भक्तपुर – सूर्य विनायक नगरपालिकाले नगरवासीलाई सहज र छरितो ढङ्गले सेवा उपलब्ध गराउने उद्देश्यसहित आजदेखि नगरपालिकामार्फत नै प्यान कार्ड जारी गर्ने सेवा औपचारिक रूपमा सुरु गरेको छ । सेवाको शुभारम्भसँगै पहिलो प्यान प्रमाणपत्र सम्बन्धित सेवाग्राहीलाई हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख वासुदेव थापाले पहिलो व्यावसायिक प्यान प्रमाणपत्र सेवाग्राहीलाई हस्तान्तरण गर्दै स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि नगरवासीलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे । उनले आन्तरिक राजस्व कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्नुका साथै सेवा प्रवाह थप प्रभावकारी र नागरिकमैत्री बन्ने बताए ।
आन्तरिक राजस्व विभागको निर्णयअनुसार आन्तरिक राजस्व कार्यालय भक्तपुर र सूर्य विनायक नगरपालिकाबिच भएको समझदारी कार्यान्वयनमा आएपछि नगरपालिकाबाटै प्यान दर्ता तथा अन्य करसम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार अब व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता नगरपालिकामार्फत नै गर्न सकिनेछ । साथै मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा कर चुक्तासम्बन्धी प्रारम्भिक कागजात समेत नगरपालिकामै पेस गर्न सकिने व्यवस्था मिलाइएको छ ।
नीति, योजना तथा अनुगमन एवं राजस्व शाखा प्रमुख पुष्पराज न्यौपानेका अनुसार व्यक्तिगत प्यान, व्यावसायिक प्यान, करदाता विवरण संशोधन, आयकर कारोबार बन्द, भ्याट दर्ताका लागि सिफारिस तथा कर चुक्तासम्बन्धी सिफारिस सेवा नगरपालिकाबाटै उपलब्ध गराइनेछ । साथै घर बहाल कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘घर बहाल स्व–घोषणा अभियान’ समेत सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार आवश्यक कागजात नगरपालिकामार्फत सङ्कलन गरी आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर प्रक्रिया पूरा भएपछि सम्बन्धित प्रमाणपत्र समेत नगरपालिकाबाटै उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
नगरपालिकाले करदाता–मैत्री सेवा विस्तार गर्दै स्थानीय तहबाटै राजस्वसम्बन्धी सेवा प्रदान गर्ने लक्ष्यका साथ यो व्यवस्था लागू गरेको जनाएको छ । यसबाट सेवाग्राहीको समय र लागत दुवै बचत हुनुका साथै सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
