शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको कुशीनगरबाट नेपालीको उद्धार


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १७, २०८३
  • 91
    SHARES

भैरहवा-  भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशङ्कामा उद्धार गरिएका ४५३ नेपालीमाथि अनुसन्धान सुरु गरिएको छ । उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो ।

 

 

प्रहरीका अनुसार उद्धार गरिएकामध्ये वास्तविक पीडित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ । अनुसन्धानबाट पीडित पुष्टि भएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइने तथा नेटवर्क सञ्चालन वा ठगीमा संलग्न देखिएकामाथि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

भारतस्थित नेपाली दूतावासको समन्वय तथा भारतीय सुरक्षा निकायको सहयोगमा कुशीनगरस्थित एक नेटवर्किङ व्यवसाय सञ्चालन केन्द्रबाट नेपालीहरूको उद्धार गरिएको हो । उद्धार गरिएका व्यक्तिसँगै दूतावासका प्रतिनिधिसमेत रुपन्देही आएका छन् ।

भारतीय राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले नेटवर्किङ कारोबारका नाममा नेपाली शोषणमा परेको गुनासो प्राप्त भएपछि लामो समयसम्म अध्ययन र निगरानी गरी उद्धार अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले उद्धार कार्यमा उत्तर प्रदेश सरकार तथा भारतीय प्रहरीको महत्वपूर्ण सहयोग रहेको जानकारी दिनुभयो ।नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार करिब छ महिनासम्म सूचनाको अध्ययन तथा प्रमाण सङ्कलन गरेपछि उत्तर प्रदेश प्रहरी, कुशीनगर प्रहरी र लुम्बिनी प्रदेश प्रहरीसँग समन्वय गरी उद्धार अभियान सफल बनाइएको हो । उहाँले नेटवर्किङ व्यवसायका नाममा नेपाली युवकयुवतीलाई उच्च आम्दानीको प्रलोभन देखाएर भारत लैजाने, त्यसपछि थप सदस्य भित्र्याउन दबाब दिने र अपेक्षित नतिजा हासिल गर्न नसके मानसिक तनाव दिने गरिएको बताउनुभयो । अनुसन्धानका क्रममा पीडित र सञ्चालनकर्तामध्ये अधिकांश नेपाली नागरिक नै रहेको खुलेको छ ।

उद्धार अभियानमा सहयोग पुर्‍याएको ‘किन इन्डिया’ संस्थाका नवीन जोशीका अनुसार कुशीनगरमा नेपाली अत्यन्तै अस्वस्थ र भिडभाडयुक्त अवस्थामा बस्न बाध्य थिए । उहाँले एउटै कोठामा १५ देखि १६ जनासम्म राखिएको तथा गर्मी मौसममा समेत न्यूनतम सुविधा उपलब्ध नगराइएको बताउनुभयो ।

उहाँका अनुसार सुरुमा आकर्षक रोजगारी र उच्च आम्दानीको आश्वासन दिएर नेपालका विभिन्न जिल्लाबाट युवकयुवतीलाई कुशीनगर पुर्‍याइन्थ्यो । त्यहाँ पुगेपछि उनीहरूलाई विभिन्न तालिमका नाममा राखेर आफ्ना आफन्त तथा साथीभाइलाई समेत सदस्य बनाउन दबाब दिइन्थ्यो । उहाँका अनुसार  संस्थाबाट बाहिरिन खोज्ने वा व्यवस्थापकको निर्देशन अनुसार काम नगर्नेलाई मानसिक दबाब दिने गरिएको बताउनुभयो । यसअघि नेपालका विभिन्न जिल्लाका युवकयुवतीलाई जागिरको प्रलोभनमा भारत लगेर बन्धक बनाइएको तथा रकम असुली भइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका थिए ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार कुशीनगरमा लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका कम्तीमा एक हजार नेपाली युवकयुवती रहेको सूचना प्राप्त भएको थियो । उहाँले सोही आधारमा निगरानी बढाउँदै जाँदा उनीहरूलाई राखिएको स्थान पहिचान गरिएको र भारतीय प्रहरीको सहयोगमा उद्धार सम्भव भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)