनीको प्रयास गरेको दाबी गरिएको छ।

त्यसैगरी एम्बुलेन्स, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीको सवारी साधनमा समेत तोडफोड तथा आगजनी भएको र कर्मचारीमाथि दुर्व्यवहार गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले “टीओबी” लेखिएका कालो टिसर्ट लगाएका तथा शरीरमा सोही चिन्हको ट्याटु खोपेका १५–२० जनाको बाइकर समूहको वास्तविक परिचय, आयोजकसँगको सम्बन्ध तथा उनीहरू कसैबाट परिचालित थिए वा थिएनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)